काठमाडौं, २६ वैशाख/रासस

नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताएका छन् ।

धनगढीमा सोमवार आयोजित चुनावीसभामा प्रधानमन्त्री  देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताएका हुन् ।

चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आआफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।

प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरूपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भएपनि तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले विनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताए ।

उनले भने, “संसद् भङ्ग गर्ने एमालेले संसद् पुनस्र्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरू गठबन्धनले नै जित्नुपर्छ ।”

देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महŒवपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताए ।

देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया–दिपायल–बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक निर्माणका लागि पहल गर्ने बताए ।

प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँदै यही गठबन्धनमार्फत मुलुकमा स्थायित्व कामय राख्दै नयाँ युगको सुरुआत गरिने बताए ।

उनले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरूबीच विवाद र असमझदारी सिर्जना गरेर गठबन्धनलाई विभाजित गर्ने षड्यन्त्र गर्ने तŒव सक्रिय रहेकाले सचेत हुनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाए ।

सभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवा, धनगढी उपमहानगरपालिकाको प्रमुख पदका प्रत्याशी एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नृपबहादुर बड, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवाहरूलाई मत दिएर जिताउन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here