प्रस, परवानीपुर, ५ वैशाख/
कुनै पनि स्वादिष्ट परिकार पकाउन गरम मसलाको आवश्यकता पर्दछ । गरम मसला भनेको अनुपात अनुसार १३ वटा जडीबुटीको समिश्रण भएको मसलाहरूको समूह हो ।
जस्तै दालचिनी, सुकमेल, ल्वाङ, जावित्री, मरिच, सेतो मरिच, सहजीरा, कबाबचिनी, जायफल, अदुवासोठ, पीपल, कालो अलैंची, स्टार फल, तेजपत्ता मिसाएर गरम मसलाको प्याकेट तयार गरिन्छ । भारत, चीन तथा तेस्रो मुलुकबाट आयातित ती मसलाहरूलाई प्याकिङ गरेर नेपालका विभिन्न शहरमा पठाइन्छ ।
विगत एक वर्षपछि गरम मसलाको मूल्य अकासिंदै गएको व्यापारीहरूको भनाइ छ । ते¥हवटा मसलामध्ये आठवटा मसलाको मूल्य बढेको छ भने पाँचवटाको मूल्य घटेको छ । सुकमेल प्रतिकिलो पहिले रु छ हजार पथ्र्यो भने अहिले दुई हजार ५०० पर्छ । सुकमेलको मूल्य घट्दा गरम मसला बनाउने व्यवसायीहरूको हकमा केही राहत थपिए पनि मूल्य दिन प्रतिदिन बढिरहेको छ । अहिले वीरगंजमा तयार हुने गरम मसला गुणस्तर अनुसार थोकमा रु छ सयदेखि एक हजार ६०० सम्ममा पाइन्छ ।
मधेस प्रदेशको जनकपुर, बर्दिबास र गौर तथा अन्य शहरहरू हेटौंडा, चितवन, काठमाडौं, पोखरालगायतका शहरहरूमा वीरगंजबाट पठाइएको गरम मसला बिक्री वितरण हुन्छ । वीरगंजमा हाल पाँच दर्जनको हाराहारीमा गरम मसला प्याकिङ गर्ने व्यवसायीहरू छन् ।
वीरगंजको आदर्शनगर, बिर्ता, गहवा क्षेत्रमा गरम मसला प्याकिङ हुने गरेको छ ।
गरम मसलाको एक किलोको प्याकेटमा ३० प्रतिशत दालचिनी र ७० प्रतिशत अन्य मसला प्याकिङ गरिन्छ । एउटा व्यवसायीले रु २० लाखको पूँजीमा कारोबार शुरू गर्न सक्ने भएकोले यस व्यवसायप्रति नयाँ लगानीकर्ताको पनि आकर्षण देखिएको छ । तर यो व्यवसायमा ६/६ महीनासम्म उधारोमा माल पठाउनुपर्ने र पैसा नआएपछि व्यापारमा घाटा लाग्ने जस्ता जोखिम र चुनौतीहरू प्रशस्तै रहेको व्यवसायीहरूको ठम्याइ छ ।
गरम मसलामा दालचिनीको मूल्य अहिले प्रतिकिलो रु साढे चार सय, ल्वाङ प्रतिकिलो रु एक हजार ४००, जावित्री प्रतिकिलो रु तीन हजार ६००, मरीच रु ९००, सेतो मरीच रु एक हजार ८००, सहजीरा रु ९००, कबाबचिनी रु दुई हजार ८००, जायफल रु एक हजार ४००, अदुवासोठ रु ४००, पीपल रु एक हजारर ३००, अलैंची रु एक हजार २००, स्टारफल रु एक हजार ७०० मा थोक विक्रेताबाट खरीद गरी माल प्याकिङ गरिन्छ । १३ वटा मसलाहरूमध्ये आठवटाको मूल्य करीब १० देखि २० प्रतिशतसम्म बढेको व्यवसायीहरूले बताए ।