- शीतल गिरी
२०७३ फागुन ६ गतेको बिहान ७.३० बजे साङा भञ्ज्याङमा आइपुग्न स्रष्टा पदयात्री मित्रहरूमा जानकारी गराएको हुँदा समय अगावै डिल्लीराज अर्याल, जय छाङछा, डा. भक्त राई र म पुगिसकेका थियौं ।
बसबाट ओर्लंदै गरेका नारायण तिवारी र शशि थापा पण्डितलाई देख्यौं ।
हजुर जसध्वज गुरुङ, श्रीओम श्रेष्ठ रोदन र डा.धनप्रसाद सुवेदी पनि देखिनु भयो । हामी लेखक हौं, लेखनमा रमाएका श्यामबहादुर भावुक, कल्पना आङबुहाङ, छिमित्मा साङमेन र प्रेम स्याङतान पनि आएपछि यात्रा प्रारम्भ ग¥यौं ।
प्रेम स्याङतान यस यात्राको पथप्रदर्शक थिए । हाम्रो प्रत्येक यात्रामा एकजना जानकार व्यक्ति हुन्छ, पथप्रदर्शक । बाटोमा भेटिएका गाउँँ, रमणीय स्थानबारे जानकारी गराउने जिम्मेवारी पथप्रदर्शकको रहन्छ । उकालो उक्लिएर पश्चिमतर्फ लाग्यौं, देखिएको भेटिएको तामाङबस्ती काभ्रे जिल्लामा थियो । हामी काभ्रेमा हिंड्दै थियौं । ठाउँ ठाउँमा २०७२ को भुइँचालोले पारेको बीभत्स स्वरूप पनि देखियो, भूकम्प प्रतिरोधक घरका नमूना पनि पाइयो, सबभन्दा खुशीको कुरा त विद्यालय जाँदै गरेका छात्र–छात्राहरू प्रशस्त भेटिनु नै रह्यो ।
भञ्ज्याड्ढो डाँडामा चाक्लो मोटरबाटो भेटिएपछि यात्रा सहज बन्यो । आशापुरी नजीक छोटो बाटो हिंड्दा ओरालो ओर्लिंदाको क्षण भने बडो रोमाञ्चक थियो । आशापुरी— दुर्ई नदीको बीच बडो आकर्षक यस ठाउँमा भक्तजनको घुइँचो— घुइँचो हुनु स्वाभाविकै हो । पवित्र मनले आशा गरेको कुरा आशापुरेश्वर महादेवले पु¥याउँछन् मात्र होइन, पु¥याएका पनि छन् भन्ने भक्त पनि भेटिए ।
त्यहाँबाट हामी कालोपत्रे सडक समातेर पश्चिमतर्फ लाग्यौं । सडकको देब्रेपट्टीको पाटो पहेंलपुर तोरीले रमणीय बनाएकोथ्यो, हाम्रो ध्यान तान्यो ।
यो त संसारकै चलन हो, जुन कुरो राम्रो छ, सम्मुखमा छ, अवश्य हेरिन्छ । यसलाई सौन्दर्य प्रेम या राम्रोप्रति चाहना पनि भन्न सकिन्छ । पहेंलपुर तोरी हेर्दै अगाडि बढेर पानीको सुविधा र चउर जस्तो ठाउँ भेटिएपछि झुरूप्प बस्यौं । बस्नु के थियो, भोक लागेको हुँदा भोजनमा जुट्यौं । त्यहाँबाट हामी बिस्तारै कालोपत्र सडकैसडक उकालो उक्ंिलदै गुमाने भञ्ज्याङ पुग्यौं । हिजोको यो चल्ती बाटो भए पनि आज चुपचाप मौन व्रत बसेको जस्तो लाग्दछ ।
गुमाने भञ्ज्याङमा चौबाटो भेटियो— त्यहाँबाट हामी आएको बाटैबाटो पूर्वतर्फ गए आशापुरेश्वर महादेव थान पुगिन्छ । हामी आफे आवश्यकता अनुसार पश्चिमतर्फको बाटो समातेर घ्याम्पेडाँडा, पाइलट बाबाको आश्रम हुँदै सूर्यविनायक गएका थियौं । हो त्यही घ्याम्पेडाँडामा गोदावरीबाट डाँडैडाँडा हिंडेर आएका तीनजना भेटेका थियौं । कुरा के भने दक्षिणतर्फको बाटो समातेर गए लाँकुरी भञ्ज्याङ हुदै गोदावरी जान सकिने रहेछ । उत्तरतर्फ गए विभिन्न गाउँँ घर हुँदै साँगाको मूल सडक पुग्न सकिने रहेछ । पत्रिकामा यदाकदा यताको पनि कुरो छापिंदो हो, स्रष्टा पदयात्रीको लागि त्यो महŒवपूर्ण कुरो होइन र थिएन । के केही शब्दमा, केही कोलममा, पृष्ठमा यहाँको सौन्दर्य अटाउन सक्छ ? मूल कुरो यो हो । पदयात्रा गर्दा कतिपय ठाउँमा मन हाँस्छ, कतिपय ठाउँमा कटक्क दुख्छ, सौन्दर्य र बीभत्सता देख्दछ, वैभव र दयनीय अवस्था पाउँदा पक्कै निरपेक्ष बन्न सकिन्न । पदयात्री, त्यसमा पनि स्रष्टा,ले अनुभूत नगर्ने त कुरै भएन । पदयात्रामा वर्तमान मात्र होइन विगत पनि थाहा पाइन्छ । पढेर थाहा पाउनु भन्दा प्रत्यक्ष भएर थाहा पाउनु स्रष्टाको सफलता हो । यथार्थ कुरा थाहा पाउन नै भ्रमण गरिन्छ । राजनीति तात्कालिक सम्भावनाहरूको खेल हो र चतुर खेलाडीले बाजी जित्ने गर्छ । राजनीतिको प्रमुख कुरो सिद्धान्त होइन रहेछ, सफलता पो रहेछ ।
गुमाने भञ्ज्याङमा एउटा साइनबोर्डले ऐतिहासिकस्थल रानीकोट जाने बाटो देखाइरहेको थियो । भ्रमणमा निस्केकालाई के चाहियो ? यस पदयात्रामा रानीकोट जाने कुरै थिएन । रानीकोट जाने, नजाने विषयमा सामान्य छलफल भयो । स्रष्टा पदयात्रामा तात्कालिक कारण होइन, पहिले नै छलफल गरेर जाने र हेर्ने स्थान तोक्ने गरिन्छ । यसै आधारमा स्रष्टा सहभागी भएका हुन्छन् । सबै कुरो एउटै यात्राबाट थाहा पाउन खोज्ने पनि हुन्छन् । यसबाहेक निश्चय गरेकोभन्दा अन्यत्र जानु उचित होइन भन्ने आवाज पनि उठ्यो । जान चाहनेलाई रानीकोट भएर घ्याम्पेडाँडा आउन भनियो । नयाँ ठाउँ हेर्ने लालसा मनमा नभएको होइन । डिल्लीराज अर्याल, जय छाङछा, डा. भक्त राई, नारायण तिवारी, शशिथापा पण्डित, जसध्वज गुरुङ, डा. धनप्रसाद सुवेदी, श्यामबहादुर भावुक र प्रेम स्याङतान रानीकोट जान उकालो उक्लिए । रानीकोटको लिच्छवीकालीन कोटमा पुगेर स्रष्टा पदयात्रीले सफलता प्राप्त गरे । कतिपय नयाँ कुरा ज्ञान प्राप्त गरेर धन्य भए । त्यहाँ यात्रा गर्दा मित्रहरू प्रसन्न थिए । शब्दबाट खासै केही बताएनन् । त्यहाँ देखिएको सौन्दर्यमा लठ्ठिएका पो थिए कि १ उनीहरूले अनुभूत गरेको सत्य लेखनको माध्यमबाट बयान गर्न थाती राखेको पनि हुन सक्छ । सुकरातकै कुरा गरौं आज एकदम प्रख्यात भएका छन्, तर उनको घरपरिवार, रहनसहनबारे धेरैलाई थाहा छैन, थाहा भएको कुरो उनी विष पिएर मरेका थिए । कुरो के भने शब्दको कमीले भन्न खोजेको कुरा पूर्ण हुँदैन । शब्दमा सामथ्र्य छ भने त्यस्ता सत्य शब्दको रक्षा गर्न स्रष्टा मर्न तयार हुन्छ, जसरी सुकरात भएका थिए ।
लिच्छवीकालीन रानीकोटले आफ्नो सत्य राखेको छ । त्यस कोटले कति युद्ध झेलेको होला, त्यहाँको ढुङ्गा र ईंटालाई मात्र थाहा छ । अन्वेषकको कर्तव्य भनेको रानीकोटको सत्य देश–सत्ये, युग–सत्य, जन–सत्य हो, त्यो खोज्नु हो । रानीकोट अतीतको गौरव हो । रानीकोटमा सौन्दर्यप्रेमी, हाइकीङमा रमाउने, पदयात्री मात्र जाँदैनन्, अन्वेषक पनि जान्छन् । यो कुरो स्पष्ट छ पुराना किल्लाहरू दुश्मन सहजै पुग्न नसक्ने अप्ठेरो र अग्लो ठाउँमा बनाइएको हुन्छ । रानीकोट पनि शस्त्र–सैन्य दृष्टिले अद्वितीय छ । त्यसै भएको हुँदा त पुरातŒवले पनि महŒव दिएर संरक्षण गर्न थालेको छ ।
घ्याम्पे डाँडाको कुरा अर्कै छ । तुलनात्मक हिसाबले भर्खर रमाउन थालेको किशोरीझैं लाग्दछ । न आवश्यक पूर्वाधार छ, न प्राकृतिक सौन्दर्य नै । वरिपरि वनजङ्गल, सौन्दर्यले राम्ररी प्रशोधित गर्न नभ्याए पनि घ्याम्पे डाँडाको सौन्दर्यमा कमी भने नभएको थाहा हुन्छ । वनमा फुलेको गुराँसको सौन्दर्य नै यस नवीन बजारको अन्तःकरण हो । चारैतिरबाट वनले घेरिएको उपलब्धि र प्रसन्नता नै सौन्दर्यको रूपमा घ्याम्पे डाँडासँग छ, यसको अभावमा यो निर्जन हुने थियो । भरखरै विकसित हुन थालेकी किशोरी सत्य, व्यावहारिक हुनै सक्दैनन् । यो आदर्श सत्य हो । अर्काको देखासिकीबाट चाहिने नचाहिने हठ पालेको हो कि भन्ने लाग्दछ । यही हठमा त भँवराहरू मडारिन्छन्, त के गर्ने ? हो घ्याम्पेडाँडामा भञ्ज्याङभित्रका भँवरा रमाउन आउँदा रहेछन् । रमाउन आउनेलाई स्वागत गर्न तयार पनि छ घ्याम्पेडाँडा । मानौं आकर्षण एकतर्फको मात्र होइन । मलाईं लागेको मात्र होइन, देखेकै हुँ घ्याम्पेडाँडा पिकनिक स्पटको रूपमा प्रख्यात छ । किन नहोस् त सुगम र सौम्य छ, अनि रमणीय पनि । एक त सफा छ, अर्को वरिपरि खुला र अलि पर पर्याप्त हरियाली छ । रमाइलो गर्न चाहनेहरू भीडभाडभन्दा शान्त स्थान मन पराउँछन् । घ्याम्पेडाँडा यातायातले सुगम, शान्त र हरियालीयुक्त छ । यहाँसम्म पिकनिकमा आएकाहरू डुल्न–घुम्नको लागि रानीकोट, गुमाने भज्याङ, पाइलट बाबाको आश्रम, आशापुरी, डोलेश्वर अथवा वन–जङ्गलमा रमाउन सक्छन् । पिकनिक आएकाहरू नाच्न मात्र रमाउँदैनन्, स्वभाव अनुसार डुल्छन्, घुम्छन् र अवलोकन गर्छन् । हामीले हातभरि लाली गुराँसको फूल लिएर पिकनिक स्थलतर्फ जाँदै गरेका टिनएजरहरू भेटेका थियौं ।
रानीकोट पुगेर फर्केका स्रष्टा पदयात्री यही घ्याम्पेडाँडा आइपुगेका थिए । पिकनिकमा रमाउँदै गरेका हुलका हुल विद्यार्थीहरू पनि भेटिए, उनीहरूलाई पाइलट बाबाबारे के मतलब । अहिलेका पाइलट बाबा भारत–पाक युद्धका बेला भारतीय सेनाका बमवर्षक विमानका पाइलट थिए । यिनैले खसालेको बमबाट धेरै पाकिस्तानी सैनिक हताहत भएका मात्र होइन, युद्ध नै निर्णायक मोडमा पुगेको थियो । मृत्युलाई नजीकबाट देखेका यिनले युद्ध जितेर पनि हारेको ठाने, पूर्वीय दर्शनको अध्ययनले युद्ध राजनीतिको फरेबी खेल देखे । मन अशान्त भएपछि शान्तिको खोजीमा निस्के, विक्षिप्त बने । विक्ष्Fिप्त अवस्थामा एक दिन हेटौंडादेखि उत्तरतर्फ बाइरोडको बाटोमा रहेको त्रिखण्डी पुगे । त्यहाँ झरनाको नजीक बसेर कहिले हाँस्ने, कहिले रुने विचित्र किसिमको व्यवहार देखाउँदै थिए । यिनको यस अवस्थालाई त्रिखण्डीका स्वामी महाराजले बडो गम्भीरतापूर्वक विचार गरिरहेका थिए । हो, उनै त्रिखण्डीका स्वामी महाराजको ज्ञानले यिनमा परिवर्तन ल्यायो र रहँदा–बस्दा उनको शिष्य बने । पुरानो बाना, नाम परिवर्तन भयो र यिनी सोमनाथ गिरी उर्फ पाइलट बाबा बने । हो हामी कालोपत्रे सडकैसडक ओरालो ओर्लंदै सहकदेखि देब्रेतर्फ रहेको पाइलटबाबाको आश्रम गयौं ।
यो त भयो पदयात्रा र अध्ययन । हामीसँग अर्को पनि जोडिएको छ साहित्य । हो वर्तमान समयमा साहित्यको दुर्भाग्य नै छ, किनभने यो न कार्यबाट निरपेक्ष कारणतर्फ नै जान सक्दछ, न कारणलाई कार्यको मातहत राखेर आफूबाट ओझेल बनेको नै सहन सक्दछ । साहित्यको दुवै खुट्टा अलगअलग डुङ्गामा रहने गर्दछ । र ती दुर्ई डुङ्गा खियाउने परस्पर विपरीत हिड्नबाट रोक्न सक्दैन । यस कारण साहित्यकारको जीवनमा विचलन आउने डर सधैं रहन्छ । देखिएको पनि छ साहित्यकारले न आदर्श छोड्न सक्छ, न यथार्थलाई नै छाड्न सक्छ । ‘स्वास्थ्य र सिर्जनाका लागि पदयात्रा’को नारा लगाएर हामी आदर्श र यथार्थ यी दुवैलाई समन्वयमा देख्न र देखाउन चाहन्छौं । हो हामीले पाइलट बाबाको आश्रममा कवि गोष्ठी गरेका थियौं— त्यहाँ अवलोकन गर्न आएका भक्तजन र दर्शनाभिलाषीलाई श्रोता बनाएर । पदयात्री हामीमा कुनै किसिमको हठ छैन, यसकारण हाम्रो मुहारमा तेजको ठाउँमा विनय पाइन्छ । यो स्रष्टा पदयात्रीको पहिचान हो ।
भाद्र, २०७५ मध्यपुर ८ बोडे/भक्तपुर