राजेश मिश्र, वीरगंज, २ वैशाख/
भारतको उत्तर प्रदेशस्थित काशी हिन्दू विश्वविद्यालमा स्नातकोत्तर तथा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूले दीनदुःखीहरूको सेवा गरेर नयाँ वर्ष मनाएका छन् ।
विश्वविद्यालयस्थित विश्वनाथ मन्दिरको प्राङ्गणमा शर्बत तथा फलफूल बाँडेर नयाँ वर्ष मनाइएको इनरवा सुनसरीका किशोर भट्टराईले बताए ।
स्नातकोत्तर अध्यनरत पर्सा, पोखरिया–७ रानीगंजका विविक चौबेले भने–“हामी विद्यार्थीहरूसँग सीमित पैसा हुन्छ । यद्यपि एक छाकको पैसा बचत गरेर भएपनि नयाँ वर्षको अवसरमा निमुखाहरूको सेवा गर्ने भावना मनमा थियो र सोही बमोजिम हामीले योजना बनायौं ।”
स्नातक तहमा अध्यनरत जावलाखेल, ललितपुर निवासी सुधाकर खत्रीले भने– “संसारमा थुप्रै मानिस निश्शुल्क भोजन गराउने कार्यमा समर्पित छन् । त्यस्ता परोपकारी व्यक्तित्वहरूबाट हामी पनि प्रभावित छौं । त्यस कारण नयाँ वर्ष कसरी मनाउने भन्नेबारे हामीले दुर्ई दिन अघि छलफल गरेका थियौं ।”
राजविराजका हर्ष सिंहले भने– “नववर्ष २०७९ को पावन अवसरमा दीनदुःखीहरूका साथमा नयाँ वर्ष मनाइएको यो क्षण कहिल्यै बिर्सन सकिंदैन । फरक तरीकाले नयाँ वर्ष मनाउनुका साथै हामीलाई आगामी दिनमा पनि पुण्य कार्यमा आबद्ध हुने उत्साह प्राप्त भएको छ ।”
कोरोनाकालताका ‘हन्ड्रेड ग्रुप’मा आबद्ध वीरगंजका विशेष साह स्नातक तहमा अध्यनरत छन् । उनले भने– “चाडबाड वा विपरीत परिस्थितिमा आफूले मात्र रमाइलो गरेर हुँदैन । मानवताको नाताले दीनदुःखीको सहायता गर्नुपर्छ । सामथ्र्य अनुसार आम्दनीको केही प्रतिशत दीनदुःखीका लागि छुट्याउने बानी बसाल्नुपर्छ ।”
प्रवीणकुमार मिश्र, कृष्णरञ्जन र राज पाण्डेलगायत १५ जना विद्यार्थीले महँगो होटलको व्यञ्जनमा खर्च नगरेर पुण्यकार्यबाट नयाँ वर्षको स्वागत गर्ने आकाङ्क्षा बमोजिम काम गरेको बताए । सो अवसरमा पाँच सय गिलास शर्बत र फलफूलको एक सयवटा डब्बा वितरण गरिएको थियो ।