प्रस, वीरगंज, ११ वैशाख/

स्थानीय तहको निर्वाचन अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा वैशाख ११ गते आइतवार उम्मेदवारी दर्ता भएको छ ।

यसपटक उम्मेदवारी दर्ता मिति दुई दिन राखिएकाले पहिलो दिन वीरगंज महानगरपालिकामा ठूला दलहरूले उम्मेदवारी दर्ता गराएका छैनन् । उम्मेदवार चयन प्रक्रिया ढिलो भएको कारण आज साँझसम्म उम्मेदवारको टुङ्गो लगाउने र भोलि उम्मेदवारी दर्ता गर्ने उनीहरूको तयारी छ । ठूला पार्टीहरूले टिकटबाट वञ्चित भएका आकाङ्क्षीहरू अन्यत्र नजाओस् भनेर पहिलो दिन उम्मेदवारी दर्ता गराएका छैनन् ।

आज पहिलो दिन वीरगंज महानगरपालिकामा स्वतन्त्र उम्मेदवार र साना दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । आज वीरगंज महानगरको प्रमुखमा ११ र उपप्रमुख पदमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । वीरगंज महानगरमा सत्तारूढ दलको गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले वडाध्यक्षहरूमा उम्मेदवारी दर्ता गराएको छ । उसले पाएको कोटामा परेका वडाध्यक्षहरूले आज उम्मेदवारी दर्ता गरेका हुन् ।

सोमवार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता तोकिएको छ । आज पनि सोही समयसम्म उम्मेदवारी दर्ता भएको हो । भोलि वीरगंज महानगरपालिकामा गठबन्धनबाट नगरप्रमुखमा राजेशमान सिंह र एमालेबाट विजयकुमार सरावगीले नगरप्रमुखमा उम्मेदवारी दर्ता गर्नेछन् । नेपाली काङ्ग्रेसले उपप्रमुखको टुङ्गो लगाएको छैन । उपप्रमुखमा भने एमालेसँग गठबन्धन गरेको लोसपा, पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दिने पक्कापक्की भएको छ ।

गठबन्धनबाट प्रमुख र उपप्रमुखमा दाबेदारी भएपनि वडाध्यक्षहरूको भने सबै दलले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीले वडाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवारी दिने बुझिएको छ । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा नेपालको प्रभाव पर्सा जिल्लामा त्यति सारो छैन । एमालेसँग गठबन्धन गरेका लोसपा र राप्रपा नेपालबाट पनि वडाध्यक्षमा उम्मेदवारी पर्ने सम्भावना छ ।

एमालेबाट २४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिनेछन् भने बाँकी लोसपा र राप्रपा नेपालबाट आठजनाले उम्मेदवारी दिने गरी उम्मेदवारको चयन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here