प्रस, वीरगंज, ३० वैशाख/
मधेस प्रदेशका चार जिल्लामा चुनावको समयमा गोली चलेको छ । पर्सा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा गोली चलेको हो । पर्साको छिपहरमाई गापामा दुई पक्षबीचको झडप साम्य पार्न प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो । धनुषाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको थियो । मत खसाल्ने विषयमा विवाद बढेर झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए । विवाद भएर केही समय रोकिएको मतदान पुनः शुरू भएर सम्पन्न भएको छ ।

त्यस्तै, महोत्तरीको बलवा नपामा पनि गोली चलेको छ । मतदानको क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो । बलवा–५ स्थित मनसिव महावीर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं ५ का उम्मेदवार धमेन्द्र यादवले रुजू गर्नका लागि राखिएको मतदाता नामावली च्यातिदिएपछि विवाद भएको थियो । विवादले उग्ररूप लिन थालेपछि सुरक्षाकर्मीले एक राउन्ड हवाई फायर गरेको जिप्रका, महोत्तरीका प्रवक्ता प्रनाउ प्रकाश विष्टले जानकारी दिए । पछि विवाद समाधान भएर मतदान सम्पन्न भएको उनले बताए ।

सर्लाहीको धनकौलमा पनि गोली चलेको छ । मतदान शुरू हुनुअगावै कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले छ राउन्ड गोली प्रहार गरेको थियो । धनकौल गापा–२ पशु सेवा केन्द्र मतदानस्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रनाउ माधवप्रसाद बुढाथोकीले बताए । राजनीतिक दलका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको थियो । केहीबेर विवाद भएपछि मतदान शुरू भएर सम्पन्न भएको थियो ।

यस्तै, रौतहटको गढीमाई नपा–३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ । लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा दुई पक्षबीच मतदानकै क्रममा विवाद भएर झडप भएको थियो । झडपमा करीब १५ जनाको टाउको फुटेको छ ।

त्यसैगरी, रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । फतुवा विजयपुर–२ शीतलपुरमा काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो । अवस्थालाई साम्य पार्न प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

रौतहटकै गढीमाई नपा २ र ३ मा झडप भएको थियो । त्यस्तै, बौधीमाई नपाको एक स्थानमा विवाद भएर मतदान स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here