प्रस, वीरगंज, २७ जेठ/

जिल्ला समन्वय समिति, पर्साको सभापतिमा नीरज (अजय) साह सोनार विजयी भएका छन् । एमाले–जसपा गठबन्धन मिलेर चुनाव लडेकोमा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोनार जसपाबाट सभापति पदका उम्मेदवार थिए ।

यसैगरी उपसभापतिमा गठबन्धनबाट एमालेका पुरन साह विजयी भएका छन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चारजना सदस्य विजयी भएका छन् । जसपाबाट विजय कुर्मीले १६ मत पाए भने रेखा साह (राजपति देवी), वयन्ती देवी र एमालेबाट सलीम मियाँ अन्सारी, सुशीला कामी, श्रीकान्तीदेवी थरूनी र रामप्रसाद यादवले १५/१५ मत पाएर विजयी भएका छन् ।

एमाले–जसपा गठबन्धन बनेपछि जिससमा एमालेको १० र जसपाको ५ गरी १५ मत थियो । यसैगरी नेका १२ र लोसपा १ गरी १३ मत थियो । नेका–लोसपा गठबन्धनबाट मनोज रौनियारले मात्र १२ मत पाए भने सभापतिमा सरोज चौरसिया, उपसभापतिमा कुमारी सोनी र सदस्यहरूमा सन्दीप साह, महमुद राय, वसन्ती थरूनी, सीतादेवी थरूनी, भगवतीदेवी धिताल नेकाका उम्मेदवार र लोसपाका प्रेम मुखिया बिनले १३/१३ मत पाए ।

हालै सम्पन्न स्थानीय तहको चुनाउमा वीरगंज महानगरलगायत पालिकाहरूमा सत्तारूढ पाँच दलीय गठबन्धन देखिएको थियो भने कार्यपालिका सदस्य निर्वाचनमा पूर्व गठबन्धनविपरीत स्वार्थ अनुकूल गठबन्धन गरिएको थियो । जिसस निर्वाचनमा पनि स्वार्थ अनुकूल तालमेल देखियो ।

नवनिर्वाचित जिसस सभापति, उपसभापति र सदस्यहरूलाई एमालेका जयप्रकाश थारू, राजकुमार गुप्ता, जसपाका सांसद प्रदीप यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, नगरप्रमुख राजेशमान सिंहलगायतले बधाई दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here