कोलम्बो, २० चैत/सिन्हवा
श्रीलङ्कामा सरकारले लागू गरेको कफ्र्यू उल्लङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ ।
स्थानीय समय अनुसार शनिवार राति १० बजेदेखि आइतवार बिहान ६ बजेको बीच देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।
सरकारले शनिवार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यू आदेश जारी गरेको छ । कफ्र्यू लागू भएका बेला अनुमतिविना हिंड्डुल गर्न नपाइने भएपनि हिंड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको वरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिए ।
आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकाल घोषणा गरेको छ ।
आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरू र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । त्यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए ।
चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधि बढ्न थालेकोले सङ्कटकाल घोषणा गर्नुपरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवा मरम्मतका लागि भन्दै आपत्कालीन अवस्था घोषणा गरिएको सरकारले जनाएको छ ।
सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि आदेश जारी भएको छ । राजधानी कोलम्बोलगायत मुख्य शहरमा सुरक्षाकर्मीले रातको समयमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत् आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरू आन्दोलित भएका हुन् ।
सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन् । अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो । रासस