प्रस, वीरगंज, ३० वैशाख/
पर्सामा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएपनि बारा र रौतहटका केही मतदान केन्द्रमा विवाद, झडप भएर तनाव बढेपछि मतदान स्थगित भएको छ ।
रौतहट जिल्लामा गाउँलेले मतपेटिका लुटपाट गरेका छन् । यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । वडा नं १ को चिकना जेठरहिया (क) मतदानस्थल र वडा नं २ को भेडियाही मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको थियो । उनीहरूले मतदानस्थलमा हुलदङ्गा गर्दै मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड पनि गरेका थिए । त्यसैगरी, केहीले मतपेटिका लिएर भागेका कारण दुवै स्थानमा मतदान रद्द गरिएको मतदान अधिकृत हरिप्रसाद शर्माले जानकारी गराए ।
रौतहटकै गढीमाई नपा–३ र ६ मा झडप भएपछि मतदान स्थगित भएको छ । यसैगरी, वडा नं ७ हर्साहा स्वास्थ्य चौकीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा भएको मतदान स्थगित भयो । फतवा विजयपुर–२ शीतलपुर बैरगिनीमा दुई पक्षबीच विवाद बढेर झडप भएको र प्रहरीले पाँच राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिनुपरेको थियो ।
गौर नगरपालिका–५ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग दुव्र्यवहार भएको छ । वडा नं २ मा मतदान गरेर नेपाल अन्य वडाहरूको मतदान केन्द्र घुम्ने क्रममा वडा नं ५ मा प्रवेश गर्न खोज्दा उनलाई दुव्र्यवहार गरिएको हो । केही व्यक्तिले नेता नेपालविरुद्ध नाराबाजी गरेको, उनलाई मतदान केन्द्रमा प्रवेश गर्दा अवरोध गरेका थिए । विवाद नबढोस् भनेर नेता नेपाल सो मतदान केन्द्र प्रवेश नगरी हिंडेका थिए ।
यसैगरी, बाराको पचरौता नगरपालिका–२ र ४ को निर्वाचन स्थगित भएको छ । जसपाका कार्यकर्ताहरूले प्रोक्सी मत खसाएको भन्दै एमाले कार्यकर्ताहरूले त्यसको विरोध गर्दा विवाद बढेको थियो र अन्तमा दुवै वडाको मतदान स्थगित गर्नुपरेको हो । बाराकै देवताल गापा–७ मा भने दुई पक्षीय झडप भएको र एकजना घाइते भएका छन् । झडपपछि केहीबेर मतदान प्रभावित भएको थियो । पछि सुचारु भएर सम्पन्न भएको बताइएको छ । बाराकै सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर मतदान केन्द्रमा झडप भएको र चारजना घाइते भएको प्रहरीले जनाएको छ । विनोद यादव, सुमोध यादव, रोशनकुमार गुप्ता र कन्तुप्रसाद सहनी घाइते भएका छन् । यसैगरी, वडा नं ३ जोलाहीमा भएको झडपमा सद्दाम हुसेन, नुरुल्लाह अन्सारी र राधेश्याम सहनी गरी तीनजना घाइते भएका र उनीहरूसमेतको उपचार नगर अस्पतालमा भइरहेको बताइएको छ ।