प्रस, वीरगंज, १३ जेठ/
नवनिर्वाचित वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले बिहीवार राति पदभार ग्रहण गरेपछि शुक्रवार बिहानै वीरगंजका केही क्षेत्रको निरीक्षण गरेका छन् ।
वीरगंज मेनरोड आदर्शनगर, माईस्थानलगायत क्षेत्रमा सरसफाइ, शङ्कराचार्यद्वारको सौन्दर्यीकरण अवस्थालगायतको निरीक्ष्Fण गरेका हुन् । नवनिर्वाचित नगरप्रमुख सिंहले सरसफाइसम्बन्धी कार्यमा तदारुकता देखाउन सम्बन्धित ठेकेदारलाई निर्देशन दिएका छन् । उनले महानगरको सफाइमा ढिलासुस्ती सहन नसक्ने बताए । उनले महानगरका कर्मचारी र ठेकेदारका कर्मचारीहरूलाई सरसफाइ कार्यमा गम्भीर हुन निर्देशन दिए ।
नगरप्रमुखमा सिंह निर्वाचित हुने पक्कापक्की भएपछि वीरगंज महानगरको फोहर उठाउने काममा तीव्रता आएको थियो । स्वयं नगरप्रमुख सिंहले शपथग्रहणमा आफू निर्वाचित भएलगत्तै घरनजीक सरसफाइ तीव्र भएको र सरसफाइकर्मी पनि खटेको बताए । उनले नगरप्रमुखको घर क्षेत्र सरसफाइ गरेर वीरगंजको सरसफाइ नहुने भन्दै आम मानिसको घर अगाडि पनि सफाइ गर्न निर्देशन दिएका थिए । अहिले वीरगंजमा रात्रिकालीन सफाइ पनि शुरू भएको छ । राति ११ बजेसम्म बजार क्षेत्र र मेनरोडका फोहरहरू सङ्कलन तीव्र गतिले भइरहेको छ जसले गर्दा वीरगंजमा अहिले पहिलेजस्तो फोहरहरू यत्रतत्र देख्न पाइँदैन ।
नगरप्रमुख सिंहले अनुगमनको क्रममा रजतजयन्ती चोकस्थित महानगरको सवारी कर डिपो हटाएका छन् । सडक विभागको क्षेत्रमा महानगरपालिकाले सवारी कर डिपो राखेर कर सङ्कलन गर्न नमिल्ने भन्दै उनले डिपो हटाउनुको साथै त्यहाँका बिलहरू नियन्त्रणमा लिएका थिए । रजतजयन्तीलगायत महानगरको श्रीसिया सुक्खा बन्दरगाह, परवानीपुरलगायत क्षेत्रमा महानगरको सडक नभए पनि ठेकेदारले अनधिकृत सवारी कर असुली गर्दै आएको छ । यस अघि यस सम्बन्धमा थुप्रै उजूरीहरू परे पनि महानगर मौन थियो ।
यसैगरी नगरप्रमुख सिंहले चौबीस घण्टाभित्र वीरगंजमा परिवर्तनको अनुभूति गराउने घोषणा गरे अनुरूप घण्टाघर, माईस्थान सडकको मरम्मत शुरू गराएका छन् । पछिल्लो समय यो सडकखण्ड लामो समयदेखि बिग्रेको कारण नगरवासीले निकै आलोचना गरेका थिए ।
निवर्तमान नगरप्रमुख विजय सरावगीले घण्टाघर, पावरहाउस फोर लेन सडक बनाउँदा सडक विभागले आफ्नो क्षेत्रमा सडक बनाएको दाबी गरेको र महालेखा परीक्षकले उक्त रकम बेरूजु गरेको भन्दै घण्टाघर, माईस्थान सडकखण्ड सडक विभाग अन्तर्गत परेको भनेर मरम्मत गर्न नसकिएको बाध्यता जाहेर गरेका थिए तर नवनिर्वाचित नगरप्रमुख सिंहले सबैभन्दा पहिले यही बाट मरम्मत काम शुरू गरेका छन् । उनी निर्वाचित भएलगत्तै सो ठाउँमा खानेपानीले फुटेको पाइप मरम्मत गरेको थियो भने सिंहले सडक मरम्मतको लागि एक्साभेटर डोजर लगाएर काम शुरू गराएका छन् ।