प्रस, परवानीपुर, २२ जेठ/
बङ्गुर पालनामा दानाको महँगीबाट पिरोलिएका किसानहरू पछिल्लो समय भटाभट बङ्गुरका बच्चा मर्न थालेपछि थप मर्कामा परेका छन् । गत पुसदेखि हालसम्म अज्ञात रोगका कारण दर्जनांै बङ्गुरका बच्चा मर्न थालेको बाराकी अगुवा बङ्गुरपालक किसान सुगान्धी पासवानले जानकारी गराइन् । उनका अनुसार पछिल्लो पाँच महीनामा निजकै बङ्गुर फार्ममा करीब ५० वटा बच्चा मरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १० नितनपुरमा सञ्चालनमा रहेको साहिल बङ्गुर फार्ममा यस्तो क्षति भएको उनले बताइन् । हाल फार्ममा ३० वटा पोथी र सातवटा भाले गरी करीब ३७ वटा बङ्गुर रहेको बताउँदै बाराको विभिन्न ठाउँका किसानको पनि बङ्गुरको बच्चा मरेको उनले बताइन् । “वास्तविक कारण र रोग पत्ता लाग्न सकेको छैन, तर गत वर्षभन्दा यस वर्ष धेरै क्षति बेहोरेका छौं,” उनले भनिन, “माउ बच्चाको जीउमा घाउ खटिरा आउने, झाडापखाला लाग्ने, कमजोरी हुने जस्ता लक्षण देखिन्छन्, अनि दुई/चारमा मर्छन्, हामीले मधेस प्रदेशको पशु चिकित्सालयको प्रयोगशाला जनकपुरमा पनि जानकारी गराएका छौं, तर रोग पत्ता लाग्न सकेको छैन ।” जीतपुरसिमरा उमनपा वडा नं २२ अमलेखगंजमा पनि बङ्गुर पालेका करीब आधा दर्जन किसानको बङ्गुरको बच्चा मरेको बुद्धिमाया गुरुङ बङ्गुर फार्मकी सञ्चालिका बुद्धिमाया लामाले जानकारी गराइन् । उनले विगतमा गर्मीको समयमा बच्चा नमर्ने गरेकोमा गएको चैत, वैशाख र अहिले जेठमा सबै किसानका बङ्गुरको बच्चा मरिरहेको बताइन् । “मेरो फार्ममा तीनवटा बच्चा, शान्ति स्याङतानको तीनवटा गरी अमलेखगंजमैं मात्रै करीब २० भन्दा बढी बच्चा मरेको छ,” उनले भनिन्, “एकातिर बङ्गुरको दाम छैन, अर्काेतर्फ दानाको मूल्य बढेको छ तथा अज्ञात रोगले भटाभट बच्चा मर्न थालेपछि आफूहरूको लगानी जोखिममा परेको
छ ।”
करीब सयभन्दा बढी बङ्गुर फार्म सञ्चालनमा रहेको बाराको अवस्थाबारेमा रोग पत्ता लगाउन पशु चिकित्सालय प्रयोगशाला जनकपुरले एक महीनाअघि करीब १२ वटा मरेको बच्चाको नमूना सङ्कलन गरी जनकपुर र काठमाडौंको प्रयोगशालामा पठाएको थियो तर कुनै उपलब्धि हासिल नभएको जनाइएको छ । मधेस प्रदेश सरकार मातहतको पशु चिकित्सालय जनकपुरका पशु चिकित्सक डा मनोज नायकले आफूहरूले गरेको परीक्षणबाट रोगको पहिचान गर्न नसकिएको बताए । “हामीले बङ्गुरमा लाग्ने झाडापखालासम्बन्धी परीक्षण (स्वाइन डिसेन्ट्री)को परीक्षण गरेको थियौं, तर नतीजा नेगेटिभ आएको छ, कुन रोग लागेको हो, पत्ता लाग्न सकेको छैन,” उनले भने ।
दानाको मूल्य ५० प्रतिशतले बढ्यो
बङ्गुरपालक कृषकहरूले पछिल्लो समय महँगी बढेको कारण देखाउँदै दाना उत्पादन गर्ने उद्योगले ५० प्रतिशतले दानाको मूल्य वृद्धि गरेको बताएका छन् । किसानका अनुसार ४० किलोको चोकरको बोरा पहिले रु एक हजार २०० मा पाइन्थ्यो भने अहिले एक हजार ८०० मा पाइन्छ, त्यस्तै, कोराई (ब्रान्ड) ४० किलोको बोरा पहिले एक हजार ८०० मा पाइन्थ्यो भने अहिले त्यसको मूल्य अढाई हजार पुगेको छ ।
बङ्गुरको बिक्रीबाट फाइदा छैन
बङ्गुरपालक किसानले बङ्गुर पालेर बिक्री गर्दा मुनाफा नहुने गरेको बताएका छन् । एउटा बङ्गुरको बच्चा नौ महीना पालेपछि डेढदेखि दुई क्विन्टलसम्म हुन्छ । तर मासु व्यवसायीहरूले आफूले बिक्री गर्ने मूल्यभन्दा ५० प्रतिशत कममा बङ्गुर किन्ने गरेको किसानको गुनासो छ । अहिले बजारमा प्रतिकिलो रु चार सयको दरमा बङ्गुरको मासु बिक्री हुन्छ, तर किसानसँग रु दुई सय प्रतिकिलोको दरमा व्यवसायीहरूले बङ्गुर किन्ने गरेका छन् । यस विषयमा सरकारी निकाय मौन छ । “तयार भइसकेको बङ्गुर समयमा बेचिएन भने घाटा लाग्छ भन्ने मनसायले किसानले घाटा खाएर बेच्नुपर्छ,” नितजपुरकी अगुवा बङ्गुरपालक किसान सुगान्धीले दुःखेसो पोखिन् ।