प्रस, सिम्रौनगढ, १२ जेठ/

सिम्रौनगढ नगरपालिकाको कार्यपालिका सदस्यहरूको निर्वाचन अनिश्चित भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जेठ १५ गते हुने गरी तोकेको निर्वाचन अर्को सूचना नहुन्जेलसम्मको लागि बिहीवार स्थगित गरेपछि निर्वाचन अनिश्चित भएको हो । कार्यपालिकाका लागि महिला दलित, अल्पसङ्ख्यक सदस्य पदको निर्वाचन जेठ १५ गते तोकिएको थियो । नेपाली काङ्ग्रेसका ३६ जना जनप्रतिनिधिले शपथग्रहण र निर्वाचन प्रक्रिया स्थगनको लागि उजुरी गरेको कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काङ्ग्रेसका ३६ जना जनप्रतिनिधिले सिम्रौनगढ नगरपालिका कार्यालयमा उजुरी दर्ता गरी नारा जुलूस गरेपछि आजको लागि तोकिएको मनोनयनपत्र दर्ता प्रभावित भएको थियो ।

नेपाली काङ्ग्रेसबाट जितेका जनप्रतिनिधिहरूले उपद्रो गरेपछि लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि गेटबाहिर निर्वाचन कार्यक्रम हुनुपर्छ भनेर होहल्ला गरेका थिए । दिउँसो ३ देखि साँझ साढे ७ बजेसम्म नगरपालिका कार्यालयअगाडि लोसपाले नाराबाजी गरेको थियो । सो बीचमा निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here