मस्को, २ वैशाख/एएनआई
रूसले बिहीवार स्वीडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ । साथै रूसले आफ्नो पश्चिमी भागमा ‘दोब्बरभन्दा बढी’ सेना थप्ने पनि बताएको छ ।
रूसको सुरक्षा परिषद्का उप–अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिंदै बिहीवार टेलिग्राममा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सिएनएन न्यूजले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुर्ई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महीनाहरूमा आक्रामक भएका छन् । यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन् ।
यसबाहेक सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्यान्ड र बाल्टिक राज्यहरूबीचको रूसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महŒवपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ ।
बिहीवार युक्रेनमा रूसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिमा उल्लेखनीय परिवर्तन भएको छ । युक्रेनी अधिकारीहरूले पूर्वी डोन्बास क्षेत्रमा रूसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेको केही दिनदेखि चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने ः ह्वाइट हाउस
अमेरिका/एएनआई/स्पुतनिक
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् ।
बुधवार अमेरिकी सञ्चारमाध्यमले जनाए अनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ । उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ । “होइन, हामी राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं”– साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् ।
थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रूसी सैन्य कारबाई विरुद्ध युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् । रासस