प्रस, वीरगंज, ३ जेठ/
वीरगंज महानगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनबाट जसपाका राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । उनले निवर्तमान नगरप्रमुख एवं एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा पाँच हजार ४८२ मतान्तरले अग्रता कायम राखेका छन् ।
शनिवारदेखि शुरू भएको मतगणना मङ्गलवारसम्म नौवटा वडाको मतगणना जारी रहँदा जसपाका सिंहले नौ हजार ७६८ मत पाएका छन् भने एमालेका सरावगीले चार हजार २८६ मत पाएका छन् ।
यसैगरी, नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ३४१ मत प्राप्त गरेका छन् ।
महानगरको उपप्रमुखमा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका इम्तियाज आलमले छ हजार ६६१ मतले अग्रता बनाइराखेका छन् ।
शुरूदेखि उपप्रमुखमा उनको अग्रता मङ्गलवारसम्म कायम छ ।
एमाले र लोसपा गठबन्धनबाट उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झाले एक हजार ८१ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ७७६ मत र राप्रपाकी उम्मेदवार वीणा जैसवाल कुर्मीले ५३९ मत पाएकी छन् ।
वीरगंज महानगरको वडा नं ३, ४, ५, ६, २८ र २९ गरी छवटा वडाको मतगणना जारी छ । वडा नं ३ को अध्यक्ष पदमा जसपाका बैजु स्वर्णकारले ५२२ र नेकाका अनवर अन्सारीले ४७८ मत ल्याएका छन् ।
वीरगंज महानगरको प्रमुख पदको १९ हजार ४०९ मत गणना गर्दा सदर मत १४ हजार ५२२ र बदर मतको सङ्ख्या चार हजार ८८७ रहेको छ ।
त्यस्तै, उपप्रमुख पदको १९ हजार ४०९ मत गणना गर्दा सदर मत नौ हजार २३९ र बदर मतको सङ्ख्या १० हजार १७० रहेको छ ।