- राजेश मिश्र
वाराणसीको यात्रा जारी थियो । अयोध्याधामदेखि भदरसा, बिकापुर, खाजुराहत, चौरे बजार, कुरेभर, खानपुर, सुल्तानपुर, लम्भुआ, बदलापुर हुँदै झन्डै एक सय पचास किमि टाढा उत्तर प्रदेशको प्रसिद्ध शहर जौनपुर पुगियो । दिउँसोको तीन बजिसकेको थियो । खाजाको आवश्यकता महसूस हुन थालेपछि जौनपुर शहरभन्दा करीब पाँच सय मिटर पर खुला स्थानमा रहेको एक होटलमा रुक्न बाध्य भइयो । सूर्यको तापले पश्चिमाभिमुख होटलको तापमान असह्य थियो । यद्यपि खाजा नखाइ नहुने अवस्था थियो । यता म होटल सञ्चालकसँग खाजाको सम्बन्धमा सोधपुछ गर्न थालें । उता विकाश दाई होटलको पछाडि अवस्थित शौचगृहकोे सुइँको पाउनेबित्तिकै उतै हानिए । धेरैबेरसम्म विकाश दाई नआएपछि कता हराए भन्दै म होटलको पछाडि जाँदा दङ्ग परें ।
किनभने विकाश दाई ‘खटिया’ (बाँस र डोरीले निर्मित खाट) मा बसेर पूर्वी बयारको लुत्फ उठाइरहेका थिए । ‘खाजा खाने होइन ?’ भन्ने मेरो प्रश्नमा ठहाका लगाउँदै उनको उत्तर थियो– “खाजा भन्दा त खटिया र हावाको आनन्द रमाइलो छ ।”
शायद होटल सञ्चालकलाई हाम्रो मनोभाव थाहा भइसकेको थियो । त्यस कारण हाँस्दै भने–“नाश्ता वहाँ पर भी कर सकते हैं सर, कोइ दिक्कत नहीं है” र हामी नजीक आइपुगे । हावादार र खुला ठाउँमा नाश्ता गरेपछि झन्डै साठी किमि टाढा वाराणसीको यात्रा पुनः जारी
भयो । ४० किमिको यात्रापछि वाराणसीको लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाइ अड्डा नजीक पुगियो । त्यहाँ जाममा हामी फँसे पनि व्याकुल भएनौं किनभने वीरगंज–रक्सौल सडक खण्डको जामको सास्ती हामीले पहिलेदेखि भोग्दै आएका थियौं । दिउँसो ५ बजे जाममा फँसेको हामीलाई २० किमि टाढा वाराणसी पुग्न दुई घण्टाभन्दा बढी समय लाग्यो । अन्ततोगत्वा साँझ करीब साढे सात बजे हामी वराणसीको प्रमुख क्षेत्र गोदौलिया अर्थात् काशी विश्वनाथ मन्दिर क्षेत्रमा प्रवेश ग¥यौं ।
वाराणसी
रात्रि विश्रामका लागि होटलको प्रबन्ध गर्नु पहिलो आवश्यकता थियो । गाडीबाट झर्नेबित्तिकै विकाश दाईको पाइला पान पसलतिर लम्किन थालेपछि उनी प्रायः चर्चा गरिरहने ‘बनारसी पान’ को कथा मलाई स्मरण भयो । चार/पाँच वटा होटल चहारेपछि बल्ल आफू अनुकूल होटल पाइयो । गाडी पार्किङ गरिसकेपछि झोला–झम्टासहित होटलको कोठामा प्रवेश गरियो । अयोध्याबाट हिंडेदेखि फोन गरेर पलपलको खबर लिइरहेको मेरो छोरो प्रवीण मिश्रलाई ठेगाना अवगत गराएपछि ऊ तुरुन्तै होटल आइपुग्यो । पिता–पुत्रको मिलनको कथा जति वर्णन गरे पनि कम हुन्छ । वातावरण अत्यन्तै उल्लासपूर्ण थियो । फ्रेश भइसकेपछि हामी घुम्न निस्कियौं । बत्तीको प्रकाशमा भीडभाड पन्छाउँदै मानिसहरू डुलिरहेको गोदौलियाको दृश्य हेर्न लायक थियो । वाराणसीको अद्भूत परिदृश्य माझ सवारी साधनको धूवाँ र हर्नको आवाज सहि नसक्नु थियो ।
राति करीब दश बजे खाना खाइयो । होटलदेखि गोदौलिया चोकसम्म लगभग एक घण्टा यताउति डुलियो । त्यति बेला सवारी र मानिसकको चाप उति थिएन । त्यस कारण वातावरण साँझको तुलनामा अहिले बढी आकर्षक लागिरहेको थियो । दिनभरिको थकाइ र भोजनको असरले शारीरिक सुस्ती बढ्न थाल्योे । रात्रि विश्रामका लागि यता हामी होटलमा छि¥यौं र उता छोरा प्रवीण होस्टलतिर लाग्यो । ओछ्यानमा पल्टिएसँगै कतिखेर निदायौं, थाहै भएन ।
गङ्गा स्नान
आँखा खुल्दा बिहान छ बजिसकेको थियो । शौचादिबाट निवृत्त भइसकेपछि गङ्गास्नानका लागि हामी दशाश्वमेघ घाट तर्फ लाग्यौं । लत्ताकपडासहित होटलदेखि करीब दुई किमि टाढा हिंडेर दशाश्वमेघ घाट पुग्न लगभग आधा घण्टा समय लाग्यो । भक्तजन वारि करीब सत्तरी प्रतिशत तथा पारी तीस स्नान गरिरहेका थिए । पारिपट्टी खुला र कम भीड भएकोले हामीलाई पनि पारि पुगेर स्नान गर्ने रहर जाग्योे ।
वाराणसीको विविध आकर्षणहरू मध्ये गङ्गामा डुङ्गाको सवारी पनि एक हो । वाराणसीको गङ्गाघाटमा काठको सामान्य डुङ्गादेखि साना–ठूला स्टीमर असङ्ख्य छन् । करीब बीसजना सवार डुङ्गामा हामी पनि विराजमान भयौं । ओहोरदोहोर गरी प्रतिव्यक्ति भारु तीस तोकिएको भए पनि पचास रुपियाँ किराया बताइयो । बिस्तारै डुङ्गा अघि बढ्न थाल्यो । विभिन्न स्थान तथा भाषाभाषीहरू एकसाथ डुङ्गामा रमाइलो गर्दै पारि पुग्यौं । स्नान गर्ने तर्खर गरिरहेकै बेला झन्डै दश/एघार वर्षको एक बालक ऊँटको सवारी गर्न अनुनय गर्न थाल्यो । हामीलाई ऊँटको सवारी गर्ने खासै रहर थिएन । तर बालकको करुण आग्रह देखेर केही आम्दनी होस् भन्दै हामी ऊँटको सवारी गर्न तयार भयौं । करीब तीन सय मिटरको दूरी जानु र आउनुमा प्रतिव्यक्ति भारु ३० रुपियाँ खर्च भयो तर मन तृप्त भयो ।
ऊँटको सवारी गरिसकेपछि गङ्गा स्नान शुरू भयो । एकअर्का माथि पानी छर्केर रमाइलो भइरहेको थियो । स्नान गर्दा गङ्गामाताको काखमा हामी केटाकेटी रमाइरहेझैं लाग्यो ।
हामी आएको डुङ्गातिर अचानक मेरो ध्यान गयो । किनारमा कपडा फेरिरहेका एकाध भक्तबाहेक सबै डुङ्गामा सवार भइसकेका थिए । गङ्गा मातासँग हाम्रो सामीप्य र प्रेम देखेर शायद हामीसँगै आएका अपरिचित भक्तजन दङ्ग थिए । फर्किनुपर्ने भएकोले बालपनबाट वयस्कमा परिणत हुनुपर्ने बाध्यता थियो । सूर्य देउतालाई जल अर्पण गरेपछि गङ्गा मातालाई ढोग–प्रणाम गरेर हामी बाहिर निस्क्यौं । लुगा फे¥यौं र डुङ्गामा सवार भयौं । केही बेरमैं वारि पुग्यौं । पारिबाट वारि र वारिबाट पारि हेर्दा रातो र पहेंलो विभिन्न रङ्गका वस्त्रमा सुसज्जित भक्तजनको भीड रङ्गी–बिरङ्गी फूलको बगैंचाभन्दा कम रोचक थिएन ।
गङ्गाघाटमा विराजमान थुप्रै पुरोहितहरूमध्ये एकजनासँग सङ्कल्प तथा समान्य पूजापाठ गराएर निधारमा त्रिकुण्ड चन्दन लगाइयो । पुरोहितलाई दक्षिणा दिएर हामी बाबा काशी विश्वनाथको मन्दिरतर्फ लाग्यौं । निधारमा त्रिकुण्ड चन्दन तथा हातमा पूजा सामग्रीसहित मन्दिरतर्फ जाने र फर्कने भक्तजनहरुको तातीसँगै हामी पनि अघि बढिरहेका थियौं । दशाश्वमेघ घाट देखि झन्डै एक किमि हिंडेपछि मन्दिर जाने प्राचीन गल्लीमा प्रवेश गरियो ।
प्राचीन गल्ली
विश्वनाथ मन्दिर जाने गल्लीमा मिठाइ, पान, लस्सीलगायत विविध पसलमध्ये सबैभन्दा बढी पूजा सामग्रीका पसल थिए । ‘आइए पूजन सामग्री ले लिजिए, लौकर सुविधा भी है, लौकरका पैसा नहीं लगेगा’ सुमधुर वाणीले भक्तजनलाई आकर्षित गर्ने शब्द सुन्दै हामी अघि बढिरहेका थियौं । ‘होहिं वही जो राम रचि राखा’ भनेझैं उनकै पसलबाट पूजन सामग्री खरीद ग¥यौं ।
विश्वनाथ दर्शन
नयाँ स्वरूपमा मन्दिरको निर्माण भए यता हाम्रो यो पहिलो भ्रमण थियो । प्रवेशद्वारमा सुरक्षा चेकजाँचपछि मन्दिर क्षेत्रमा प्रवेश गरेलगत्तै मन्दिरको सौन्दर्य देखेर हामी अचम्मित थियौं । कता–कता हेर्ने ? यता हेरे उताको छटा छुट्ने अवस्था थियो । बिस्तारै अघि बढ्दै एक तला तल झ¥यौं । पचास मिटरजतिको दश चक्कर लगाएपछि पुनः सुरक्षा जाँच पश्चात् मन्दिर प्राङ्गडमा प्रवेश पाइयो । मन्दिरको बनोट सा¥है सुन्दर थियो ।
आयताकार फराकिलो प्राङ्गणको मध्यबिन्दुमा सुन्दर र विशाल काशी विश्वनाथ मन्दिर हेरेर मुग्ध नहुने कुरै थिएन । मन्दिरभित्र विराजमान बाबा विश्वनाथको दर्शनका लागि ठूलो सङ्ख्यामा भक्तजन लामबद्ध थिए । मन्दिर प्राङ्गणमा प्रवेश गर्ने दुईवटा मुख्य प्रवेद द्वार छन् । प्रवेश गरेकै द्वारबाट लामबद्ध भइ दर्शन–पूजन गर्ने नियम छ ।
दर्शनार्थीका लागि दुइतर्फी व्यवस्थाले पहिलेभन्दा विश्वनाथ दर्शन–पूजन निकै सजिलो भएको
छ । दुग्धपात्र हातमा लिएर हामी पनि लामबद्ध भयौं । द्वारदेखि शिवलिङ्गसम्म करीब दुई/तीन मिटर लामो अर्घ पात्र थियो । भीड नभएको बेला मन्दिर प्रवेश गर्न र सीधै शिवलिङ्गमा जल/दूध अर्पण गर्न मिल्छ । तर भीड भएमा द्वारबाटै अर्घ पात्रमार्फत जल अर्पण गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस दिन अत्यधिक भीड थियो । त्यस कारण अर्घ पात्रमार्फत दुग्ध–पुष्प अपर्ण गरेर बाबा विश्वनाथलाई स्नान गराउने सौभाग्य प्राप्त भयो । जय भोलेको नारा, शङ्ख र घण्टको नाद तथा पुष्प, धुप र अगबत्तीको सुगन्धका साथै सफासुग्घर प्राङ्गणभित्रको वातावरणले अर्कै लोकमा आइपुगेझैं प्रतीत हुन्थ्यो ।
पुडी–तरकारी
अघि पूजन सामग्री खरीद गरेको पसलमा मोबाइल र पर्सलगायत सामान लिन आइपुग्यौं । सोही पसलमा वीरगंजका चिनजानका मानिसहरूसँग भेट भयो । हामीमध्ये एकजना अचानक मुर्मुरिए “मेरो जुता त पसलमैं छुट्यो ।” उनको अनुहारको भाव देखेर त्रसित हाम्रो मनोविज्ञान जुत्ता छुटेको कुरा सुनेपछि ठहाकामा परिणत भयो । हाँसो र ठट्टा गर्दै झन्डै एक किमि पछाडि फर्किनुप¥यो । जुत्ता भेटेपछि उनको मुहारमा खुशी छरपस्ट देखियो ।
करीब पाँच सय मिटर हिंडेपछि खाजाका थुप्रै पसलहरूमध्ये एक पुडी–तरकारीको पसलतर्फ ध्यान आकृष्ट भयो । थपीथपी पुडी–तरकारी–जलेबी खाइयोे । खाली पेटमा अन्न परेपछि थकित शरीर उच्च तापक्रमका कारण सुस्त हुन थाल्यो । आराम गर्न हामी होटल फर्कियौं र वीरगंजका साथीहरू आफ्नो गन्तव्यतिर लागे । हामी होटलमा आराम गरिरहेकै बेला वाराणसी यात्रामा आएका साला अनुप मिश्रसँगै छोरा प्रवीण मिश्र होटल आइपुगे ।
दालमण्डी मार्केट
दिउँसो दुई बजे पुनः हामी शहर घुम्न निस्कयौं । कडा घाम र सहि नसक्नु तापमानले लस्सीतर्फ हामी आकर्षित भयौं । गोदौलिया चोकनजीक एउटा लस्सी पसलमा गयौं । बेन्चमा बसेर गफ गर्दै लस्सी पिइरहेका मानिसहरूले ठूलो क्षेत्रफलमा फैलिएको ‘दालमण्डी’ बारे बताए । चर्को घाम त थियो नै, दूरी र दिशा थाहा नभएकोले हामीलाई रिक्शामा जानु उपयुक्त लाग्यो । रिक्शा चालकले भडा रु तीस भनेपछि हामीलाई टाढा होला भन्ने लागेको थियो । तर रिक्शामा चढेको पाँच/छ मिनेटमैं रिक्शा रोकेर चालकले भन्यो, “साहब र यही है दालमण्डी ।”
दालमण्डीमा दालबाहेक अन्य पसल होला भन्ने त पटक्कै लागेको थिएन । दाल मण्डी पुगेपछि दुईवटा कुरा थाहा भयो–पहिलो, यहाँ घरायसी प्रयोजनका सबैथोक पाइन्छ र दोस्रो बजारको नाम ‘दालमण्डी मार्केट’ हो । वाराणसीको धेरै पुरानो उक्त बजार मुस्लिमबहुल क्षेत्र हो । कपडा, रेडिमेड सामान, घडी, मोबाइल, शृङ्गार, किराना र सेवई लगायत सबैथोक पाइने उक्त बजारमा छिटपुट मिठाई तथा लस्सीका पसल थिए । चीसो लस्सी पिएपछि अर्को गन्तव्य बनारस हिन्दू विश्वविद्यालयतर्फ लाग्यौं ।
नयाँ विश्वनाथ मन्दिर
दालमण्डी मार्केटबाट देहलु गली हुँदै टेम्पु तथा त्यसपछि सरकारी एसी बसको यात्रा गरी लगभग चार किमि टाढा लङ्का चोक पुग्यौं । लङ्काचोकदेखि टेम्पुमा सवार भई ‘सर सुन्दरलाल अस्पताल’ हुँदै बनारस हिन्दू विश्वविद्यालय क्षेत्र अवस्थित श्री काशी विश्वनाथ मन्दिर पुग्यौं । यस मन्दिरलाई ‘नयाँ विश्वनाथ मन्दिर’ भनिन्छ ।
मुख्य द्वारबाट प्रवेश गरेपछि बनारस हिन्दू विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयलाई मूर्तिरूपमा हेर्न पाइयो । फराकिलो, खुला तथा शान्त वातावरण यस मन्दिरका विषेशता हुन् । मन्दिरको सुन्दरता र सफाइ वर्णन गरेर साध्य छैन । मन्दिरसँगै रहेको सुन्दर पार्कमा मानिसहरूको घुइँचो थियो । मोबाइलमा तस्वीर खिच्ने र भिडियो बनाउनेहरूहरू बढी थिए । सोही मन्दिरमा छोरा प्रवीण अध्यनरत सङ्कायका प्रमुख प्रोफेसर जिसीआर जयसवालसँग भेट भयो । मन्दिरको कुनाकाप्चासम्म अवलोकल गरेर अर्को गन्तव्य अस्सी घाट तर्फ लाग्यौं ।
गङ्गा आरती
बनारस हिन्दू विश्वविद्यालयभन्दा सबैभन्दा नजीक लगभग तीन किमि टाढा अस्सी घाट आइपुग्दा गङ्गा आरती भइरहेको थियो । त्यहाँको मनोरम दृश्य हेरेर मन्त्रमुग्ध नहुने कुरै थिएन । शङ्ख र घण्टको नादसँगै धुप–अगरबत्तीको सुगन्ध र प्रज्जवलित दीपबाट गङ्गा आरती भइरहेको दृश्य अनुपम थियो । सन्ध्याकालीन गङ्गा आरतीमा सहभागी भक्तजनको भीडको वर्णन गरेर साध्य छैन ।
गङ्गा किनारमा साना–ठूला गरी थुप्रै आकार–प्रकारका डुङ्गा तथा स्टिमर खडा थिए । सोहि मध्ये चाँडै खुल्न सक्ने अनुमान गरी सबैभन्दा बढी यात्रु रहेको स्टिमरमा हामी पनि विराजमान भयौं । स्टिमर नखुलेसम्म हामीले स्टिमरमा बसीबसी गङ्गा आरती र गङ्गा नदीको मनोरम दृश्य अवलोकन गरिरह्यौं ।
आधा घण्टापछि स्टिमर बिस्तारै अघि बढ्न थाल्यो । रात्रिकालीन शान्त वातावरणमा गङ्गाको पानीमा चलिरहेको स्टिमरमा विराजमान यात्रुहरूको ध्यान विभिन्न घाटको अवलोकनमा केन्द्रित थियो । यात्रुहरू रुचि अनुसारको तस्वीर मोबाइल र कैमरामा कैद गरिरहेका थिए ।
गङ्गा तटमा विविध नामका झन्डै अठासी घाट छन् । अस्सी घाटदेखि स्टिमरमा सवार भई तुलसी घाट, चेत सिंह घाट, महाराजा हरिश्चन्द्र घाट (दाहसंस्कार गर्ने घाट), दरभङ्गा घाट, दशाश्वमेघ घाट, मीर घाटलगायत घाटहरूको अवलोकन गर्दै यात्रा जारी थियो ।
ललिताघाट दृश्यमान भएपछि हामीले चालकलाई ललिताघाट ओरालिदिन भन्यौं । चालकले भने मणिकर्णिका घाटबाट फर्केपछि मात्र सम्भव हुने बताए । अस्सीघाटदेखि मणिकर्णिका घाटसम्म जाँदा गङ्गाको मध्य भाग भएर जानुपर्छ । त्यसैगरी मणिकर्णिका घाटदेखि अस्सी घाटतर्फ फर्किंदा घाटछेउ भएर फर्किने रुट निर्धारण गरिएको चालकबाट अवगत भयो ।
फर्कंदा ललिताघाट पुग्नै लाग्दा स्टिमरको जेनेरेटर तातेर ठूलो आवाजसहित कालो धूवाँ फाल्दै बन्द भयो । ललिताघाट करीब तीन सय मिटर पर थियो । बीच मझधारमा जेनेरेटर बन्द भएपछि दुर्घटनाको जोखिमले त्रसित नहुने कुरै थिएन । न हामी पौडी खेल्न सक्षम थियौं, न सुरक्षा जैकेटको नै बन्दोबस्त थियो । वाराणसीमा दुर्घटनालाई मध्यनजरगरी स्टिमर/डुङ्गामा सवार यात्रुहरूलाई सुरक्षा जैकेट प्रदान गर्ने नियम छ । तर कार्यान्वयन पटक्कै नरहेको यात्रीहरूबाट थाहा भयो । दुर्घटनाको जोखिम मध्यनजरगरी सरकारी स्तरबाट कडाइ हुनुपर्ने यात्रुहरूको तर्क थियो ।
चालक चेकजाँच गर्न थाल्यो । स्टिमरको गति बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि चालक ललिताघाटसम्म पुग्न प्रत्यत्नशील देखिन्थ्यो । हामीसँगै अन्य यात्रुको अनुहारमा त्रसित भाव स्पष्ट देखिन्थ्यो । रामकृपाले हामी सुरक्ष्Fित ललिताघाट ओर्लियौं । र नेपाली मन्दिरको प्राङ्गणमा प्रवेश ग¥यौं ।
ललिताघाट
सधैंको मनोकामना यसपटक पूरा भयो । अहिले हामी ललिताघाटस्थित पशुपति महादेव मन्दिरको प्राङ्गणमा उपस्थित थियौं । प्राङ्गणमा भारतीय प्रहरी दृश्यमान भए । उनीहरू किन र केका लागि आएका रहेछन् भन्ने कुराप्रति हामी अनभिज्ञ थियौं । निधारमा रातो टीका तथा श्वेत वस्त्रमा सुसज्जित पुजारीजस्तै देखिने एक युवालाई दण्डवत गरी मैले सोधे, ‘के तपाईं यहाँको पुजारी हुनुहुन्छ ?’ शायद जवाफ दिनु अघि उनले मेरो परिचय जान्न चाहे । मैले परिचय दिइसकेपछि गुरुजी मन्दिरभित्र रहेको कुरा अवगत भयो ।
श्रीसाम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समितिका महासचिव डा गोपालप्रसाद अधिकारी (गुरुजी) अन्य दुईजनासँगै बाहिर निस्किए । मैले गुरुजीलाई ढोग–दण्डवत् गरेपछि भेट्न आएको उदेश्य बारे अवगत गराएँ ।
दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवा वाराणसी आउने कार्यक्रम थियो । त्यसै सेरोफेरोमा सुरक्षा व्यवस्थाबारे गुरुजीसँग छलफलका लागि वाराणसीका प्रशासनका उच्च अधिकारीहरू आएका रहेछन् । प्रहरी अधिकारीहरू गइसकेपछि कुरा गर्ने गुरुजीको निर्देशनपछि त्यहाँ उपस्थित वृद्धाहरूसँग भलाकुसारी गर्न थालें । कुराकानीको क्रममा शारीरिक शक्ति क्षीण, बुढ््यौलीमा वृद्धाश्रममा सुत्ने र बस्नेलगायत न्यूनतम संसाधनको अभावले कष्टकर जीवन बितिरहेको वृद्धाहरूको अवस्था मलाई अनुभूत भयो । ललिताघाट अवस्थित नेपाली वृद्धाश्रममा नेपालका विभिन्न जिल्लाका गरी झन्डै १०/१२ जना वृद्धाहरू थिए ।
राति १० बजे पनि सुरक्षा छलफल जारी देखेपछि समय पाए भोलि आउने भन्दै गुरुजीसँग बिदा लिएँ । ललिताघाट देखि गङ्गा तट हुँदै गोदौलियातर्फ ग¥यौं । केहि दिन अघि गुरुजीसँग भएको फोन संवादमा १८ करोडको लागतमा निर्माण हुने वृद्धाश्रमको भूमिपूजन प्रधानमन्त्री शेरबहादुर देउवाबाट भएको कुरा अवगत भयो । ललिताघाटबाट हिंडेपछि आधा घण्टामा गोदौलिया पुगियो । एकाध साम्रगी किनमेल गरी होटलतर्फ लाग्यौं । क्रमशः …