प्रस, परवानीपुर, ९ वैशाख/

यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मधेसको एकमात्र महानगर वीरगंजमा चुनावको चर्चा तीव्र भएको छ । गठबन्धनको केन्द्रीय कार्यदलले छवटा महानगरको भागबन्डा मिलाएर यसअघि जितेको जसपाको पोल्टामा वीरगंज पारेपछि झनै चुनावी रौनक बढेको छ । गठबन्धनबाट वीरगंज महानगर प्रमुखमा जसपा र उपप्रमुख काङ्ग्रेसको भागमा परेसँगै गठबन्धनकै सबै दलका नेता, कार्यकर्ताहरूले गठबन्धनका साझा उम्मेदवारलाई मत दिन्छन् कि दिंदैनन् भन्ने चर्चा अहिले तीव्र भएको छ ।

वीरगंजको नगरप्रमुखका लागि पर्सा काङ्ग्रेसले उम्मेदवार उठाउने आधिकारिक निर्णय गरिसकेको अवस्थामा नगरप्रमुखको पद जसपाको पोल्टामा गएपछि यसबारेमा शङ्का– उपशङ्काहरू उठ्न थालेका छन् । गठबन्धनको केन्द्रीय निर्णयबाट काङ्ग्रेसका नेता, कार्यकर्ताहरू असन्तुष्ट रहेको अवस्थामा सबैले गठबन्धनको निर्णयलाई सघाएर स्थानीय चुनवामा निर्णय कार्यान्वयन गर्छन् कि गर्दैनन् भन्ने विषयले पनि चर्चा पाएको छ ।

जसपाका नेता एवं सङ्घीय सांसद प्रदीप यादव प्रतिगामी शक्ति एमालेविरुद्ध गठबन्धनले गरेको निर्णय स्वागतयोग्य भएको बताउँछन् ।

आगामी चुनावमा गठबन्धनका सबै दलले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । वीरगंजको मात्र होइन, गठबन्धनले देशभरिका महानगरमा प्रमुख र उपप्रमुखमा तालमेल गरी उम्मेदवार अघि सारिसकेको उनले बताए । मलाई लाग्दैन हामीसँग गठबन्धन दलका नेता, कार्यकर्ताहरूले घात गर्छन्, यादवले भने । उनले गठबन्धनको एउटै लक्ष्य एमालेलाई पराजित गर्नुरहेको बताए ।

नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले गठबन्धनको निर्णयले वीरगंजमा काङ्ग्रेसी नेता निराश भए तापनि निर्णयलाई मान्नुबाहेक अन्य विकल्प नभएको बताए । काङ्ग्रेसले जित्ने आधार तय गरिसकेको थियो, तर बीचमैं गठबन्धनको निर्णय आयो, वीरगंज जसपाको भागमा परेको छ, उनले भने, निर्णयबाट पछि हट्न मिल्दैन, तर अवस्था अहसज छ, विषम परिस्थितिलाई सहज बनाउनु नै राजनीति हो, हामीले त्यही गर्छौं ।

गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका नेता रहबर अन्सारीले गठबन्धनको संयन्त्रबाट केन्द्रीय निर्णय भएकोले आफूहरू मान्न तयार रहेको बताए । उनले गठबन्धनको निर्णय अनुसार नगरप्रमुख र उपप्रमुखमा तालमेल भइसकेको र बाँकी वडास्तरमा पनि तालमेल गरी उम्मेदवार अघि सार्ने गृहकार्य भइरहेको बताए ।

नेकपा एकीकृत समाजवादी पार्टी, पर्साका अध्यक्ष बालगोपाल थापाले गठबन्धनको निर्णय स्वागतयोग्य भएको बताए । उनले एमालेसँग मुख्य प्रतिस्पर्धा भइरहेकोले गठबन्धनको निर्णय नीतिगतरूपमा ठीक लागेको चर्चा गर्दै वडामा पनि एमालेलाई कडा टक्कर दिन तालमेल गरी अघि बढ्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here