ओमप्रकाश चौधरी, सेढवा, २९ वैशाख/
पर्साको जीराभवानी गाउँपालिका वडा नं २ सेढवाको मुसहर बस्तीका आधाभन्दा बढी नागरिक मतदानबाट वञ्चित हुने भएका छन्।
सो बस्तीमा दलित, मुसहर, दुसाद गरी ८९ परिवारको बसोबास छ। निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्क अनुसार यस बस्तीमा ७४ जनाको मतदाता परिचयपत्र छ। जसमध्ये कतिपय मतदाताको मृत्यु भइसकेको छ भने कतिपय रोजगारका लागि भारतमा रहेको स्थानीयले बताएका छन्।
बस्तीका प्रकाश माझी मुसहरले सो बस्तीका अधिकांशको नागरिकता प्रमाणपत्र नभएको कारण मतदाता परिचयपत्र बन्न नसकेको बताए। उनले नागरिकता प्रमाणपत्रको अभावमा उनीहरू मतदानबाट वञ्चित हुने बताए। उनले यस बस्तीका अधिकांशले स्थानीय तहको निर्वाचनबाहेक प्रदेश तथा सङ्घीय निर्वाचनमा समेत मतदान गर्न नपाएको बताए।
बस्तीका मिथुन माझीले नागरिकता नभएको कारण जग्गा–जमीन खरीद, वैदेशिक रोजगार तथा सरकारी सेवाबाट वञ्चित भएको गुनासो गरे। वर्षाैंदेखि बसोबास गर्दै आएका यस बस्तीका कैयौं बासिन्दाको नागरिकताविहीन अवस्थामा नै मृत्यु भइसकेको पनि उनले बताए। सो बस्तीका बासिन्दाको नागरिकता नभएको कारण जनप्रतिनिधिहरूले हेर्ने दृष्टिकोण पनि फरक भएको उनको जिकिर छ। उनले स्थानीय जनप्रतिनिधि, प्रदेश तथा सङ्घीय सांसदहरूले निर्वाचनको समयमा आफू निर्वाचित भए नागरिकता बनाउन पहल गर्ने आश्वासन दिए पनि हालसम्म कसैले पनि केही नगरेको बताए।
जीराभवानी गापा–२ का वडासचिव रञ्जीता पौडेलले नेपाल सरकारले २०६३ सालमा नागरिकता टोली पठाइ केही नागरिकको जन्मसिद्ध, जन्मको आधारमा नागरिकता प्रदान गरेकामा हालसम्म त्यस्ता नागरिकका छोरा, बुहारी, पत्नीलगायतका नागरिकता बनाउन बन्द गरेको कारण यहाँ बासिन्दाहरूले नागरिकता नपाएको बताइन्।