प्रस, वीरगंज, १२ जेठ/
जगरनाथपुर गाउँपालिका वडा नं ६ का अध्यक्ष अयोध्याप्रसाद कुर्मीलाई अध्यक्षको हैसियतले कुनै पनि काम कारबाई गर्न नदिन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । स्थानीय निर्वाचन अन्तर्गत हालै सम्पन्न मतगणनामा वडाध्यक्ष कुर्मीले आफ्ना निकटमत प्रतिद्वन्द्वीलाई एक मतले पराजित गरेका थिए । पराजित लक्ष्मणप्रसाद कुर्मीले उच्च अदालतमा मतगणना बदर गरी पुनः मतगणना गरिपाउ भनेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा रिट दिएका थिए ।
रिटमा बिहीवार इजलास नं ४ का न्यायाधीश सीताराम मण्डलले जेठ २० गते पेसी तोक्दै निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय, पर्सासमेतलाई कारण खुलाइ लिखित जवाफ पेश गर्न आदेश गरेको छ । सो अवधिसम्म कुर्मीलाई अध्यक्षको हैसियतबाट कुनै पनि कामकारबाई गर्न नदिन निर्देश गरेको छ । अयोध्या एमालेबाट एक मतले विजयी भएका थिए भने लक्ष्मण नेपाली काङ्ग्रेसबाट एक मतले पराजित भएका हुन् ।
यसैगरी, विन्ध्यवासिनी गाउँपालिका–३ मा पनि नेपाली काङ्ग्रेसका जयप्रकाश चौरसिया एक मतले विजयी भएका हुन् । उनले एक हजार १८५ पाएका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका हनिफ मियाँले एक हजार १८४ मत पाएका थिए ।