प्रस, वीरगंज, २४ जेठ/

वीरगंज महानगरपालिकाले सडक, फूटपाथमा व्यवसाय गर्नेहरूलाई हटाएको छ । लामो समयदेखि सडक, फूटपाथमा व्यवसाय गर्दै आएकालाई नगर प्रहरीले यता केही दिनदेखि हटाएर सडक, फूटपाथ खाली गराएको हो ।

व्यवसायीहरूले फूटपाथ मिचेर कारोबार बढाएको र सडकमा जथाभावी ठेलागाडा राखेर व्यवसाय गर्दै आएकाहरूलाई महानगरले हटाउन शुरू गरेको हो ।

अहिले घण्टाघरदेखि अलखियामठसम्मको क्षेत्रको फूटपाथ अतिक्रमण गर्नेहरूको सामान नगर प्रहरीले हटाएको छ । जसले गर्दा फूटपाथ अहिले खाली भएको छ र बटुवाहरूलाई हिंड्न सहज भएको छ ।

नेपाल टेलिकम वीरगंज कार्यालयको पूर्वपट्टिबाट माईस्थान–गहवामाई मन्दिर सडकखण्डमा पनि जथाभावी पसल गर्नेहरूलाई तह लगाएपछि अहिले सो क्षेत्र पनि फराकिलो भएको छ ।

नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि सडक फूटपाथ खाली गराउनेदेखि सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । अहिले वीरगंज महानगरको मेनरोडको सफाइ हेर्नलायक भएको छ । बिहान, दिउँसो र बेलुका तीन चरणमा महानगरको मेनरोडलगायत सहायक रोडहरूमा तोकिएको ठाउँबाट फोहर सङ्कलन हुँदै आएको छ । वीरगंज महानगर र एनके इन्टरनेशनलबीच साझेदारीमा सरसफाइ हुँदै आएको छ ।

अहिले मानिसहरूले तोकिएको ठाउँमा फोहर थुपार्ने र सफाइकर्मीहरूले सङ्कलन गर्दै आएका छन् । यस अघि शहरको यत्रतत्र मानिसले फोहर थुपार्ने र सफाइकर्मीहरूलाई फोहर उठाउन पनि अप्ठेरो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here