प्रमोद यादव, पचगावाँ, १४ जेठ/
पर्सा जिल्लाको दुई स्थान र बारा जिल्लाको एक स्थानमा गरी शनिवार १९३ जनाले रक्तदान गरेका छन् ।
पर्साको सखुवापरसौनी गाउँपालिका–२ पचगावाँ चोकमा आयोजित खुला रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए । पचगावाँ समाजसेवी युवा समूहका अध्यक्ष सिकेन्द्र साह कानूको अध्यक्षतामा भएको कार्यक्रमको गापा अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले रक्तदानलगायत स्वास्थ्य सेवामा गापाको भूमिका प्रभावकारी रहने बताए । उनले आफूले स्वास्थ्य सेवालाई महŒवका साथ हेर्ने प्रतिबद्धता जाहेर गरे ।
यसैगरी वीरगंज महानगरपालिका–१६ मा टीमस्पेशल–२६ परोपकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले बताए । संस्थाका अध्यक्ष सुमन दत्तको अध्यक्षतामा भएको कार्यक्रमको वडाध्यक्ष परशुराम चौरसियाले उद्घाटन गरेका थिए । कार्यक्रममा रितिक श्रीवास्तव, साधना कर्ण, सावनकुमार, सुमनकुमार दत्त, प्रजयकुमार अग्रवाल, आयुष सिंह, नवीनकुमार बैठा, विक्की गुप्ता, नेहाल एकबाल, प्रवीण कर्ण, रामबाबू महतो, सुजित गुप्ता, हरेन्द्र बरइ, रवि सर्राफ, राजन चौरसिया, अरुण गुप्तालगायतले रक्तदान गरेको कार्यक्रम संयोजक श्याम शाहले बताए ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित हातेमालो सहकारी संस्थाले स्थापना दिवसमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित १०७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए । कार्यक्रम यज्ञप्रसाद आलेको अध्यक्षतामा भएको थियो ।