पेरिस, १२ वैशाख/एएफपी
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन्। प्रमुख प्रतिस्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोह–याएका छन्।
उनले झन्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनुपरेको थियो।
दोस्रो चरणमा उनका प्रतिस्पर्धी पेनले ४१.४ प्रतिशत मत पाएकी थिइन्। यस अघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति म्याक्रोंले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिस्पर्धीले ३३.९ प्रतिशत मत पाएका थिए। राष्ट्रपति म्याक्रोंले कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरूको समेत राष्ट्रपति भएको उल्लेख गरेका छन्। उनको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ।
उनलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरूले फेरि निर्वाचित भएकोमा बधाई दिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि म्याक्रोंलाई बधाई दिएका छन्। फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करीब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान हो। रासस