प्रस, रौतहट, २५ चैत/
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा भन्ने नाराका साथ छैटौं स्वास्थ्य बीमा दिवस–२०७८ शुक्रवार मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, रौतहटका सभापति रामएकबालराय यादवले प्रचारप्रसारको कमीको कारण स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए । उनले बीमाकर्ताको कमीकमजोरी रहेको बताउँदै स्वास्थ्य बीमाबारे व्यापक प्रचारप्रसार गर्न सुझाव दिए । स्वास्थ्य बीमाबारे आफूलाई समेत थाहा नभएकोले आम जनताले कसरी थाहा पाउँछ भन्दै उनले प्रश्न गरे । साढे तीन हजार रुपैयाँमा परिवारका पाँचजना सदस्यले एक लाख रुपैयाँसम्मको उपचार पाउने व्यवस्था भएपनि बीमा गराउनेको सङ्ख्या न्यून हुनु बीमाकर्ता र बीमा बोर्डको कमीकमजोरी रहेको उनले बताए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुरेशराय यादव, जिल्ला अस्पतालका प्रमुख डा कृष्ण साह, नेपाल पत्रकार महासङ्घ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, कामेश्वरी सहनी, डा प्रमोद ठाकुरलगायतले स्वास्थ्य बीमाबारे जानकारी गराएका थिए ।