न्यूयोर्क (अमेरिका), १७ वैशाख/एएनआई
संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रवार भएको “घातक विस्फोट”को निन्दा गरेको छ । विस्फोटमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।
शहरको पश्चिममा दारूलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तमा नागरिक लक्ष्यमा भएका शृङ्लाबद्ध आक्रमणमा सबैभन्दा पछिल्लो घटना
हो ।
संयुक्त राष्ट्रसङ्घ समाचारका अनुसार स्थानीय अस्पतालले धेरै हताहतको आकडा प्रस्तुत गरेको छ । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । तीमध्ये धेरै बालबालिका छन् ।
गैरसरकारी संस्थाद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितलाई भर्ना लिएको थियो, जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“रमजानको पवित्र हप्ताको अन्तिम शुक्रवार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार हो, जो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्,” उनले भने ।
“आफ्नो दैनिक काम प्रार्थनाको लागि भेला हुने, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकलाई अन्धाधुन्धरूपमा निशाना बनाइनु अनुचित हो,” उनले थपे । बिहीवार उत्तरी अफगानिस्तानको मजार–ए–शरीफ शहरमा दुईवटा मिनीबसमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तीमा नौजनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन् । अलकबारोभले नागरिक र मस्जिदलगायत नागरिक पूर्वाधारविरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तर्राष्ट्रिय मानवीय कानूनले कडारूपमा निषेध गरेको पनि स्मरण गराए । रासस