- राजेश मिश्र
उम्मेदवार : गोड लागतानी काकी (चरण स्पर्श गर्दछु, काकी) ।
मतदाता : खुश रह बबुवा (खुशी रहनु बाबू) ।
उम्मेदवार : तबियत कइसन बा (स्वास्थ्य कस्तो छ) ?
मतदाता : ठीक नइखे, बबुवा । कय दिन से अस्पताल में जातानी । जइसे तइसे काल्हु डाक्टर साहेब से भेट भइल । चेकजाँच त भइल, मने दवाई ना मिलल । कहलख लोग कि दवाई ओरागइल बा । (ठीक छैन बाबू, कति दिनदेखि अस्पताल धाइरहेकी छु । बल्ल हिजो डाक्टरसँग भेट भयो । चेकजाँच त भयो तर औषधि पाइनँ । भनियो औषधि सकिसकेको छ ।)
उम्मेदवार : काकी, गहुँ के फसल बढिया भइल बा नु (काकी, गहुँबाली त सप्रेको छ) ?
मतदाता : जेतना होखे के चाहिं ओतना नइखे भइल । काहे कि समय पर खाद आ पानी ना मिलल । ना त दोबरी गहुँ भइल रहित । (जति हुनुपथ्र्याे, त्यति भएको छैन । किनभने समयमा मल र पानी पाइएन । नत्र दोब्बर उब्जनी हुन्थ्यो ।)
उम्मेदवार : बडका बबुवा पैसा देवे ला नु (जेठो छोरोले पैसा दिन्छ नि) १
मतदाता : छ सय बनिहारी कमाए वाला लइका कथि–कथि करो, बबुवा ? (छ सय ज्याला कमाउने छोरोले के–के गरोस्, बाबू) ?
उम्मेदवार : आ छोटका बबुवा शहर में रहेला, ऊ त पैसा भेजते होइ (तर कान्छो छोरो त शहरमा बस्छ, उसले त पैसा पठाउँदो होला) ?
मतदाता : ऊ का नोकरी करता जे पैसा भेजी ? बहुत महँगा पढाइ बा, ऊ त ट्यूशन पढा के बेचारा अपने पढता । (के नोेकरी गर्दैछ र पैसा पठाओस् ?, शिक्षा कम महँगो छ ? ऊ त बिचरा आफैं ट्यूशन पढाएर पढिरहेको छ ) ।
उम्मेदवार : बबी के बियाह हो गइल
(छोरीको बिहे भइसक्यो) ?
मतदाता ः ठीक–ठाक हो जाता, मने दहेज पर आ के बात अटक जाता । पाँच साल से इहे हो रहल बा । (सबै कुरा टुङ्गिन्छ, तर दाइजोको मामिलामा कुरा अड्किन्छ । पाँच वर्षदेखि यस्तै भइरहेको छ ।)
उपरोक्त संवादमा मतको अपेक्षा सहित भ्याएसम्म उम्मेदवारले मतदातासँग अपनत्व देखाएका छन् । काकीको खुट्टा समातेर मतको लागि अनुनय–विनय गर्दै आफू नै सबैभन्दा स्वच्छ र उपयुक्त उम्मेदवार रहेको कुरा स्वघोषणा गर्न बिर्सेनन् । अन्ततः मतको स्वार्थमा लिप्त उम्मेदवार घरदैलो कार्यक्रम अनुसार पुनः अर्को मतदाताको ढोका ढक्ढकाउन हिंड्छन् ।
मतदाता र उम्मेदवारबीचको उपरोक्त संवाद सामान्य र पारिवारिक भलाकुसारीजस्तो लाग्छ । यद्यपि उपरोक्त संवादप्रति एकाग्र हुने हो भने मतदाताको प्रत्येक शब्द ह्दयस्पर्शी छ । मतदाताको अभिव्यक्ति पूर्णरूपमा सामाजिक सरोकारको विषय अन्तर्गत पर्दछ । मतदाताको भलाकुसारीमा क्रमशः स्वास्थ्य, कृषि, शिक्षा र रोजगारका साथै दाइजोजस्तो सामाजिक विकृति प्रतिविम्बित हुन्छ । जनप्रतिनिधिहरूले सत्तामा पुगेपछि आम सरोकारका विषय पूरा गर्नुपर्ने दायित्व नितान्त उनीहरूकै हो । यद्यपि सत्तामा विराजमान भइसकेपछि मतदाताप्रति दायित्व बुझाउने शून्य प्रयास पनि गर्न चाहँदैनन् । त्यसकारण आमजनतालाई त्यस्ता विषय व्यक्तिगत समास्याजस्तै लाग्छ । व्यक्तिगत र समाजिक समस्या छुट्याउन नसकेर जनप्रतिनिधिहरूसँग प्रायःजसो मतदाताले मनको कुरा अभिव्यक्त गर्न सक्दैन । चुनावताका जसरी विकासको लहर तरङ्गित गरिन्छ, त्यसैगरी सत्तामा पुगेपछि वफादार र जिम्मेवार भइ कार्य सम्पादन तर्फ अग्रसर भए आम नागरिकको सपना सार्थक नहुने कुरै थिएन । जनप्रतिनिधिहरू कामै गर्दैनन् भन्ने होइन, तर थोरै गरेर बढी गफबाजी गर्ने चलन बढ्दो छ ।
उपरोक्त संवादले सामाजिक सरोकारको क्षेत्रमा विकास र सुधारको आवश्यकता टड्कारो रहेको कुरा स्पष्ट हुन्छ । जस्तै उदाहरणको लागि कुनै नागरिकले खाना पकाउने एलपिजी ग्याँस सिलिन्डरको मूल्य धेरै महँगो भयो भनेपछि उक्त समस्या व्यक्तिगत हो कि सामाजिक ? यस्तो कुरा मतदाताहरूले जान्न जरूरी छ । किसानले समयमा मल पाउँदैनन् । विद्यार्थीहरू शिक्षार्जनका लागि र युवाहरू रोजगारका लागि परदेशमा निर्भर छन् । कानून हुँदाहुँदै पनि दाइजो प्रथा उन्मूलन हुन सकिरहेको छैन । स्वास्थ्य उपचारको कुव्यवस्था वर्णन गरेर साध्य छैन । आफूलाई सत्तामा स्थापित गर्न मरिहत्ते गर्ने उम्मेदवारहरू आफैंले भनेको कुरामा किन अडिग रहँदैनन् ? यसो त स्वास्थ्य, सडक, शिक्षा, रोजगार तथा कृषि आदि क्षेत्रको सुधार गर्ने वक्तव्य पुरानै राजनीतिक थेगो अहिलेसम्म दोहरिइरहेको छ । अहिले उम्मेदवारहरू यस्तै विषयहरू लिएर मतदाताको घर–आँगन पुग्ने क्रम जारी छ ।
अहिले उपरोक्त संवाद जस्तै मतदाता र उम्मेदवारबीच अपनत्व अनुभूति हुने संवाद केही महीनादेखि जारी छ । भलाकुसारी गर्ने र अपनत्व बढाउने मानौं होड चलिरहेको छ । अहिले उम्मेदवारसँग मतदाताले गरिरहेका कुराहरू जति गम्भीरता र चासोका साथ सुनिंदैछ, सत्तामा पुगेपिछ पनि यसैगरी कर्तव्य निर्वाह गर्ने हो भने विकासको परिकल्पना प्रत्येक नागरिकले अनुभूत गर्न सक्थ्यो । तर सामान्य नागरिकको असामान्य अभिव्यक्तिलाई स्वार्थ अनुकूल महŒवको तराजुमा मापन गर्ने संस्कार बढ्दो छ । त्यहीं कुरा टाठाबाठाको मुखबाट प्रस्फुटित भयो भने भाइरल हुन बेर लाग्दैन ।
आम नागरिक र नामधारी व्यक्तिले गर्ने समान कर्तव्यलाई हेर्ने दृष्टिकोणमाथि एउटा उदाहरण यस्तो छ– एकजना नेताको घरमा केही कार्यकर्ता उपस्थित थिए । सोही भीडमा एकाध सर्वसाधारण मानिस आ–आफ्नो समस्या लिएर आएका थिए । कुराकानीको क्रम चलिरहेको थियो । सोही बेला एकजनाको पेटमा जम्मा भएको ग्याँस आवाजसहित निस्क्यो । कसले ग¥यो भन्ने कुरा उपस्थित सबैजनालाई थाहा भयो । चर्को ब्याजदरमा कपाली कागज गराएका एकजनाविरुद्ध गुनासो लिएर नेता कहाँ आइपुगेका ती सर्वसाधारण मानिसलाई हदैसम्म लज्जाबोध गराइयो । नेताले सभामा यस्तो हर्कत गर्नुहुँदैन भनेपछि कार्यकर्ताहरू नेता भन्दा बढी उग्र भए । नेताको अभिव्यक्तिलाई सही ठहर गर्ने र नेताको नजरमा हिरो बन्ने होड चल्यो । नानाथरी कुरा सुनाइयो । भ्याएसम्म दोष लगाइयो ।
माथि उल्लिखित घटनाको केही महीनापश्चात् एक गाउँमा पञ्चायती बसेको थियो । मुख्य पञ्चायतीकर्ताको रूपमा सोही नेतालाई बोलाइएको थियो । एक वैवाहिक भोजमा सहभागी भएर नेता पञ्चायतीस्थलमा आइपुगे । दुवै पक्षको कुरा सुन्ने क्रम जारी भयो । ती नेताको हाउभाउले उनी बेचैनजस्तो लागिरहेका थिए । शायद उनको पेटमा ग्याँस जम्मा भइसकेको थियो । पल्थी मारेर त्रिपालमा बसिरहेका ती नेताले शरीरलाई एकातर्फ झुकाए । चारैतिर हेरे । त्यसपछि आवाजसहित वायु निस्पादन गरे । दुर्गन्ध फैलियो । नेता अहिले हलुका महसूस गरिरहेका थिए । नेताले हाँस्दै प्राकृतिक क्रिया हो भने । केही बेर पञ्चायतको क्रमभङ्ग भयो । नेताको कुरामा सहमति जनाउँदै कार्यकर्ताहरूले एक स्वरमा भन्न थाले– “सही में नेताजी, आएगा पवन तो रोकेगा कवन ?” मानौं संसारका अन्य मानिसलाई वायु प्राकृतिक क्रिया हो भन्ने कुरा थाहै रहेन छ । यस प्रसङ्गबाट के सिद्ध हुन्छ ?
चुनाव नसकुन्जेल उम्मेदवारहरूको नजरमा मतदाताहरू शक्तिशाली हुन्छन् । उम्मेदवारहरूले निर्वाचनको बेला प्रत्येक मतदाताको अनुहारमा भगवान्को प्रतिविम्ब महसूस गर्दछन् । प्रत्येक मतदाताको कुरा बकुलाले माछामाथि ध्यान लगाएजस्तै ध्यानपूर्वक सुन्छन् । मतदाताको दुःखलाई आफ्नै दुःख बुझ्छन् । तर निस्स्वार्थ भाव सधैंका लागि कायम रहन्छ भने मात्र छलकपट मानिंदैन । उम्मेदवारको हात काँधमा पर्नेबित्तिकै मख्ख हुनुपर्ने आवश्यकता छैन । निर्वाचन भविष्य निर्माण गर्ने संवैधानिक संसाधन हो । मतदाता निर्वाचनका मुख्य गहना हुन् । सबै मतदाता अनिवार्यरूपमा मतदानमा सहभागी हुनुपर्छ । मतदाताहरूले म्यादी उम्मेदवारको पहिचान गर्नुपर्छ । विकल्पमध्ये सबैभन्दा कम खराबलाई छनोट गर्नुपर्छ ।