प्रस, वीरगंज, २० चैत/

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले चैत २० गतेदेखि गर्ने भनिएको देशव्यापी ग्याँस तथा पेट्रोलियम पदार्थको बिक्री बन्द आन्दोलन एक साताको लागि स्थगित गरेको छ ।

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी सङ्घ, पर्साका अध्यक्ष विनोद चौरसियाले गृहमन्त्री बालकृष्ण खाँणले एक साता अवधि माग गरेकाले तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताए । समितिले विभिन्न समयमा नेपाल आयल निगम र सरकारलाई छ सूत्रीय माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेकोमा बेवास्ता गरिएको भन्दै चैत ५ गतेदेखि साङ्केतिक आन्दोलन शुरू गरेको थियो र आज आइतवारदेखि देशभर ग्याँस तथा पेट्रोलियम पदार्थको बिक्री ठप्प पार्ने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरूप मानिसहरूले ग्याँस र पेट्रोलियम पदार्थको सञ्चय गर्न शुरू गरेका थिए । आजदेखि ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्न भनिएको कारण शनिवार राति अबेरसम्म पेट्रोलियम पदार्थ बिक्री भएको थियो । राति अबेरसम्म पेट्रोलियम पदार्थ बिक्री गर्ने डिपोमा भने आज पेट्रोल र डिजेलको बिक्री हुन सकेन । सञ्चय गरेका डिपोहरूले भने आज पेट्रोलियम पदार्थ बिक्री गरेका छन् ।

सङ्घका जिल्ला अध्यक्ष चौरसियाले आजदेखि ढुवानी पूर्ववत्रूपमा शुरू भएको र भोलिदेखि पेट्रोलियम पदार्थ र ग्याँसको बिक्री सहजरूपमा हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here