-शिवशङ्कर द्विवेदी
अतः कर्णलाई जस्तै भएपनि सात्यकिको छेउमा जान दिनुहोस् । म त्यस दुरात्माको अन्तकालको बारेमा जान्दछु, समय आएपछि त्यसबारेमा भन्नेछु, अनि तपाईंले आप्mनो बाणबाट उसलाई यस भूतलमा मारेर सोत्तर पार्नुहुनेछ ।
धृतराष्ट्रले सोधे– सञ्जय, भूरिश्रवा र जयद्रथ मारिएपछि कर्णको साथमा सात्यकिको युद्ध भएको थियो, त्यति बेला त सात्यकिसित कुनै रथ छँदै थिएन, अनि ऊ कसको रथमाथि सवार भयो ?
सञ्जयले भने– महाराज, भगवान् श्रीकृष्णलाई त वर्तमान, भूत र भविष्यबारे थाहा छँदै थियो, उनको मनमा यो कुरा पहिले नै आइसकेको थियो कि भूरिश्रवाले सात्यकिलाई हराइदिनेछन् । अतः उनले आप्mना सारथि दारुकलाई आज्ञा दिइराखेका थिए कि तिमीले मेरो रथलाई बिहानैदेखि तयार राख्नू । राजन्, देउता, गन्धर्व, यक्ष, सर्प, राक्षस अथवा मानिस कसैले पनि श्रीकृष्ण र अर्जुनलाई जित्न सक्दैनन् । ब्रह्मा आदि देउता र सिद्धपुरुषले यी दुवैका अनुपम प्रभावबारे जान्दछन् ।
अब युद्धको समाचार सुन्नुहोस् । रथहीन सात्यकिमाथि कर्णले धावा गरिरहेको हेरेर भगवान् श्रीकृष्णले आप्mनो महान् शङ्ख पाञ्चजन्यलाई ऋषभ–स्वरबाट बजाए । शङ्खनाद सुन्ने बित्तिकै दारुकले श्रीकृष्णको सन्देश बुझेर रथलाई उनको छेउमा ल्याए । सात्यकि श्रीकृष्णको आज्ञा अनुसार त्यसमाथि गएर बसे । त्यो रथ विमानको समान देदीप्यमान थियो, सात्यकि त्यस रथमाथि सवार भएर बाणको झरी लगाउँदै कर्णतिर दगु-यो । त्यति बेला अर्जुनका चक्ररक्षक युधामन्यु र उत्तमौजा पनि कर्णमाथि जाइलागे । कर्णले पनि बाणवर्षा गर्दै क्रोधित भई सात्यकिमाथि धावा गरे ।
यी दुवैबीचमा जस्तो युद्ध भयो, त्यस्तो युद्ध यस पृथ्वीमाथि वा देवलोकमा देउता, गन्धर्व, असुर, नाग र राक्षसहरूको पनि सुनिएको थिएन । महाराज, ती दुवैको अद्भुत पराक्रमलाई हेरेर सबै योद्धाले युद्ध रोकेर ती दुवैको अलौकिक सङ्ग्रामलाई मुग्ध भई हेर्न थाले । दारुकको सारथिकर्म पनि अद्भुत खालको थियो, क्षणमैं उसले रथलाई अगाडि बढाउँथ्यो, क्षणमैं पछाडि, कहिले मण्डलाकार चारैतिर घुमाउन थाल्दथ्यो र कहिले अगि बढेर हठात् पछाडि फर्कन्थ्यो । उसको रथ सञ्चालन कलालाई हेरेर आकाशमा उभिएका देउताहरू पनि विस्मय–विमुग्ध भइरहेका थिए । सबैले बडो सावधानीबाट कर्ण र सात्यकिबीचको युद्धलाई हेरिरहेका थिए । ती दुवैले एकअर्कामाथि बाणहरूको झरी लगाइरहेका थिए । सात्यकिले आप्mनो सायकहरूको चोटले कर्णलाई औधि घाइते पारे ।
कर्ण पनि जलसन्ध र भूरिश्रवाको मृत्युबाट खिन्न थिए, उनी सात्यकिलाई आप्mनो दृष्टिबाट दग्ध पार्दै बारम्बार आप्mनो बाणवर्षाबाट विचलित पारिरहे । रणमा ती दुईको पराक्रमको कुनै तुलना थिएन, दुईटैले एकअर्काका अङ्ग–प्रत्यङ्गलाई छेदन गरिरहेका थिए । अलिक बेरमैं सात्यकिले कर्णको सम्पूर्ण अङ्गमा भयङ्कर खाले घाउ पारेर एउटा भल्ल हानी उनको सारथिलाई पनि रथबाट तल झारिदिए । यतिमात्रै होइन, आप्mना तीक्ष्ण बाणबाट कर्णका चारवटै श्वेत घोडालाई पनि मारिदिए । अनि ध्वजा काटेर कर्णको रथको पनि सयकडौं टुक्रा पारिदिए । यस प्रकार सात्यकिले तपाईंको पुत्रले हेर्दाहेर्दै कर्णलाइ रथहीन पारिदिए ।
अनि कर्णपुत्र वृषसेन, मद्रराज शल्य र द्रोणनन्दन अश्वत्थामाले आएर सात्यकिलाई चारैतिरबाट घेरामा हाले । उता कर्णलाई रथहीन भएको हेरेर चारैतिर हाहाकार मच्चियो । कर्ण शोकोच्छ्वास लिंदै छिट्टै दुर्योधनको रथमाथि गएर बसे ।
सात्यकि कर्ण र तपाईंका पुत्रहरूलाई मार्नमा समर्थ थिए तापनि उनले अर्जुन र भीमसेनको प्रतिज्ञाको मान राख्नको लागि उनीहरूको प्राण लिएनन् । केवल उनीहरूलाई घाइते पारी व्याकुल अवस्थामा छाडिदिए । पछिल्लोपटक जुवा खेल्ने बेलामा भीमसेनले तपाईंका पुत्रहरूलाई र अर्जुनले कर्णलाई मार्ने प्रतिज्ञा गरेका थिए । कर्ण आदि प्रधान वीरहरूले सात्यकिलाई मार्ने पूर्ण प्रयत्न गरे पनि सफल भने हुन सकेका थिएनन् । अश्वत्थामा, कृतवर्मा तथा अन्य सयकडौं क्षत्रिय महारथीहरूलाई सात्यकिले एउटै धनुषले परास्त गरिदिए ।
सात्यकि श्रीकृष्ण र अर्जुनकै समान पराक्रमी थिए, उनले हाँस्दाहाँस्दै तपाईंका सम्पूर्ण सेनालाई जितिसके । तत्पश्चात् दारुकको भाइले एउटा सुन्दर रथलाई सजाएर सात्यकिको लागि ल्यायो । त्यसै रथमाथि सवार भई सात्यकिले पुनः तपाईंको सेनामाथि धावा गरे । अनि दारुक इच्छा अनुसार श्रीकृष्णको छेउमा गयो ।
यता कौरवहरूले पनि कर्णको निम्ति एउटा नयाँ रथ लिएर आए, जसमा बडो वेगवान् घोडाहरू जोतिएका थिए । त्यस रथमाथि यन्त्र राखिएको थियो, पताका फरफराउँदो थियो, नानाथरीका अस्त्रशस्त्रहरू राखिएका थिए र त्यसको सारथि सुयोग्य थियो । त्यस रथमाथि बसेर कर्णले पनि शत्रुहरूमाथि आक्रमण गरे । राजन्, यस युद्धमा भीमसेनले तपाईंका एक्काइसजना पुत्रलाई मारिदिए । यस प्रकार तपाईंको अनीतिको कारणले नै यो भयङ्कर संहार भएको हो । क्रमशः…