प्रस, वीरगंज, ११ वैशाख/

वीरगंजका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई औलो (मलेरिया) रोगसम्बन्धी  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा नेपाल चिकित्सक सङ्घ नारायणी शाखा, वीरगंजको सभाहलमा भएको कार्यक्रममा डा उदयनारायण सिंहले औलो रोग सर्ने विधि, रोग परीक्षणको प्रक्रिया, रोगका लक्षण, उपचार र रोकथामका उपायबारेमा जानकारी गराएका थिए ।

गत आव २०७७/७८ मा पर्सामा औलोरोगीको सङ्ख्या शून्य थियो तर चालू आव २०७८/७९ मा एकजना औलोरोगी भेटिएपछि रोगको प्रकोप बढ्न सक्ने उनले बताए ।

सन् २०२५ सम्म विश्व स्वास्थ्य सङ्गठनले नेपालबाट औलो रोग उन्मूलन गर्ने लक्ष्य लिए तापनि पछिल्लो वर्ष यो रोग भेटिनु चिन्ताको विषय भएको डा सिंहले बताए । 

कुनै पनि ज्वरोका बिरामी भेट्ने बित्तिकै औलो भनेर केही चिकित्सक र स्वास्थ्यकर्मीले औषधी उपचार गर्ने गरेकाले यस्तो उपचार विधि नअपनाउन उनले सुझाव दिए । लामखुटेले मानवशरीरमा सार्ने प्लाज्मोडियम प्रजातिको कीटाणुबाट औलो रोग लाग्ने उनले बताए । यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जन्डिसको लक्षण देखिने डा सिंहले बताए ।

औलो रोग लाग्न नदिन घरवरिपरि लामखुट्टे नियन्त्रणको साथै सरसफाइमा विशेष ध्यान दिनुपर्ने, सामाजिकरूपमा जनचेतना जगाउनुपर्ने कार्यक्रममा सहभागीहरूलाई बताइएको थियो ।

स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत जयमोद ठाकुरले सहजीकरण गरेको कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here