• राजेन्द्रप्रसाद कोइराला

मनोविज्ञानले मानव व्यवहार र मानसिक प्रक्रियाहरूको वैज्ञानिक अध्ययनलाई बुझाउँछ । यो, व्यक्तिले कसरी सोच्दछ र दिमागले कसरी काम गर्दछ भन्ने कुराको वरिपरि घुम्दछ । यसरी, यसले व्यक्तिको व्यवहारलाई प्रतिविम्बित गर्दछ ।

 सङ्गठनात्मक मनोविज्ञानले  व्यक्तिलाई मात्र प्राथमिकता दिंदैन, विशेष कामको लागि सही व्यक्तिको छनोट, कार्य सम्पादनमा मनोवृत्तिको प्रभाव र समूहमा मानिसहरूले काम गर्ने तरीका सहित कार्यालयका विभिन्न  वातावरणका साथै अरू धेरै पक्षको अध्ययन गरी कम्पनीका कमीकमजोरी पत्ता लगाई सहजीकरण गर्न ठूलो भूमिका खेल्छ ।

सङ्गठनात्मक मनोविज्ञानले व्यक्तिव्यक्तिबीच पारस्परिक प्रक्रियामा ध्यान केन्द्रित गर्दछ । सङ्गठनात्मक मनोविज्ञान भनेको व्यक्तिलाई कसरी रोजगार छनोट र सङ्गठनहरूमा प्रवेश गराउने भन्ने अध्ययन हो । उनीहरू कसरी पुरस्कृत र उत्प्रेरित हुन्छन् सङ्गठनहरूलाई औपचारिक र अनौपचारिकरूपमा समूह, खण्ड र टोलीहरूमा कसरी नियन्त्रण गरिन्छ र रोजगारदाताले कसरी विकास र कार्य गर्दछ भन्ने विश्लेषण गर्दछ ।

यसले आफ्नो सङ्गठनमा अरूको वास्तविक, कल्पना वा अप्रत्यक्ष व्यवहारद्वारा सबै कर्मचारीको विचार, भावना र व्यवहारलाई कसरी प्रभाव पार्छ भनेर पनि जाँच गर्दछ । दोस्रो विश्वयुद्ध पछि कार्य मनोविज्ञानलाई दुई सरल र अविस्मरणीय कार्यको सन्दर्भमा कल्पना गरिएको थियो–‘व्यक्तिलाई काममा योग्य बनाउने’ र ‘व्यक्तिलाई कामको अवसर दिने’ । सङ्गठनात्मक मनोविज्ञानले कुनै पनि संस्थामा कामदारहरूलाई उनीहरूको पूर्ण क्षमतामा सञ्चालन गर्न सक्षम वातावरण प्रदान गर्दछ । यो एउटा व्यक्तिको उत्पादन निर्धारण गर्ने योग्यता र सीप पार गर्ने पक्षको अनुभूतिद्वारा सञ्चालित हुन्छ । कार्यस्थलमा प्रभावकारितालाई बढावा दिन यसले ठूलो भूमिका खेल्दछ ।

यसको प्रभावकारिताको लागि  धेरै तरीकाहरू छन् जसको माध्यमबाट सङ्गठनात्मक मनोविज्ञानलाई सङ्गठनमा उत्पादकता बढाउने अन्तिम लक्ष्यको लागि प्रयोग गर्न सकिन्छ । सङ्कलन र विश्लेषण गरिएको डाटाबाट व्युत्पन्न र त्यसमा आधारित रही नीति तर्जुमा गर्न, प्रक्रिया सिर्जना गर्न र विकासलाई बढावा दिने संस्थागत संरचनाहरूमा अनुसन्धान र अध्ययन गरी यसको प्रयोगद्वारा संस्थाको उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।

सङ्गठनात्मक मनोविज्ञान आधुनिक कम्पनीहरूको लागि महŒवपूर्ण हुँदै गइरहेको छ, जसले कर्मचारीहरूलाई कसरी काममा खुशी बनाउन सकिन्छ भनी जान्नका लागि प्रयोग गरिन्छ । कम्पनीहरू उत्पादकत्व र राजस्वबारे चिन्तित हुन्छन् । कम्पनीहरू कम समयमा ज्यादा उत्पादन गर्ने चाहना राख्दछन् । राम्रो कर्मचारी कुनै पनि कम्पनीको लागि ज्यादै आवश्यक हुन्छ । त्यसैले सबैभन्दा राम्रो उम्मेदवारलाई काममा राख्नु हरेक व्यवसायको लागि लाभदायक हुन्छ । सङ्गठनात्मक मनोविज्ञानले कर्मचारीको दृष्टिकोण, व्यवहFर र उनीहरूको चाहना पत्ता लगाउन ठूलो भूमिका खेल्दछ ।

सङ्गठनात्मक मनोविज्ञान के हो ?

जेक्स ७ ब्रिट (२००८) अनुसार सङ्गठनात्मक मनोविज्ञान औपचारिक सङ्गठनात्मक सेटिङहरूमा व्यक्तिगत र समूहको व्यवहारको वैज्ञानिक अध्ययन हो । प्रत्येक कम्पनीले एउटा निश्चित हदसम्म सङ्गठनात्मक मनोविज्ञान प्रयोग गर्दछ । केही कम्पनीले विश्वास गर्छन् कि कर्मचारीको प्रसन्नता र भलाइले  कम्पनीलाई फाइदा पु¥याउँछ, राम्रो कामको वातावरणलाई बढावा दिन्छ र कर्मचारीहरूलाई नयाँ विचार व्यक्त गर्न आमन्त्रित गर्दछ ।

बृहत्रूपमा भन्नुपर्दा सङ्गठनात्मक मनोविज्ञान अध्ययन र अनुसन्धानको क्षेत्र हो, जसले कार्यालयस्थलमा  मनोवैज्ञानिक सिद्धान्त र विधिहरू विकसित, लागू र अभ्यास गरिन्छ । यसले मानिसको व्यवहार र मनोवृत्तिको विभिन्न पक्षसँग व्यवहार गर्दछ ।

सङ्गठनात्मक मनोवैज्ञानिकहरूले कार्यस्थलमा कर्मचारीहरूको व्यवहारमा ध्यान केन्द्रित गर्छन् । उनीहरू कार्य सम्पादन, सञ्चार, व्यावसायिक सन्तुष्टि र सुरक्षासहित समग्र कार्यको  वातावरण सुधार गर्न मनोवैज्ञानिक सिद्धान्त र अनुसन्धान विधि लागू गर्छन् ।

सङ्गठनात्मक मनोविज्ञानको क्षेत्रको विकास ः

औद्योगिक–सङ्गठनात्मक मनोविज्ञान संयुक्त राज्य अमेरिकामा १९०० मा मनोवैज्ञानिक ह्युगो मुन्स्टरबर्ग र वाल्टर डिल स्कटको कामको माध्यमबाट उत्पन्न भएको थियो । औद्योगिक–सङ्गठनात्मक मनोविज्ञानको संस्थापकको श्रेय वाल्टर डिल स्कटलाई दिइन्छ, तर बीसौं शताब्दीको अन्त्यमा, औद्योगिक मनोविज्ञान वैज्ञानिकरूपमा देखा प¥यो । मनोविज्ञानको यो भागले कार्य व्यवहारबारे सैद्धान्तिक र व्यावहारिक प्रश्नहरूमा वैज्ञानिक विधि लागू गर्दै कर्मचारीको व्यावहारिक र मानसिक स्थितिबारे अध्ययन गर्दछ ।

अर्को मुख्य व्यक्तित्व जसको संलग्नता अप्रत्यक्ष थियो, एक औद्योगिक इन्जिनीयर, फ्रेडरिक डब्ल्यू टेलर हुन् । मुन्स्टरबर्ग र स्कटले व्यक्तिमा ध्यान केन्द्रित गरे भने टेलरले आफ्नो वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरू (न्युयोर्क– १९११) सँग सङ्गठनमा ध्यान केन्द्रित गरे । तथापि टेलरका विचारहरूलाई त्यस समयमा अस्वीकार गरियो ।

१९३० ले महामन्दी ल्यायो र यसको साथमा सामाजिक अवरोध (बेरोजगारी) सृजना ग¥यो । त्यसपछि यस क्षेत्रमा कर्मचारीको मनोवैज्ञानिक अध्ययन आवश्यक भएको महसूस गरियो । अर्थात् अध्ययनका नयाँ विषय प्रदान ग¥यो ।

विभिन्न वैज्ञानिक अध्ययनले  कार्यस्थलमा सामाजिक सम्बन्ध र कर्मचारी मनोवृत्तिको महŒवलाई उजागर ग¥यो, अनुसन्धान र व्यवस्थापनमा मानव सम्बन्धको अपरिहार्यता बोध भयो ।  कार्यस्थलका मुद्दाहरूमा कामदारको  मनोवृत्ति सर्वेक्षण र संरचित अन्तर्वार्तालाई अनुसन्धान उपकरणको रूपमा प्रयोगमा ल्याउन थालियो  । यसरी विभिन्न चरण पार गर्दै सङ्गठनात्मक मनोविज्ञानको महŒव बुझ्दै जान थालियो । आज विश्वका ठूल्ठूला उद्योगहरूमा यसको अध्ययन अपरिहार्य हुन गएको छ । तथापि नेपालमा अझै पनि यसको आवश्यकता अनुभूतसम्म गरिएको छैन । विश्वका सबैभन्दा ठूला कम्पनीहरू–जस्तै फोर्ड मोटर कम्पनी, डिज्ने वल्र्ड, पेप्सी, टोयोटा, जेरोक्स कोओपरेशन, युनाइटेड एरलाइन्सका साथै विश्वका सबै ठूला मोबाइल कम्पनीहरूले सङ्गठनात्मक मनोविज्ञानको महŒव बुझेर आफूलाई त्यस अनुकूल बनाएका छन् ।  औद्योगिक र सङ्गठनात्मक मनोवैज्ञानिकहरू सामान्यतया सङ्गठनहरूको लागि प्रदर्शन–मूल्याङ्कन प्रणाली डिजाइन गर्न संलग्न हुन्छन् । यी प्रणाली प्रत्येक कर्मचारीले सन्तोषजनक ढङ्गले प्रदर्शन गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न डिजाइन गरिएको हुन्छ  । औद्योगिक र सङ्गठनात्मक मनोवैज्ञानिकहरूले अध्ययन, अनुसन्धान, र कार्य मूल्याङ्कनलाई सकेसम्म निष्पक्ष र सकारात्मक बनाउने तरीका लागू गर्छन् र कार्य सम्पादन मूल्याङ्कनमा संलग्न व्यक्ति घटाउन पनि काम गर्छन् । उचित मूल्याङ्कनले कर्मचारीहरूलाई काम राम्ररी गर्न हौसला दिन्छ, प्रतिभा प्रस्फुटनका लागि सम्भावित सुधार गर्दछ, निष्पक्षता कायम राख्छ र कम्पनी र व्यक्तिगत प्रशिक्षण आवश्यकताको पहिचान गर्दछ ।

यसलाई ध्यानमा राख्दै अधिकांश औद्योगिक–सङ्गठनात्मक मनोवैज्ञानिकहरू प्रमुख ६ विषय–क्षेत्रमध्ये एकमा काम गर्छन् ।

१. प्रशिक्षण र विकास, २. कर्मचारी छनोट, ३. एर्गोनोमिक्सः (श्रम दक्षता शास्त्र), ४. प्रदर्शन व्यवस्थापन, ५. काम र जीवनको सन्तुलन, ६. सङ्गठनात्मक विकास ।

विश्वव्यापीकरण आजको कार्य वातावरणमा भइरहेको सबैभन्दा महŒवपूर्ण परिवर्तन हो । यसले देशहरूबीच आर्थिक अन्तर्निर्भरतालाई जनाउँछ, जुन वस्तु र सेवा, पूँजी, ज्ञान, र मानिसहरूको अन्तर्राष्ट्रिय प्रवाहमार्फत विकसित हुन्छ । विश्वव्यापीकरणको यो युगमा  सङ्गठनात्मक र मानवीय पक्षमा झन् बढी ध्यान दिनुपरेकोले औद्योगिक–सङ्गठनात्मक मनोवैज्ञानिक अध्ययन र अनुसन्धानको विषय झन् बढी व्यापक हुँदै गइरहेको छ ।

भूमण्डलीकरणका शक्तिहरूले हामी सबैलाई अलिकति नजीक ल्याएको छ । दैनिक सीमा पार गर्ने वस्तु, सेवा, डाटा र ज्ञानको मात्रा दिनानुदिन आश्चर्यजनक रूपले अघि बढिरहेको छ ।  हामीले सेवा गर्ने र अध्ययन गर्ने संस्थाहरू धेरै भएका छन्, अन्तर्राष्ट्रियरूपमैं । तर हामीले अझै  गति लिन सकेका छैनौं ।

हामीले औद्योगिक–सङ्गठनात्मक मनोविज्ञानको महŒव अझै बुझ्न सकेका छैनौं । धेरै स्नातकोत्तर प्रशिक्षण कार्यक्रमहरू व्यवस्थितरूपमा विकसित हुन सकेका छैनन् जसले आफ्ना विद्यार्थीहरूलाई सफल अनुसन्धान र परामर्श करियरको लागि तयार पार्न सकोस् ।

अन्त्यमा सङ्गठनात्मक मनोविज्ञानको महŒव अङ्गीकार गरी ठूल्ठूला उद्योग, कलकारखाना, अस्पताल, युनिभर्सिटी तथा सबै ठूला स्कूल र कलेजले यसको अपरिहार्यता मनन गर्नु टडकारो आवश्यकता हो भन्दा अत्युक्ति नहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here