वाशिङ्टन, २१ जेठ/एएफपी
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रवार बताए अनुसार अमेरिकामा २१ जनासहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ ।
सिडिसीको एउटा नयाँ रिपोर्ट अनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सबै बिरामी निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि सङ्क्रमितमा जटिल स्वास्थ्य समस्या देखिएको छैन ।
सिडिसीको ‘डिभिजन अफ हाई कन्सिक्वेन्स प्याथोजेन एन्ड प्याथोलोजी’का उपनिर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भनिन्, “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन्, जसबारे हामीलाई पूर्ण जानकारी छ ।”
संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा तिनीहरू कसरी सङ्क्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताइन् ।
मङ्कीपक्स एक दुर्लभ रोग हो । यो दादुरासँग सम्बन्धित तर त्यसभन्दा कम गम्भीर रोग हो । यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन् ।
साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग मेदेखि युरोपमा पनि भेटिएको थियो । त्यस बेलादेखि प्रभावित देशहरूको सङ्ख्या बढिरहेको छ ।
क्यानडाले शुक्रवार पनि नयाँ तथ्याङ्क जारी गर्दै कुल ७७ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ ।
तीमध्ये प्रायः सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन् र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् ।
यसको नयाँ फैलावट युरोपमा विशेष समलैङ्गिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मङ्कीपक्सलाई यौनजन्य रोग मानिएको छैन । यसको मुख्य जोखिम भनेको मङ्कीपक्स भएको व्यक्तिसँग छालादेखि छालाको नजीकको सम्पर्क हुनु हो । सबै घाउ सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा सङ्क्रमण हुने सम्भावना रहन्छ । रासस