प्रस, वीरगंज, २६ चैत/

जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले आफू नगरप्रमुखमा निर्वाचित भए सबैभन्दा पहिला वर्तमान नगरप्रमुख विजयकुमार सरावगीले गरेका भ्रष्टाचारको भण्डाफोड गर्ने बताएका छन् । उनले सरावगीको अनियमितताको फाइल खोलेर दोषी देखिए कारबाहीको प्रक्रिया पनि अगाडि बढाउने चेतावनी दिएका छन् ।

वीरगंज महानगरपालिका वडा नं १० ज्योतिनगरमा जसपा वडा एकाइ कमिटीले आयोजना गरेको कार्यक्रममा नेता सिंहले नगरप्रमुख सरावगीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा विजयी भए सबैभन्दा पहिलो काम नै भ्रष्टाचारको भण्डाफोड गर्ने बताउँदै सिंहले भ्रष्टाचारमुक्त महानगर निर्माण गर्ने दाबी गरे ।

जसपाबाट वीरगंज महानगरपालिकाको प्रमुखका आकाङ्क्षीसमेत रहेका सिंहले भने, “केही दिनअघि नगरप्रमुख सरावगीले महानगरवासीले नालामा फोहोर फाल्दा नाला जाम भएर लामखुट्टे बढेको भन्नुभएको रहेछ, यसले उहाँको अक्षमतालाई स्पष्ट पारेको छ, आफूले केही गर्न नसक्ने अनि दोष नगरवासीलाई लगाउने ।” यदि आफू नगरप्रमुखमा निर्वाचित भएमा आफूले गरेका सबै प्रतिबद्धता पूरा नगरे पाँच वर्षपछि अनुहारसमेत देखाउन नआउने प्रतिबद्धता पनि नेता सिंहले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here