• सञ्जय साह मित्र

काठमाडौंमा बालेन साहले जीत हासिल गर्नुभन्दा पहिले नै चुनाव प्रचारको बेला धेरै युवाले आफूर्ले नै जितिरहेको जस्तो प्रस्तुत गरेका थिए । यद्यपि पुराना राजनीतिकर्मीहरूलाई बालेन साह चुनाव जित्छन् भन्ने कुरामा विश्वास थिएन । र अहिले पनि कतिले यो विश्लेषण गरिरहेका छन् कि यदि बालेन चुनावमा नउठेका भए नेकपा एमालेले चुनाव जित्थ्यो । आधारको रूपमा उपप्रमुखलाई प्रस्तुत गरिरहेका छन् । तर्कलाई आधारहीन मान्न सकिन्न ।

सबै राजनीतिक दलले आआफ्नो बाँसुरी बजाउँदा पनि दिग्गजहरूबीच बालेनको स्वर किन बढी सुरिलो लाग्न पुग्यो महानगरका महानागरिकहरूलाई ? यस विषयमा पनि धेरै किसिमले विश्लेषण हुन थालेको छ । बालेनले यसै व्यवस्थामा पनि परिवर्तन सम्भव छ भनेर देखाएका छन्, बालेनको जीतले लोकतन्त्रलाई बलियो बनाएको छ, दलहरूप्रति वितृष्णा होइन तर दलहरूको उम्मेदवार छान्ने निर्णय प्रक्रियाप्रति काठमाडौंले असहमति जनाएको हो, बालेनमार्फत देशमा युवाहरूको काँधमा जिम्मेवारी आवश्यक छ भन्ने कुराको सङ्केत हो आदि आदि । बालेनको जीतले देश र विदेशमा एउटा तरङ्ग अवश्य ल्याइदिएको छ । यस तरङ्गले नेपालको राजनीतिमा नबुझिने, एकदमै सानो तरङ्ग अवश्य ल्याएको छ तर राजनीतिप्रति सचेत युवावर्गमा एउटा सकारात्मक ऊर्जा के दिएको छ भने अबको दिनमा राजनीतिलाई टाढैबाट नराम्रो वा फोहोरी खेल भनेर सराप्ने होइन अपितु भित्र पसेर कसरी सुधार गर्न सकिन्छ भन्ने दायित्वबोध गर्नुपरेको छ ।

अब सम्भवतः देशको अन्य कुनामा तथा राजधानी काठमाडौंमा पनि युवाहरूलाई विश्वास हुन थालेको छ कि हामीले चाहेमा परिवर्तन सम्भव छ । अरूले अह्राएको र खटाएको राजनैतिक परिवर्तनमा युवाहरूले निकै मिहिनेत, सङ्घर्ष, बलिदान दिएर देशमा बारम्बार राजनैतिक परिवर्तन भएको छ । राजनैतिक परिवर्तन हुँदा सबैभन्दा बढी खुशी हुने वर्ग पनि यही हो तर प्रतिफल आउँदा युवावर्गको भागमा हात लागी शून्य हुन्छ । परिवर्तनको मुख्य भूमिका खेल्ने युवावर्गले केही नपाउने त होइन, कुनै राजनैतिक दलको युवा सङ्गठनमा कुनै पद त पाइन्छ तर त्यहाँ रहेर किन केही गर्न पाइँदैन भने ती पदहरू केवल आन्दोलनका लागि मात्र हुन् । कहीं कतै कुनै जिम्मेवारी छैन र सर्वसाधारण नागरिकले देख्ने तथा बुझ्नेगरी कुनै भूमिकामा यस्ता युवाहरू आएको देखिन्न । यसकारण युवाले साधन भएर मात्र काम गरिरहेको अवस्थामा अब युवा आफैं नेतृत्व गर्न सक्षम छन् भन्ने देखाउने एउटा धरहरा भएर बालेन उभिएका छन् । अरू कुनै उदाहरण आवश्यक पर्दैन, देखाउनका लागि ।

बालेनमाथि कसरी सकारात्मक नजरले सबै युवाले विश्वासका साथ हेरेका छन् भने निर्वाचित भएपछि उनी सहयोग पाउन तथा सहानुभूति प्राप्त गर्न तथा सल्लाह सुझाव पाइरहन नेपाली सेनाका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य राजनीतिकर्मीलाई भेटेका छन् । सबैबाट शुभकामना वा आशीर्वाद त प्राप्त गरेका छन्, साथै एउटा संस्कार पनि बसाल्न खोजेका छन् कि ठूला–बडाको सम्मानले आफ्नो सम्मान कम हुने होइन । आफ्नो सम्मानमा पनि वृद्धि नै हुन्छ । यसरी आशीर्वाद वा शुभकामना प्राप्तिका लागि विभिन्न विशिष्ट महानुभावकहाँ जाँदा कतिपयले बालेनको आलोचना पनि गरेका होइनन् तर आलोचनामाथि देशभरका युवाहरूले दिएको प्रतिक्रियाले अब देशमा युवाहरू संयमितरूपमा आफूमा रहेको क्षमतालाई राजनैतिक क्षेत्रमा प्रयोगका लागि तयार छन् भनेर बुझ्न पर्याप्त सङ्केत गरेको देखिन्छ ।

अब त कस्तो पनि गाईंगुईं सुनिन थालेको छ भने देशको राजधानी काठमाडौंको सबै संसदीय निर्वाचन क्षेत्र तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा बालेनले जस्तै कुनै राजनैतिक दलका सदस्य नभएका उम्मेदवारहरू अघोषितरूपमा सङ्कठित भएर मनोनयन दर्ता गरी चुनाव लड्ने रे १ बालेनलाई यस कुराको जानकारी छ वा छैन अथवा उनलाई साथ दिने अभियानकर्ताहरूले नै आगामी मङ्सिरमा हुने सङ्घीय संसद् तथा प्रादेशिक संसद्को चुनावमा युवाहरूले उम्मेदवारी दिनेछन् । युवाहरूले कसैलाई हराउनको लागि नभई युवाहरूलाई जिताउनका लागि उम्मेदवारी दिने तयारी गरिरहेका छन् रे १ दलहरूले सरकार चलाउँदा तथा संसद् चलाउँदा देशको लागि, युवाको लागि गरेका कामहरूबाट असन्तुष्ट भएर यस व्यवस्थामा रहेर नै, सबै ऐन–कानून मानेर तथा दलका उम्मेदवारसित प्रतिस्पर्धा गरेर नै, एकातिर आफ्नो विद्रोहात्मक प्रवृत्तिको प्रदर्शन गर्ने र अर्कोतिर राजनीतिको सिन्डिकेट तोड्ने उपायमा लागेका छन् । भनिन्छ जहाँ इच्छा, त्यहाँ उपाय । अहिले काठमाडFैंका युवाहरूले सबैभन्दा कठिन र देशमा सबैभन्दा धेरै मतदाता भएको पदमा सजिलो जित दर्ता गराएका छन् भने अब यति धेरै मतदाता भएको त कुनै निर्वाचन क्षेत्र नै छैन भने अब आफ्नो पहिचान स्थापित गराउन त्यति ठूलो सङ्घर्ष गर्नुपर्ला जस्तो लाग्दैन । काठमाडौंको यस परिवर्तनको असर देशको अन्य कुनामा पनि पर्न सक्ने सम्भावना देखिन थालेको छ ।

बालेन साहले काठमाडौंमा चुनाव जितेको कुरालाई एउटा आदर्श मानेर देशको अन्य भागका युवाहरूले पनि संसदीय तथा प्रादेशिक राजनीतिमा आफूलाई कुनै पार्टीभन्दा पनि स्वतन्त्र माध्यमबाट चुनावमा उठ्न चाहेका छन् वा युवा जमातले आफ्नो प्रतिनिधिलाई चुनावमा उठाउन चाहेको देखिन्छ । यस किसिमको तयारी काठमाडौंमा मात्र नभएर मधेस प्रदेशमा पनि भित्रभित्रै भइरहेको बुझिएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि धेरै ठाउँमा युवाहरूले स्वतन्त्र उम्मेदवार बन्न खुला कार्यक्रमको आयोजन नै गरेको देखिएको थियो । रेडियो एफएममा विज्ञापन दिएर, डिजे बाजाको साथमा प्रचार गरेर र सामाजिक सञ्जालमा समेत जानकारी दिएर फलानो ठाउँमा फलानो मितिमा यति बजे पालिकाका सबै युवाहरूलाई भेला हुन सूचित गरिन्छ जहाँ पालिकाको लागि स्वतन्त्र युवा उम्मेदवारको चयन गरिन्छ । युवाहरूले सामूहिकरूपमा जसलाई उम्मेदवार छान्दछन्, तिनैलाई स्वतन्त्र उम्मेदवार बनाउने विज्ञापन गरिएको, कार्यक्रम गरिएको तथा यसै गरी उम्मेदवार चयन गरी निर्वाचनमा सहभागी भएको देखिएको थियो तर काठमाडौंमा जस्तो चर्चा मधेस प्रदेशमा खासै कुनै स्वतन्त्र उम्मेदवारले पाएको देखिएन । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेको भए पनि परिपक्व पुराना राजनैतिक व्यक्तित्व हुन् र गठबन्धनले टिकट नदिएपछि तथा पार्टीका कार्यकर्ता र नगरवासीको आग्रहमा चुनाव लडेकाले विजयी बनेका हुन् । काठमाडौंको स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्नु र जनकपुरको स्वतन्त्रले विजय हासिल गर्नुमा धेरै भिन्नता छ । काठमाडौंको प्रवृत्ति व्यवस्थित प्रयास हो ।

युवाहरूले देशमा कुनै अवसर छैन, राजनीतिमा युवाहरूलाई लगभग निषेधको अवस्था छ, युवालाई कसैले साथ दिंदैन भन्नेजस्ता रुन्चे मनोभाव त्याग गरेमा आफ्नै अगाडि अवसरका धेरै बाटा खोल्न सक्ने रहेछन् । युवा निर्देशित राजनीतिको अभिनयकर्ता बनेर आफ्नो दक्षता र क्षमता कुण्ठित बनाउनुभन्दा आफूमाथि विश्वास गरेर अगाडि बढेमा सबै युवाले साथ दिनेछन्, युवाहरूले साथ दिने अवस्था सिर्जना हुन सक्छ, जसबाट परिवर्तन सम्भव छ र आफूले चाहेजस्तो परिवर्तन गर्न सकिन्छ । आफ्नो चाहनाको समाज निर्माण गर्न सकिन्छ । समाज निर्माणमा आफ्नो भूमिकाको खोजी गर्न अरूको भर परिरहनु नपर्ने अवस्था नै निर्माण गर्न सकिन्छ भन्ने कुरो अब युवाहरूले सुझबुझका साथ बुझ्न थालेका छन् । युवाहरूको यही सुझबुझका साथ सार्थक प्रयासको व्यावहारिक प्रयोगले सफलता पाउँदा राजनैतिक दलहरूले पनि नयाँ किसिमले सोच्न थालेको देखिएको छ । स्थानीय चुनावभन्दा पहिलेको र पछिको बोलीमा केही आधारभूत भिन्नता देखिन थालेको छ । पार्टीमा लामो योगदान दिएका र धेरै वर्षदेखि उम्मेदवार बन्न राजनीति गरिरहेका बूढापुरानाहरूलाई चुनावमा टिकट दिनुभन्दा सम्मान गरेर राष्ट्रियसभामा पठाउने वा प्रतिनिधिसभा तथा प्रदेशसभामा नै समानुपातिक कोटाबाट सम्मान गरी पठाउने उपाय गर्नु राम्रो हुने विचार गरिरहेको सुनिन थालेको छ । साथमा आफ्नै पार्टीको चर्चित युवालाई चुनावमा पठाउँदा धेरै फाइदा हुने विचार पनि गरिन थालेको छ भने चुनावको समयसम्म आफूलाई आगामी निर्वाचनमा उम्मेदवार भनिरहेका कतिपय पुराना राजनीतिकर्मीले विचार गर्नुपर्ने वा अहिले पनि आफू उम्मेदवार रहेको तर पार्टीको निर्णय सर्वोपरि हुने भन्न थालेका छन् । यो भनेको आफूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरो पार्टीको हो भनी पुराना नेताहरू साउती गर्न थालेका छन् । र यो पनि बताउन थालेका छन् – चुनाव आफ्नो भरमा जित्ने हो, पार्टीले सहयोग गर्ने हो ।

आफ्नो भरमा त युवाहरूले मात्र चुनाव जित्न सक्छन् । राजनैतिक दलले चुनाव जिताइदिने होइन । जब आफ्नो भरमा चुनाव जितिन्छ भने युवाहरू नै किन चुनावमा नजाने ? युवाहरूको भरमा चुनाव जित्ने पुराना राजनीतिज्ञलाई सम्मान पनि गर्नुपर्छ तर चुनावमा त युवाहरू नै आउनुपर्छ भन्ने धारणा अब गाउँ समाजमा पनि आउन थालेको छ । बजारभन्दा धेरै टाढा रहेको गाउँमा पनि अब युवाहरू नै इमानदारीका साथ राजनीतिको बागडोर सम्हाल्नुपर्ने तर्क सुनिन थालेको छ । यदि युवाहरूले आफूमाथि विश्वास गरे भने तथा आफूलाई जनताबीच सक्षम साबित गर्न सके युवाको काँधमा जिम्मेवारी आउन थालेको सङ्केत बुझ्नुपर्छ । युवाहरू मानसिक र भौतिकरूपमा तयार भए भने अब परिवर्तन सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here