प्रस, गरुडा, ७ जेठ/

इतिहास रच्दै मधेस प्रदेशमा नै दोस्रो कार्यकालको लागि निर्वाचित पहिलो महिला नगरप्रमुखले दलितका लागि बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेकी छन् । रौतहटको मौलापुर नगरपालिकाको पहिलो बैठकले मौलापुर नगरपालिका–९ सोनरनियामा २५ घरको दलित बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेको छ ।

पदभार ग्रहण गर्दै मौलापुरकी प्रमुख रीनाकुमारी साहले आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय दलित बस्ती निर्माण गर्ने भएको बताएकी छन् ।

शुक्रवार शपथ ग्रहणपछि नगरका निर्वाचित उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरूलाई शपथ गराएर पदभार ग्रहण गरेपछि साहले दलित बस्ती निर्माण गर्न पहिलो निर्णय गरेकी हुन् । साहको पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा दुईवटा नमूना दलित बस्तीको निर्माण भइसकेको छ ।

मौलापुर नगरपालिकाका प्रमुख, उपप्रमुख, नौवटा वडाका अध्यक्ष र वडा सदस्य गरी ४७ पदमध्ये ३७ पदमा नेकपा एमालेले जीत हासिल गरेको छ ।

नेकपा एमाले स्थायी सदस्य तथा पूर्वमन्त्री प्रभु साहकी पत्नी नगरप्रमुख साहले मौलापुर नगरवासीको अधूरा सपना पूरा गर्ने समय आइसकेको जनाएकी छन् ।

साहको नेतृत्वमा भौतिक पूर्वाधार, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा जिल्लामा मौलापुर नगरपालिकाले अभूतपूर्व कार्य गरेको छ ।

मौलिक विकासको भिजन र मिसन भएको पालिका नेतृत्वले मौलापुरको नाम र मानको लागि थप विकासका कार्यहरू सम्पन्न हुने मौलापुरका स्थानीयको विश्वास रहेको छ । सर्वसाधारणले दोस्रो कार्यकालको लागि दिएको अपार विश्वासको आफूले पूरापूर सम्मान गर्ने नगरप्रमुख साहको भनाइ छ ।

यसैबीच, रौतहटको राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादवले पदभार ग्रहण गर्दै नगरपालिकामा एम्बुलेन्स किन्ने पहिलो निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here