• राजेश मिश्र

महाभारतका अनुसार अर्जुनले युद्धभूमिमा गुरुजन, नातागोता तथा इष्टमित्रहरूलाई हेरेर चिन्तित थिए । आफ्नै भाइभारदारहरूसँग कसरी युद्ध लड्ने ? उनीहरूमाथि कसरी बाण प्रहार गर्ने ? लगायतका चिन्तनले अर्जुनको मन व्याकुल थियो । ह्दय अशान्त थियो । अर्जुनको व्याकुलता हेरेर श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश सुनाउँदै भने, “यो आफ्नो र परायाभन्दा पनि धर्म र अधर्मबीचको युद्ध हो । धर्मको उल्लङ्घन गर्ने प्रत्येक व्यक्ति संसारको लागि काँडा समान हुन् । हे अर्जुन १ नातागोताभन्दा माथि उठेर धर्मको रक्षाप्रति केन्द्रित होऊ र सामुन्ने को छ नहेर, सत्य र न्यायको रक्षाको निम्ति युद्ध गर ।” अर्जुनले श्रीकृष्णको उपदेश ग्रहण गरे । धनुर्धारी अर्जुन मोहमायाको बन्धनबाट मुक्त भए । धर्मको रक्षाका निम्ति आफ्नै परिजनसँग युद्ध लडे । महाभारतका विविध परिघटनाहरूमध्ये यो पनि एक हो ।

गीताका श्लोकहरू होऊन् वा कानूनमा अङ्कित दफा तथा उपदफाहरू, दुवै सत्यपथका मार्गदर्शक हुन् । त्यसैले केवल उनीहरू पाण्डवतुल्य हुन्, जो कानूनी मार्ग अवलम्बन गरिरहेका छन् । ‘स्वहिताय’मा लिप्त राजनीतिकर्मी, सत्ताधारी, उच्च अधिकारी, कर्मचारी, पत्रकारलगायतका झुन्डमा अहिले पाण्डवप्रवृत्ति अपवादबाहेक शून्य प्रायः छ । कौरवप्रवृत्ति हाबी हुनुको मूल कारण अहङ्कार, स्वार्थ र ईष्र्याजन्य मानसिकताको उपज हो ।

दुष्चरित्रलाई ओत पार्ने कार्यमा अशिक्षितभन्दा शिक्षितवर्ग अब्बल मानिन्छन् । नेपाली उखान– ‘हात्तीको खाने दाँत र देखाउने दाँत’झैं कौरवप्रवृत्तिमाथि पाण्डवप्रवृत्तिको लेप चढाइन्छ । र आफूलाई कर्तव्यनिष्ठ, इमानदार र भलादमीको रूपमा प्रस्तुत गरिन्छ । कर्तव्यपरायणताको नाममा रीत पु¥याउने प्रवृत्तिले न कानूनको पालना हुन सक्छ, न देश र जनता उँभो लाग्न सक्छ । जुनसुकै पेशा र ओहोदामा विराजमान भए तापनि इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्ने हो भने सुख र शान्ति खोज्नका लागि अर्को ग्रहमा जानुपर्दैन । भनिन्छ, बेइमानप्रवृत्तिले क्षणिक धनवान् (कौरव) हुन सकिन्छ, तर असल मानव (पाण्डव) कदापि हुन सकिंदैन ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ । यद्यपि आचारसंहिताको उल्लङ्घन छताछुल्ल छ । नियामक निकायको मौनता अहिले चर्चाको विषय बनेको छ । त्यस कारण आजको यो आलेख निर्वाचन आचारसंहितामाथि केन्द्रित छ ।

निर्वाचन आयोग

निर्वाचन आयोगलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु र गराउनु लगायतका अनेकौं जिम्मेवारी काँधमा छ । विविध जिम्मेवारीहरूका बावजूद निर्वाचन आचारसंहिताको मर्म अनुभूत हुने सक्रियता उत्तिकै महŒवपूर्ण छ । आचारसंहिता लागू हुनुअगावै जिल्लास्थित निर्वाचन प्रमुख, प्रशासन प्रमुख, सुरक्षा प्रमुख तथा राजनीतिक दलका नेताहरूको उपस्थितिमा कार्यान्वयनका लागि छलफल तथा सहमति भएको थियो । पछिल्लो समय वैशाख १९ गते निर्वाचन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे प्रेस विज्ञप्ति जारी ग¥यो । त्यसैगरी, आयोगको निर्देशनबमोजिम जिल्लास्थित सम्बद्ध निकायहरूद्वारा सूचना प्रवाह गरी रीत पु¥याइयो ।

सत्ताको चाबी हातमा लिने आकाङ्क्षीहरू अबोध बालबालिका होइनन् । जब आचारसंहिता लागू हुनुअगावै दलहरूको उपस्थिति र सहीछापका साथ ध्यानाकर्षण गराउने काम भइसकेको अवस्थामा उल्लङ्घन गर्ने दल वा उम्मेदवारलाई कानूनबमोजिम कारबाई हुनुपर्ने होइन ? घरदैंलोमा व्यस्त उम्मेदवारहरू आचारसंहितालाई नजरअन्दाज गर्दै मतको गुणा–भागमा केन्द्रित छन् । मतको जोड–घटाउमा व्यस्त उम्मेदवारहरूलाई आचारसंहिताको मर्मबारे बाल मतलब छैन । त्यसैले निर्वाचन आयोगलगायत सम्बद्ध निकायहरूले मौजूदा कानूनको रक्षाका निम्ति उत्तरदायी र प्रतिबद्ध हुनैपर्छ । श्रीकृष्णले गीताको ज्ञान दिएझैं आचारसंहिताको पालनाको सन्दर्भमा सरोकारवाला सबै पक्षको ह्दयमा अर्जुनप्रवृत्ति अङ्कुरीत हुनु अहिलेको आवश्यकता हो । कानूनको मर्यादा उल्लङ्घन गर्ने जोकोही किन नहोऊन्, उनीहरू सबै कौरवतुल्य अधर्मी हुन् । त्यसैले निर्वाचन आचारसंहितालाई अक्षर र कागजमा सीमित राखेर हुँदैन ।

सुरक्षा निकाय

जसरी निर्वाचन आचारसंहिता मिच्ने काम भइरहेको छ, त्यसले अनुगमनको प्रभावकारितामाथि प्रश्नचिह्न खडा गरेको छ । किसानले सीमापारिबाट एक बोरा मल ल्याउँदा कानूनको दायरामा ल्याउने सुरक्षा निकायको मौनता आचारसंहिता उल्लङ्घनको विषयमा बुझिनसक्नु छ । हेल्मेट नलगाएका मोटरसाइकल चालकलाई जरिवाना ठोक्ने सुरक्षा निकाय आचारसंहिताविरुद्ध हर्कत भइरहँदा कुम्भकरण निद्रामा किन छ ? आचारसंहिता उल्लङ्घन गर्नेलाई रु एक लाख जरिवाना गर्ने प्रावधान छ । तर उल्लङ्घनकर्ताहरूमाथि कारबाईको सट्टा प्रहरी आफैं प्रचार सामग्री हटाउने कार्यमा अघि सरेको छ । यसैलाई भनिन्छ, ‘सानालाई ऐन र ठूलालाई चै ।’

राजनीतिक दल तथा उम्मेदवार

धेरै मानिस उपस्थित भएको ठाउँमा निश्चित व्यक्तिलाई जानकारी हुने गरी थोरै शब्दमा परिस्थिति स्मरण गराउँदा नबुझेपछि, ‘आध कहे त सउँस बुझे, सउँस कहे त गदहो बुझे’ भन्ने भोजपुरी लोकोक्ति वर्तमान परिस्थितिसँग मेल खान्छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नुहुँदैन । उल्लङ्घन गरे कारबाईको भागीदार भइन्छ भन्ने कुरा सामान्य नागरिकलाई समेत अवगत भइसकेको छ । यद्यपि आगामी कार्यकालको लागि सत्तासीन हुन चाहने आकाङ्क्षीहरूद्वारा जानाजानी कानून उल्लङ्घन गर्नुभन्दा दुःखद केही होइन । यो अति नै खेदपूर्ण विषय हो । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरू पाँच वर्षका लागि सत्तासीन हुने हुन् भने उनीहरूसँग आमजनताले के अपेक्षा गर्छ ? त्यस्ता उम्मेदवार निर्वाचित भएपछि जनतालाई कानूनको पालना गर्न कसरी प्रोत्साहित गर्छन् ? कसरी स्थानीय सरकार सञ्चालन ऐनको मर्मअनुरूप कामकार्यवाही गर्न सक्छन् ?

खर्चको दायरा

निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिनका लागि निश्चित आवश्यकतालाई मध्यनजर गरी निर्वाचन आयोगले खर्चको दायरा तोकेको छ । प्रचार सामग्री, गाडी, इन्धनलगायतका आवश्यक आपूर्तिलाई महŒव दिइएको छ । महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवारहरूले गर्ने खर्चको दायरा निर्धारण गरिएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ अनुसार महानगरपालिकाका प्रमुख/उपप्रमुखले रु साढे सात लाख तथा वडाध्यक्ष र वडासदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले तीन लाख रुपैयाँसम्म खर्च गर्न सक्ने अनुमति छ । त्यसैगरी, उपमहानगरपालिकाका प्रमुख/उपप्रमुखले साढे पाँच लाख तथा वडाध्यक्ष र वडासदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले अढाई लाख रुपैयाँसम्म खर्च गर्न सक्छन् । नगरपालिकाका प्रमुख/उपप्रमुखले साढे चार लाख तथा वडाध्यक्ष र वडासदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन् । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले साढे तीन लाख तथा वडाध्यक्ष, वडासदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले डेढ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ ।

निर्वाचन आचारसंहिताको मर्मविरुद्ध निषेधित स्थानमा ब्यानर तथा पोस्टर टाँग्ने/टाँस्ने, बालबालिकाको प्रयोग गर्ने, भोजभतेर गर्ने कार्य भइरहेका छन् । के राजनीतिक दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डभित्र खर्च गर्ने सम्भावना छ ? यसको अनुगमन कसले गर्ने ?

अरूमाथि औंला उठाउनु जति सजिलो छ, उत्तिकै असजिलो आफ्नो आङ हेर्नु हो । के मतदाता सजग छन् ? के मतदाताहरू स्वार्थमा लिप्त छैनन् ? विगत बिर्सेर विशुद्ध मतदाताहरू निर्वाचनको बेला कार्यकर्तामा रूपान्तरण हुने प्रवृत्ति छ । स्वार्थसिद्धि हेतु नेताको चाकरीमा लिप्त हुने अवस्था रहेसम्म स्थानीय तहको उत्थान सम्भव छैन । भोजभतेर जस्ता आचारसंहिताविपरीतका कार्य दिनहुँ समाचारमा आइरहेका छन् । मतदाताहरूले के विचार गर्नुपर्छ भने भोजभतेरको आनन्द क्षणिक हो । दीर्घकालीन सोचका साथ उम्मेदवार छनोट प्रक्रियामा ध्यान नदिने हो भने आगामी पाँच वर्ष पछुताउनुबाहेक अर्को विकल्प हुनेछैन । त्यसैले मतदाताहरू अवाञ्छित गतिविधिमा लाग्ने होइन, बरु अवाञ्छित गतिविधिमा लिप्त उम्मेदवारहरूविरुद्ध खडा हुनुपर्छ ।

पत्रकार

सञ्चारमाध्यम तथा पत्रकारहरूलाई देशको चौथो अङ्गको मान्यता विश्वव्यापी छ । असल र भ्रष्टाचारमुक्त समाज निर्माणमा पत्रकारहरूको भूमिका अहम् ठानिन्छ । त्यस्तै, निर्वाचन मात्र होइन, जहिल्यै पनि असामाजिक गतिविधि उजागर तथा स्वच्छ, निष्पक्ष र भ्रष्टाचारमुक्त वातावरण निर्माण गर्ने प्रक्रियामा पत्रकारहरूको भूमिका अपेक्षित हुन्छ । पत्रकारहरूकै कारण कतिपय लुप्त अनियमितता उजागर र संलग्न पात्र कारबाईमा परेका उदाहरणहरू छन् ।

पत्रकारले एक हातमा राजनीतिक दलको झन्डा तथा अर्को हातमा पत्रकारिताको परिचयपत्र बोकेर कसरी निष्पक्ष पत्रकारिता गर्न सक्छ ? कसरी आफूलाई स्वतन्त्र पत्रकार भन्न सक्छ ? आज पत्रकारिताको खोल ओढेर राजनीति र व्यवसायमा खप्पिस पत्रकारहरूका कारण स्वच्छ र निष्पक्ष सञ्चार संस्था तथा पत्रकारहरूको मर्यादा सङ्कटमा छ । दुईधारे प्रवृत्तिका कारण कानून उल्लङ्घनका घटनाहरूले प्रश्रय पाइरहेका छन् ।

वैशाखको तापमान

नेपालको मिश्रित भौगोलिक अवस्था अर्थात् उच्च हिमाली, हिमाली, पहाड र तराई गरी चार प्रकारका छन् । वैशाख महीना भए तापनि भौगोलिक अवस्था अनुसार कतै चीसो त कतै गर्मी छ । वैशाखको महीनामा खासगरी मधेसमा गर्मी अत्यधिक हुन्छ । उच्च तापमानमा दिउँसोको समय आकाशमुनि अधिक समय उभिनुपर्दा बिरामी, महिला तथा वृद्धवृद्धाहरूका लागि असामान्य परिस्थिति नहुने कुरामा दुईमत छैन । त्यस कारण सरोकारवाला निकायले उच्च तापमानलाई मध्यनजर गरी मतदातामैत्री मतदानस्थलको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्छ ।

अन्तमा,

गीतामा उल्लिखित श्लोकहरूमध्ये मानवीय अवगुणको सम्बन्धमा एक श्लोक यस्तो छ–

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।

कामः क्रोधस्तथा लोभस्तरमादेतत्त्रयं त्यजेत् ।।

अर्थात् काम, क्रोध र लोभ यी तीनवटा नरकका द्वार हुन् । यस्तो प्रवृत्तिले मानव सभ्यतालाई अधोगतितर्फ धकेल्छ । त्यसैले दुष्चरित्र त्याग्नुपर्छ । यदि हामी कुनै लक्ष्य हासिल गर्न चाहन्छौं भने यी तीनवटा दोषलाई त्याग्नुपर्छ । यी दोषहरूबाट ग्रसित मनुष्य किंकर्तव्यविमूढ हुन्छ । जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न अक्षम हुन्छ । राजनीतिक दल, सरकार, सुरक्षा निकाय, कर्मचारी, मतदाता, उम्मेदवार, पत्रकार तथा निर्वाचनसँग सम्बद्ध अधिकारीहरूसँग एउटा प्रश्न छ– तपाईं कुन पथमा हुनुहुन्छ, पाण्डव वा कौरव ? एकपटक छातीमा हात राखेर आफैं विचार गर्नुहोला ।

केवल पाण्डवमुखी प्रवृत्तिले कानूनको रक्षा सम्भव छ । सत्यमार्गीहरूको तुलनामा अधर्र्मीहरूले बढी सत्यवादी कुरा गर्ने प्रवृत्ति जगजाहेर छ । यद्यपि सत्मार्ग अवलम्बन गर्ने पात्रको सङ्ख्या थोरै भए तापनि परिवर्तनको परिकल्पना उनीहरूबाटै सम्भव छ । स्वच्छ र निष्पक्ष वातावरणको परिकल्पनासहित उदय भएको निर्वाचन आचारसंहिता, २०७८ को मूलभूत उद्देश्य तब हासिल हुन सक्छ, जब परिणाममुखी उत्तरदायित्व जाग्रत हुन्छ । अन्यथा ‘काग कराउँदै छ, पिना सुक्दैछ’ भन्ने उखान जस्तै जसरी कौरवप्रवृत्ति चरितार्थ हुँदैछ, त्यसले पाण्डवप्रवृत्ति आहत नहुने कुरामा कुनै दुईमत छैन । निर्वाचन दिवसको सबैमा हार्दिक मङ्गलमय शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here