राधेश्याम पटेल, वीरगंज, १६ वैशाख/

राजसंस्थाप्रति समर्पित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गिरीश गिरी  नगरप्रमुखको उम्मेदवार बनेका छन् । वीरगंजका पूर्वनगरप्रमुख स्व गोपाल गिरीका सुपुत्र गिरी पत्रकार एवं लेखक हुन् । उम्मेदवारी दर्ताभन्दा दुर्ई दिनअघि राप्रपाको केन्द्रीय कमिटीले उनलाई नगरप्रमुखमा वीरगंज महानगरपालिकाको चुनावी मैदानमा खडा गराएको हो ।

गिरी अहिले वीरगंजका टोलटोलमा मत माग्दै हिंडेका छन् । माओवादी जनयुद्धमा माओवादीको गोली प्रहारबाट उनका पिता स्व गिरीको निधन भएको थियो । यसपालिको स्थानीय चुनावमा वीरगंजबाट उम्मेदवारी दिनुको कारण बुबाको अधूरो सपना पूरा गर्ने आफ्नो अभिलाषा रहेको उनले बताए ।

उनले चुनाव लड्ने आफ्नो इच्छा नभएको तर दलका नेता र घरपरिवारबाट पनि समर्थन पाएपछि वीरगंजको नगरप्रमुखमा आफूले दाबेदारी गरेको बताए । उनले चुनावमा विजयी हुनको लागि हरसम्भव प्रयास गर्ने बताएका छन् ।

उनले अहिले बिहान ५ देखि राति ११ बजेसम्म चुनावी अभियानमा मतदाताको घरमा पुगेर मत माग्ने गरेको जानकारी गराए । गिरीले मत माग्ने काम भएपनि आर्थिक समस्याले पिरोलिएको बताए । चुनावमा खर्च हुने सुनेको थिएँ तर वीरगंजको चुनाव झनै खर्चिलो रहेछ । पैसा नभएर अहिले तनाव भएको उनले प्रतिक्रिया दिए ।

पत्रकारिताको जागीरमा पनि आर्थिक समस्यासँग जुध्नुपरेको र अहिले राजनीतिमा पनि बढी खर्चको कारण आर्थिक समस्यासँग जुधिरहेको उनले बताए । पैसा खर्च गर्न नसक्दा आशावादी मतदाताहरूको कुरै नगरौं दलकै कार्यकर्ताहरू पनि रुष्ट भएको बताए । अन्य उम्मेदवारहरूले खर्च गरेको भन्दै आफूलाई पनि सोहीअनुरूप खर्चको दबाब आएको बताउँदै गिरीले लोकतन्त्रको लागि यो खतराको सूचक भएको बताए ।

उनले आफ्नो खर्च अहिलेसम्म ३५ हजार ननाघेको बताए । एउटा सवारीसाधन लिएको र सोहीबाट मतदाताको घरघरमा पुगेर मत मागिरहेको गिरीले बताए । उनले मतदाताकहाँ पुग्दा सकारात्मक प्रतिक्रिया पाइरहेको तर मत पाउने कुरामा  विश्वस्त हुन टुङ्गो नलागेको बताए । सबैले आशा दिएका छन् म पनि आशावादी छु, निराश हुँदिनँ होला । गिरीले चुनावमा खर्चको लागि सहयोग गर्नेहरू तत्पर भएको तर आफू त्यस्तो सहयोगको बर्खिलाप रहेको बताए । सहयोग लिएर चुनाव लडेको अवस्थामा विजयी भइहालेको खण्डमा उनीहरूको स्वार्थको शिकार हुनुपर्ने भएकालेले त्यस्तो कार्य नगरेर चुनावी अभियानमा लागिपरेको बताए ।

उनले नगरप्रमुखमा विजयी भएको खण्डमा वीरगंजको कायापलट गर्ने बताए । आफूले जितेको अनुभूति अहिले घोषणा गरेर देखाउने प्रतिबद्धता जाहेर गरे । महानगर कस्तो हुन्छ भन्ने महानगरवासीलाई चित्रण गरेर देखाउने उनले दाबी गरे । अहिले चुनावी माहोल छ, जुन उम्मेदवारले जे भन्दा पनि हुन्छ तर यहाँको भौतिक पूर्वाधार निकै पछि परेकोले सोको पूर्ति गरिने बताए । उनले सबै मतदातालाई एकपटक छातीमा हात राखेर मतदान गर्न आग्रह गरेका छन् । यो अवसर पटक–पटक नआउने र यसका लागि पाँच वर्ष कुर्नुपर्ने हुनाले सही उम्मेदवारको चयन गर्न र त्यसमा अब्बल उम्मेदवारलाई मतदान गर्न सुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here