राधेश्याम पटेल, परवानीपुर, १८ वैशाख/
नेपालको आर्थिक नगरी वीरगंज महानगर, पर्सा जिल्लाको सदरमुकाम पनि हो । छवटा महानगरमध्ये मधेस प्रदेशको एकमात्र महानगर पनि हो । यहाँ नगरप्रमुख पदको चुनाव जित्न सबै दलले सकेसम्मका सबै हतकण्डा अपनाउन रणनीतिकरूपमा चुनावी प्रचार कार्यक्रममा जुटेका
छन् । यसै महानगरबाट नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी हुन् । पहिलो स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जसपा भएको पार्टीबाट विजयी भएका थिए सरावगी । स्थानीय चुनाव घोषणा भएपछि उनी जसपा परित्याग गरी फागुन २८ गते एमालेमा प्रवेश गरेका हुन् । जसपा छाडेर एमालेमा प्रवेश गरेपछि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम्ले नगरप्रमुखको उम्मेदवार घोषणा गरेका थिए । यसो त सरावगी स्थानीय चुनावमा नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने चाहना राखेका थिए । यसका लागि उनले माग गरेको नगरप्रमुखको पद नेकाले दिन नमानेपछि एमालेमा आएका हुन् ।
स्थानीय तहको चुनाव घोषणा भएर उनी उम्मेदवार घोषित भएपछि अहिले उनलाई चुनाव प्रचारप्रसारमा दौड लगाउँदैमा फुर्सद छैन । बिहान ६ देखि आधा रातसम्म दैनिक आफू चुनावी कार्यक्रमहरूमा खट्दै आएको बताउँछन् । जसपाबाट जितेको साखलाई अब एमालेबाट पनि जितेर देखाउने चाहना पूरा गर्न उनले दिनरात एक गरी खटेका छन् । वीरगंजका ३२ वटा वडामा घरदैंलो कार्यक्रम, भेटघाट, छलफल, सभा–समारोहहरू अनि फुर्सदमा रणनीतिक योजना बनाउन उनी व्यस्त हुन्छन् ।
कस्तो छ चुनावी प्रचारप्रसार, यसपालि पनि जितिन्छ त ?
(भोजपुरीमा) अभिन रोज मिटर उठता आ गिरता (अहिले सधैं मिटर उठिरहेको छ र खसिरहेको छ) । त्यसैले यकीनका साथ भन्न गा¥हो छ, तर मौन अवधिसम्म धेरै क्लियर हुन्छ, कसले बाजी मार्ने हो भनेर । चुनावमा सबैभन्दा उम्मेदवारको छवि, दलको चुनावी रणनीति र जनताको भावनाले मुख्यरूपमा काम गर्छ । वीरगंजमा मुख्यतः पाँच दलीय गठबन्धन र एमाले, लोसपा र रापप्रा नेपालको गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ । मेरो र राजेशमानजीबीच मुख्य लडाइँ हुन्छ ।
उसो भए ‘ब्यालेट’बाट फैसला हुन्छ ?
चुनावमा ब्यालेटबाटै फैसला हुने त हो नि ? जतिसुकै बुलेट चलाउनेहरू पनि आखिरकार ब्यालेटमा आउनै परेको दृष्टान्त हाम्रोसामु छ । अब कसैले बुलेटको ध्वास दिन्छ भने मूर्खता नै हो । ब्यालेट जनताको हातमा छ, अब उहाँहरूले फैसला गर्नुहुन्छ । जनताले सही मानिसको चयन गर्ने कुरामा म ढुक्क छु । कसलाई चुन्दा ठीक वा बेठीक भन्ने कुराको जानकारी जनतालाई छ । जनताले अबका केही हप्तामैं यसको निर्णय दिनेछ ।
नगरप्रमुख भएर के गर्नुभयो र अब के गर्न बाँकी छ ?
वीरगंज महानगरको प्रमुख भएर मैले खासै केही गर्न नसकेको छैन ।स्थानीय तह भनेको नयाँ कुरा, त्यसमा पनि धेरै नीति नियम, प्रणाली बसाल्नुपर्ने बाध्यता छ । अर्को दुई वर्षपछि कोरोना महामारीले गर्दा घोषणापत्रमार्फत गरेका प्रतिबद्धता पूर्णरूपमा पूरा गर्न नसकेको तर केही उदाहरणीय योजनामा काम गरेको छु । वीरगंज महानगरका ३२ वटा वडामा २४० किमी सडक, १७४ किमी नाला, नयाँ बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, वाटर ट्रिटमेन्ट प्लान्ट, उज्यालो वीरगंज, शिक्षामा पूर्वाधार र शैक्षिक गुणस्तरको लागि ३० करोड खर्च गरेको, पाँच हजारजनालाई रोजगार दिने लक्ष्यमा दुई हजारजनालाई रोजगार दिएको छु । वीरगंजमा २० वर्षदेखिका खाल्डाखुल्डी परेका सडकहरू चिल्लो पारेको छु । घण्टाघरदेखि पावरहाउस चोकसम्म दुई किलोमिटर सडक निर्माण गरेको छु । सडक विभाग अन्तर्गतको सडक सुधार गरेको भन्दै मलेपले अढाई करोड खर्चलाई बेरुजू बनाइदिएको छ । सडक विभागको भत्किएको संरचना सुधारका लागि यस कारणबाट महानगरले काम गर्न सकेको छैन ।
म पुनः नगरप्रमुखमा विजयी भए महŒवाकाङ्क्षी योजना ग्रेटर वीरगंजको रोडम्याप तयार पारिसकेको छु र त्यसलाई पूर्णता दिन्छु । यसैगरी, आइसिपीअगाडि नयाँ वीरगंज शहरको परिकल्पना गरेको छु, जसको लागि १२ अर्बको योजनामा वीरगंजको पश्चिममा रहेको श्रीसिया खोलालाई वाग्मती कोरिडोर बनाउने योजना मसँग छ । यसैगरी, भौतिक पूर्वाधार निर्माण, हराभरा स्वच्छ वीरगंजको लागि कम्मर कसेर लाग्नेछु ।
घडीअर्वा, नगर सभागृह, स्वीमिङ पुलको कुरा पुनः उठेको छ चुनावमा ?
वीरगंजको पर्यटकीय गन्तव्यको रूपमा नगर सभागृह, घडीअर्वा पोखरी, स्वीमिङ पुल हो, यसमा दुई मत छैन । तर तत्कालीन वीरगंज उपमहानगरले गरेको करार र सम्झौताका कारण कानूनी अडचन पैदा भएको छ । मैले प्रयास गरेको तर अख्तियारको गोलमटोल निर्णयले पछाडि हट्नुप¥यो । यी ठाउँ पहिलेदेखि लिजमा दिइएको रहेछ, मैले प्रयास गरें, तर कानूनी जटिलताको कारण सकिनँ । उनले दोस्रोपटक चुनाव जिते सबैभन्दा पहिले ती ठाउँहरूलाई वीरगंज महानगरको आम्दनीको स्रोतको रूपमा उपयोगमा ल्याउन पहल थाल्नेछु ।
सेवासुविधा लिन्नँ भन्नुभएको थियो तर लिनुभयो ?
त्यत्तिखेर मैले भनेको हुँ– भगवान्का दिया सब कुछ है । मै कोई सेवा सुविधा नही लुङ्गा । तर परिस्थिति परिवर्तन भयो । सुरक्षा चुनौती आइप¥यो, अनि सुरक्षाका कारण मात्र मैले सुरक्षित गाडी खरीद गरेको हुँ, त्यो पनि गृह मन्त्रालयको सुझावमा । मैले पाउने भत्ता मेयर कल्याणकारी कोषमा जम्मा गरेको छु, दीनदुःखीहरूलाई सहयोग हुन्छ, त्यो कोषबाट ।
एमाले प्रवेश गर्नुको कारण ?
म एमाले प्रवेश गर्नुको मुख्य कारण जसपा हो । जसपाको माथिल्लो तहका नेताहरूबाट अनावश्यक दबाब आउने जस्ता कार्यले म आजित भएको थिएँ । एमालेले पनि वीरगंज महानगरको प्रमुख पदमा सोलिट उम्मेदवार खोजी गरिरहेकोले दुवैको लागि साइत जुरेको भन्नुपर्छ ।
जसपाबाट अहिले धेरै आरोप लगाइँदैछ ?
अब पार्टी परित्याग गरेपछि आरोपको के मतलब रह्यो । कहिले वडाध्यक्षहरूलाई २०/२० लाख बाँडेको, कहिले कुमारी बैंकमा ५० करोड मौज्दात रहेको जस्ता हावादारी आरोपको मैले खण्डन पनि नगर्नु पर्ने हो । जुन कुरामा सत्यता छैन, त्यसको खण्डन गर्नुपर्दैन । तर आरोप लागेपछि सही कुरा बताउनुपर्छ हैन भने हावादारी कुरामा जनताले विश्वास गर्छ । मैले वडाध्यक्ष ककसलाई पैसा दिएको भए सप्रमाण आउनुप¥यो अनि आरोप लगाउनेले पनि सो कुराको पुष्टि गर्नुप¥यो । कुमारी बैंकको सवालमा मेरो सो बैंकमा रहेको मौज्दात सार्वजनिक गर्नुप¥यो नि हैन र ? आरोप मात्र लगाउने हो भने म पनि लगाउन सक्छु होला नि तर त्यसको के नै अर्थ हुन्छ ?
चुनावी खर्चमा आचारसंहिताको पालना गर्नुहुन्छ ?
निर्वाचन आयोगले तोकेको मापदण्डमा मेरो चुनावी खर्च सीमित हुन्छ । खर्चको मापदण्डविपरीत म जान्नँ । मैले एउटा मात्र गाडीको प्रयोग गरेको छु । सोही गाडीबाट चारैतिर घुमिरहेको छु । ३२ वटा वडामा एमालेका उम्मेदवारहरू छन्, उनीहरूले आआफ्नो वडामा आफ््नै साधनको प्रयोग गरिरहेका छन् ।