- उमाशङ्कर द्विवेदी
अर्जुनको यस्तो मूर्तिमान कालको समान अभूतपूर्व पराक्रम हेरेर कौरवसेनामा बडो खैलाबैला मच्चियो । यस प्रकार भयानक कर्मद्वारा आफ्नो भीषणताको छाप लगाएर उनी बडे महारथीहरूलाई नाघेर अगि बढदै गए ।
अर्जुनलाई जयद्रथतिर यसरी बढिरहेको हेरेर कौरव योद्धाहरू उनको जीवनबाट निराश भएर संग्रामभूमिबाट फर्किन थाले । यतिबेला तपाईंका पषका जुन वीर अर्जुनको सामु आउँथे, उनकै शरीरमाथि अर्जुनको प्राणान्तक बाण खस्दथ्यो । महारथी अर्जुनले तपाईंका सबै सेनालाई अत्यन्त व्यथित पारिदिए । यस प्रकार तपाईंका चतुरङ्गिणी सेनालाई व्याकुल पारेर उनी जयद्रथको सामु आए । उनले अश्वत्थामालाई पचासवटा, वृषसेनलाई तीनवटा, कृपाचार्यलाई नौवटा, शल्यलाई सो¥हवटा, कर्णलाई बत्तीसवटा र जयद्रथलाई चोसट्ठीवटा बाण हानेर घाइते पारी बडो जोडले सिंहनाद गरे । जयद्रथद्वीद्वारा अर्जुनको बाणको चोट सहन हुन सकेन । उनी अङ्कुश गाडिएको हात्तीझैं अत्यन्त क्रोधित भए । अतः उनले तीनवटा बाण श्रीकृष्णमाथि र छववटा बाण अर्जुनमाथि तथा आठवटा बाणबाट घोडाहरूमाथि हानेर घाइते पारे अझ एउटा बाण उनको ध्वजामाथि प्रहार गरे तर अर्जुनले जयद्रथले हानेको बाणलाई बाटैमा व्यर्थ पारी एकै साथ दुईटा बाण हानेर उनको सारथिको शिर र ध्वजालाई काटिदिए । यसै बेला सूर्यलाई बडो तीव्रताका साथ अस्ताचलतर्पm ढलिरहेको हेरेर श्रीकृष्णले भने– पार्थ, यति बेला जयद्रथलाई छववटा महारथीले आप्mनो बीचमा राखेर रक्षा गरिरहेका छन् । अतः संग्राममा यी छवटै महारथीलाई परास्त नगरीकन जयद्रथलाई मार्न सम्भव छैन । त्यसैले यतिबेला मैले सूर्यलाई ओझेल पार्न एउटा यस्तो उपाय गर्नेछु, जसबाट जयद्रथलाई लागोस् कि सूर्यास्त भइसकेको छ । यसबाट उनी हर्षित भएर निस्किआउनेछन् र आप्mनो रक्षा गर्ने कुनै उपाय गर्ने छैनन् । त्यसै अवसरमा तपाईंले जयद्रथमाथि प्रहार गर्नु, सूर्य अस्त भइसक्यो भनेर उपेक्षा नगर्नु । प्रत्युत्तरमा अर्जुनले भने– हवस्, तपाईंले भने अनुसार नै गर्नेछु ।
अनि योगीश्वर श्रीकृष्णले योगयुक्त भएर सूर्यलाई ढाक्नको लागि अन्धकार उत्पन्न गरे । अन्धकार फैलिएपछि तपाईंका सैनिकहरूले सूर्यास्त भइसक्यो भन्ठानेर अर्जुनको नाशको सम्भावनाबाट बडो हर्षित भए । हर्षतिरेकको कारण उनीहरूले सूर्यतिर हेर्ने ध्याउन्न नै दिएनन् । यसैबेला राजा जयद्रथले शिर उचालेर सूर्यतिर हेर्न थाले । अनि श्रीकृष्णले अर्जुनसित फेरि भने– वीरवर, हेर्नुहोस्, सिन्धुराज तपाईंको भय त्यागेर सूर्यतिर हेर्दैछन्, यस्ता दुष्टलाई मार्न यही सुअवसर हो । तत्काल यिनको शिर छप्काएर आफ्नो प्रतिज्ञा पूर्ण गर्नुहोस् । श्रीकृष्णको कुरा सुनेर प्रतापी पाण्डुनन्दन अर्जुनले आफ्नो प्रचण्ड बाणबाट तपाईंको सेनाको संहार गर्न थाले । उनले कर्ण र वृषसेनको धनुषलाई आफ्नो बाणबाट काटेर एउटा भल्ल हानी शल्यको सारथिलाई रथबाट तल झारिदिए तथा कृप र अश्वत्थामा दुवै मामा–भान्जा अत्यन्त घाइते पारिदिए । यस प्रकार तपाईंका समस्त महारथीलाई अत्यन्त व्याकुल पारी उनले एउटा दिव्यास्त्रहरूबाट अभिमन्त्रित तथा गन्ध र पुष्पादिबाट पूजित इन्द्रको वज्र समान प्रचण्ड बाण झिके । त्यसलाई विधिवत् वज्रास्त्रबाट अभिमन्त्रित गरेर आफ्ना गाण्डीव नामक धनुषमाथि चढाए । यतिबेला श्रीकृष्णले छिटो गर्ने सङ्केत गर्दै फेरि भने, धनञ्जय, सूर्य अस्ताचलमा पुग्नै आटेको छ, जयद्रथको शिर तत्काल काटिदिनु । हेर्नुहोस, यिनको वधको विषयमा म तपाईंलाइ एउटा प्रसङ्ग सुनाउँदैछु । यिनका पिता जगत्प्रसिद्ध राजा बृद्धक्षत्र थिए । उनी धेरै बूढो भएपछि मात्र जयद्रथलाई पुत्रको रूपमा उत्पन्न गरेका थिए । यिनको विषयमा राजा वृद्धक्षत्रलाई यो आकाशवाणी भएको थियो– राजन्, तपाईंको यो पुत्र कुल, शील र दमादि गुणहरूमा सूर्य र चन्द्रवंशीहरूको समान हुनेछ । यस क्षत्रियपंवरको लोकमा शूरवीरहरूले सर्वदा सत्कार गर्नेछन् तर संग्राममा युद्ध गर्ने बेला एउटा श्रेष्ठ क्षत्रियले अचानक यसको शिर काटिदिनेछ । यस्तो आकाशवाणी सुनेर बृद्धक्षत्र धेरै बेरसम्म यसबारे सोचिरहे, अनि उनले पुत्रस्नेहको वशीभूत भई आफ्ना जातिबन्धुसित भने–जसले मेरो पुत्रको शिर काटेर भुइँमा खसाल्नेछ, उसको मस्तकको सहस्त्र टुक्रा भइहाल्नेछ । यति भनेर वृद्धक्षत्रले जयद्रथको राज्याभिषेक गरेर वनतिर गई बडो घोर तपस्या गर्न थाले । यतिबेला उनी स्यमन्तपञ्चक क्षेत्रको बाहिर बसेर बडो घोर तपस्या गरिरहेका छन् । त्यसैले तपाईंले दिव्यास्त्रबाट जयद्रथको शिर काटेर वृद्धक्षत्रको काखमा खसालिदिनुहोस् । यदि तपाईंले जयद्रथको सिर काटे भुइँमा खसालिदिनुभयो भने निश्चय नै तपाईंको मस्तिष्कको पनि एक सयवटा टुक्रा भइ हाल्नेछ ।
श्रीकृष्णका यस्तोे कुरा सुनेर अर्जुनले त्यो वज्रतुल्य बाण हानिदिए । त्यस बाणले सिन्धुराज जयद्रथको शिर काटेर हुचिल चराझैं लिई आकाशमा उड्दै समन्तपञ्चक क्षेत्रको बाहिर लिएर गई सनध्योपासन गरिरहेका राजा वृद्धक्षत्रको काखमा खसालिदियो । राजा वृद्धक्षत्रले यसबारे चालै पनि पाएनन् । उनी सन्धोपासन गरेर उठ्ने बित्तिक्कै जयद्रथको काटिएको शिर उनको काखबाट ढलेर भुइँमा खस्यो तथा त्यो शिर भुइँमा खस्ने बित्तिक्कै राजा बृद्धक्षत्रको शिरको एक सय टुक्रा भइहाल्यो । क्रमशः …