चटगावँ, २२ जेठ/एएफपी
बङ्गलादेशको दक्षिणपूर्वी शहर चटगावँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिवार भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।
चटगावँको प्रमुख दक्षिणी बन्दरगाहभन्दा करीब ४० किलोमिटर टाढा सीताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिवार राति करीब ९ः३० बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।
चटगावँ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिवार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्निनियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताएका छन् । आगो अझै पूर्णरूपमा नियन्त्रणमा नआएकोले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन शहरयारले एएफपीलाई बताएका छन् ।
आगलागी भएको करीब एक घण्टापछि सयौं मानिसले आगो निभाउने प्रयास गरिरहँदा केमिकल राखेको धेरै कन्टेनर विस्फोट भएको बताइएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले आइतवार बिहानसम्म उद्धार काम जारी रहेको जानकारी दिएका छन् ।
यहाँका दर्जनौं अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौं अग्नि नियन्त्रकसहित घाइते भएका थिए ।
चटगावँको एउटा स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा कैयौं मानिस अस्पताल भर्ना भएका र तिनको अवस्था गम्भीर रहेको बताएका छन् । रासस