प्रस, गरुडा, २६ वैशाख/

रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । चुनावको मिति नजीकिंदा पनि कसको पक्षमा जनमत छ भन्ने स्पष्ट हुन सकेको छैन ।

२०७४ सालमा भएको स्थानीय तहको चुनावभन्दा फरक किसिमको सन्तुलन गरुडामा बनेकोले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । गरुडा नगरपालिकाको चुनावी अवस्थामा मुख्य प्रतिस्पर्धामा रहेका दलहरूको आन्तरिक जीवनमा धेरै फेरबदल भइसकेकाले पनि सर्वसाधारणलाई अनुमान लगाउन गा¥हो भएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा निर्वाचित दुवैजना यसपटक प्रतिस्पर्धामा छैनन् । निर्वाचित प्रमुख तथा उपप्रमुख दुवैजना स्वेच्छाले उम्मेदवार नबनेको सम्भवतः पहिलो पालिका गरुडा नै हुनुपर्छ ।

गरुडा नगरपालिकाको प्रमुखमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट इन्नुराय यादव निर्वाचित भएका थिए भने उपप्रमुखमा नेपाली काङ्ग्रेसकी रङ्गिलादेवी जयसवाल । प्रमुख यादव उमेरका कारणले चुनावमा छैनन् भने उपप्रमुख जयसवाल पनि उम्मेदवार बनेकी छैनन् ।

पछिल्लो निर्वाचनमा ७२ मतले प्रमुख पदमा पराजित नेपाली काङ्ग्रेसका सुनीलकुमार यादव फेरि प्रमुख पदको प्रतिस्पर्धामा छन् । नेकाबाट उपप्रमुखमा पूनमकुमारी चौधरी छिन् ।

गत निर्वाचनमा नेकपा एमालेबाट प्रमुख पदका प्रत्याशी शेख कलिमुल्लाह यसपटक चुनाव लडेका छैनन् । नेकपा एमाले अहिले करीब सम्पूर्ण सेट नै नेकपा (एकीकृत समाजवादी)मा परिणत भएको छ । नेकपा एमालेले कन्थमणिप्रसाद कलवारलाई प्रमुख पदको उम्मेदवार बनाएको छ भने ज्ञानकलादेवी साहलाई उपप्रमुख पदको । कलवार पछिल्लो निर्वाचनमा स्वतन्त्ररूपमा प्रमुख पदका प्रत्याशी थिए र लगत्तै लोसपामा प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए भने साह नेपाली काङ्ग्रेसको जिल्ला समिति सदस्य थिइन् ।

नेकपा एसले बृजकिशोर यादवलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । रौतहटमा मधेस आन्दोलनमा सबैभन्दा बढी त्याग र सङ्घर्ष गरेको नेताको छवि बनाएका यादवलाई अन्तिम चरणमा जसपा नेपालले टिकट नदिएपछि उनी नेकपा एसमा प्रवेश गरेका थिए । यादव नेकपा एसमा प्रवेश गरेसँगै नेपाली काङ्ग्रेसबाट प्रमुख पदमा नगर समितिले सिफारिश गरेको रामभरोस राय यादव, नेकपा एमालेको नगर समितिले प्रमुख पदमा सिफारिश गरेको रामजी साह सोनार तथा रामप्रसाद राय यादव पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुख पदमा विपिन जयसवाल भन्ने सुरेन्द्रप्रसाद जयसवाल उम्मेदवार बनेका छन् । पछिल्लो निर्वाचनमा पनि थोरै मतान्तरले जयसवाल पछाडि थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले निवर्तमान प्रमुख पुत्र अनिलकुमार यादवलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा पुरानै अनुहारलाई कायम राखेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नवयुवक तर उच्च शिक्षाप्राप्त दीपकराय यादवलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

गरुडा नगरपालिकामा यादव, मुस्लिम, सहनी तथा साह समुदायको पकड रहेको छ । उम्मेदवारहरूले पनि जातीय सन्तुलनलाई भोट बैंक मानिरहेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका मतदाताले जाति र समुदायभन्दा दललाई नै मत दिने धेरैको आकलन रहेको छ ।

जहिले पनि चुनावको नतीजा प्रकाशन नहुँदासम्म नतीजाको आकलन लगाउन गा¥हो हुने गरुडा नगरपालिकामा यसपटक पनि नतीजाको पूर्वानुमान लगाउन सजिलो देखिएको छैन ।

सबैले आफूले जितिरहेको दाबी गरिरहेको गरुडा नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

गरुडा नगरपालिकाको प्रमुख पदमा नेकपा एसका बृजकिशोर यादव, नेपाली काङ्ग्रेसका सुनीलकुमार यादव, नेकपा एमालेका कन्थमणिप्रसाद कलवार, नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार जयसवाल मुख्य प्रतिस्पर्धामा छन् भने जसपा नेपालका अनिलकुमार यादव र लोसपा नेपालका दीपक यादवले पनि आफू अग्र प्रतिस्पर्धामा रहेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here