प्रस, वीरगंज, १५ वैशाख/
उम्मेदवारी दर्ता भएको पर्सा जिल्लाका चौधवटा पालिकामध्ये केहीमा मात्रै उम्मेदवारविरुद्ध दाबी विरोध परेको छ ।
जीराभवानी गाउँपालिकामा पाँचजना उम्मेदवारविरुद्ध दाबी विरोध परेको झविन्द्रप्रसाद पाण्डेले बताए । उनले पाँचवटै उजुरी नेकपा एमालेविरुद्ध परेको पुष्टि गरेको छ । यो गापामा नेकपा एमालेबाट प्रमुखमा दुईजनाको उम्मेदवारी परेको छ । एउटै पार्टीबाट दुईजनाको उम्मेदवारी पर्नु सम्भवतः पहिलो घटना हो ।
वैशाख १२ गते कुणाल महतोले डेढ बजे नेकपा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै उपाध्यक्षमा उषादेवी थरुनी र वडा नं ३ बाहेक चारवटा वडाका अध्यक्ष, सदस्य पदका उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका थिए । कुणालको उम्मेदवारी परेको तीन घण्टापछि निवर्तमान अध्यक्ष रामप्रीत महतोले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए । उनले अध्यक्ष पदमा आफ्नो मात्र उम्मेदवारी दर्ता गराएका थिए । बिहिवार निर्वाचन अधिकृतको कार्यालयमा छानविन छलफलपछि रामप्रित महतो थारुलाई आधिकारिक उमेदवार पुष्टि गरिएको छ । निर्वाचन अधिकृत पाण्डेले थारुलाई आधिकारिता प्रदान गरिएको र कुणालको उमेदवारी रद्द गरिएको बताए ।
यसैबीच, पोखरिया नगरपालिकामा कसैको पनि दाबी विरोध नपरेको निर्वाचन अधिकृत पद्मबहादुर कार्कीले बताए । उनले नगरप्रमुखमा १५ जना, उपप्रमुखमा सातजना गरी वडाध्यक्ष, सदस्य गरेर कुल २६४ जनाको उम्मेदवारी दर्ता भएको र कसैको पनि दाबी विरोध नपरेको पुष्टि गरे । पोखरिया नपामा १० वटा वडा छन् ।
पटेर्वासुगौलीमा पनि उम्मेदवार दर्ता गराएकाविरुद्ध दाबी विरोध परेको छैन । निर्वाचन अधिकृत गौतम भण्डारीले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी १६९ जनाको उम्मेदवारी परेको र तीमध्ये कसैकोविरुद्ध पनि दाबी विरोध नपरेको पुष्टि गरेका छन् ।
दाबी विरोध नपरे पनि चैत १७ गते उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने उनले बताए ।