राधेश्याम पटेल, वीरगंज, २० चैत

विशेष आर्थिक क्षेत्र(सेज) सिमरा निर्माण भई हस्तनान्तरण भएको तीन वर्षपछि उद्योगीहरू बल्ल पाइला टेक्न थालेका छन् । गत फागुन १५ देखि ३० गते सम्म सेज प्राधिकरणले उद्योग लगाउन गरेको सूचना अह्वानमा ९ जना उद्योगीले २७ वटा प्लट बूक गर्न आवेदन दिएका छन् ।

सेज सञ्चालनको विधान संशोधन गरी सूचना भएपछि पछिल्लोपटक भैरहवा सेजसँगै सिमरा सेजमा उद्योगी व्यवसायीको आकर्षण बढन थालेको हो । भैरहवा सेजमा कुल ४५ प्लटमा ५५ वटा उद्योगीको आवेदन परेको छ भने सिमरामा २७ वटा प्लट बूकिड्ढो लागि आवेदन परेको सिमरा सेजका सब इन्जिनीयर आनन्द भट्टले बताए ।

उनका अनुसार कुल ३४३ बिघा क्षेत्रफल भित्रको ए ब्लकको ६८ वटा प्लट बूकिड्ढा लागि सूचना आह्वान गरिएकोमा २७ वटा प्लटको लागि आवेदन परेको हो । “धेरै उद्योगीले सेजको नीति नियम नबुझेर आवेदन गर्न भ्याउनु भएको छैन”–उनले भने–“अहिले दैनिक २,३ जना उद्योगी सोधपुछ गर्न आइराख्नु भएको छ, अहिले आएका उद्योगी व्यवसायीहरूको गणना गर्ने हो भने अबको सूचनामा प्लट पाउन नै मुश्किल हुने जस्तो छ ।”

सेज प्राधिरकणले एक दुर्ई दिनमैं दोस्रोपटक सूचना आह्वान गर्ने तयारी गरेको बताउँदै उनले सिमरा सेजले पनि अब गति लिएको प्रस्ट पारे । २०६२–०६३ देखि शुरू भएको सेज परियोजना करीब १४ वर्ष अर्थात् गत २०७६ सालमा निर्माण भई उद्योग लगाउन पहिलोपल्ट सूचना आह्वान गरिएको थियो । त्यति बेला प्रतिवर्गमिटर जग्गाको मासिक भाडा रु २० निर्धारण गरिएको थियो भने उद्योग स्थापनाको पहिलो वर्ष नै ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने व्यवस्था थियो, जुन उद्योग व्यवसायीको लागि बाधक थियो ।

अहिले विधान संशोधनपछि प्रतिवर्गमिटर जग्गाको भाडा रु १० तोकिएको छ भने शुरूको दुई वर्षसम्म उद्योगले उत्पादन निर्यात नगरे पनि हुन्छ, तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत, पाँचौं वर्ष ६० प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्नेछ ।

सेजमा उद्योग लगाउँदा सुरक्षित इन्डस्ट्रियल कल्चरका सुविधा अर्थात बन्द हडतालको समस्या हुँदैन, एकै थलोमा भन्सार सुविधा, बैंक, इन्स्योरेन्स, क्वारेन्टिन, बिजुली, नालालगायतको सुविधा पाइने भएकोले पछिल्लोपटक सेजमा उद्योगी व्यवसायीको लर्काे लाग्न शुरू भएको हो । सिमरा सेजमा बूक भएको २७ वटा प्लटमा स्वदेशी र भारतीय उद्योगीले उद्योग लगाउन इच्छा प्रकट गरेका छन् ।

बूकिड्ढा लागि आवेदन परेको २७ प्लटमा गार्मेन्ट, हार्डवेयर, अर्गानिक मल, किचेन वेयर, स्कूटरको एसेम्बल प्लान्ट तथा हिटर उत्पादन गर्ने उद्योगको आवदेन परेको सब–इन्जिनीयर भट्टले जानकारी गराए । सिमरा सेजको ६८ वटा ब्लक बूक भयो भने करीब ५ अर्बको लगानी आउने र करीब ८ सयजनाको लागि रोजगार सृजना हुने अनुमान छ ।

सिमरा सेजमा स्थापना हुने उद्योगले सम्झौता गरेपछि ६ महीनाको अग्रिम भाडा एकमुस्ट दिनुपर्छ भने एक वर्षभित्र उद्योग लगाइसक्नुपर्छ । उद्योगले पाँच वर्षसम्म आयकर छुट पाउने छन् भने २५ वर्षसम्म ५० प्रतिशत आयकर तिर्नुपर्छ । पाँच वर्षसम्म मासिक रु १० प्रतिवर्गमिटर भाडा दिने उद्योगले ५ वर्षपछि मासिक रु २० प्रतिवर्गमिटर भाडा दिनुपर्ने व्यवस्था छ । सिमरा सेजको ए ब्लकमा रहेको ६८ वटा प्लट ६८ सयदेखि १२ हजार वर्गमिटर क्षेत्रफलको छुटाछुटै प्लट छ । सबै प्लटमा मुख्य बाटोसँग जोडिएको सहायक सडक तथा बिजुली र नाला पुगेको छ ।

सिमरा विमानस्थलभन्दा पूर्व अवस्थित ८३३ बिघा क्षेत्रफलमा ३४३ बिघाको ए, १२१ बिघाको बी, ४९ बिघाको सी, १७८ बिघाको डी, १३३ बिघाको ई गरी कुल पाँच ब्लक छन् । हाल ए ब्लक उद्योग लगाउनको लागि प्रशासनिक भवन, सडक, नाला, भन्सार कक्ष, क्वारेन्टिन, बैंक भवन, सुरक्षा गार्ड भवन निर्माण गरिएको छ भने बिजुली दुर्ई साताभित्र आपूर्ति गर्ने लक्ष्य छ । सिमरा सेजमा हालसम्म करीब ५ अर्ब खर्च भइसकेको छ । ए ब्लक बूक भइसकेपछि अर्काे ब्लकमा भौतिक संरचना निर्माण गरिने छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पछिल्लो सूचना प्रकाशन गरेपछि सिमरा सेजको बाँकी ४१ वटा प्लटको लागि दोस्रो चरणको सूचना निकाल्ने तयारी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here