वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हिजो र आज वैशाख ११ र १२ गते उम्मेदवारहरूले दलगत र स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका छन्। यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दुई दिनको समयसीमा तोकेको थियो। सोअनुरूप आइतवार साना दलहरू र स्वतन्त्र उम्मेदवारहरूको बढी सहभागिता थियो भने सोमवार ठूला राजनीतिक दलका उम्मेदवारहरूले दर्ता गराएका छन्। उम्मेदवारी दर्ता सकिए लगत्तै अहिले चुनावी चहलपहल बढेको महसूस गरिएको छ। उम्मेदवारी दर्ता हुनुअघि हिजोसम्म विभिन्न दल परित्याग गर्ने, विभिन्न दलमा प्रवेश गर्ने क्रम बढेको थियो। उम्मेदवारी दर्तापछि यो क्रममा अब विराम लाग्ला। किनभने अब दल बदल्नुको स्वार्थ उम्मेदवार हुन सकिन्छ भन्ने रहेन। यसअघि एउटा दलबाट उम्मेदवार बन्न नसकेकाहरू अन्य दलमा प्रवेश गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने प्रयासमा सक्रिय थिए। आजको दिनबाट दलबदलु प्रवृत्तिमा विराम लागेको छ, अपवादबाहेक। यसअघि को कुन दलमा थियो र कुन दलमा गयो अनि कुन दलमा छ भनेर हिसाबकिताब राख्न गा–हो भएको थियो, दलहरूलाई। बुर्लुक्क उफ्रेर उता जाने, बुर्लुक्क उफ्रेर यता आउने कार्य भइरहेको थियो। अब यो प्रक्रियामा विराम लागेको छ। तर उम्मेदवारी दर्तापछि राजनीतिक यात्रा तेज भएको छ। हिजोसम्म चुनावी प्रचारप्रसारमा वीरगंज महानगरपालिकामा एमालेका विजयकुमार सरावगी र जनता समाजवादी पार्टीका राजेशमान सिंहको मात्र चुनावी प्रचारप्रसार थियो। अन्य राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाएका थिएनन्।
राजनीतिक दलहरूले पर्सालगायतका जिल्लाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको नामावली तयार नगरेका होइनन्। तर यसपटक दुई दिन उम्मेदवारी दर्ताको समय तोकिएकोले दलहरूले उम्मेदवारी घोषणा गर्दा टिकटका आकाङ्क्षीमध्येबाट अन्य दलमा प्रवेश गरी उम्मेदवार हुने आशङ्का भएकोले पनि पहिलो दिनमा उम्मेदवारी दर्ता गराएनन् र दोस्रो दिनको प्रतीक्षा गरे। कुरो उही रह्यो, आज पनि टिकटका आकाङ्क्षीमध्येबाट टिकट नपाए थोरै मानिस अन्य दलमा टिकटको लागि पुगेका थिए। समग्रमा भन्नुपर्दा निर्वाचन आयोगले दुई दिने दर्ता अभियान अघि बढाएर सहजता बनाएको छ। पहिलो दिन साना दलहरू र स्वतन्त्रका उम्मेदवारहरूले मनोनयन दर्ता गरे भने दोस्रो दिन ठूला दलले उम्मेदवारी दर्ता गराए। यसले चुनावमा एक प्रकारको भीडलाई नियन्त्रण गर्ने कार्य भयो। तर यसबीचमा
चुनावी आचारसंहिताको पालना भने भएन। आचारसंहिता पालनाको विषयमा गत चुनावमा पनि पर्सा जिल्ला आरोपित नै रह्यो।
गत स्थानीय चुनावमा भएका आचारसंहिता उल्लङ्घनका तथ्याङ्क निर्वाचन कार्यालय पर्सामा उपलब्ध छैन। चुनाव सम्पन्न भयो, त्यो मात्र सफलताको कुरा भयो, निर्वाचन कार्यालयको लागि। अहिले पनि कसरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा कार्यालय क्रियाशील देखिएको छ। आयोगले निर्धारण गरेका आचारसंहिताको उम्मेदवारी दर्ता अवधिसम्ममा सबै दलले चरम उल्लङ्घन गरे। आगामी दिनमा अझ बढी उल्लङ्घन हुने कुरामा आजको उम्मेदवारी दर्ताको परिदृश्यले देखाएको छ। आचारसंहिता लागू गर्नु मात्र बहादुरीको कुरो होइन, सोको कार्यान्वयन गराउन नसक्नु कमजोरी हो।