चिरञ्जीवी सापकोटा, ठोरी, १७ चैत /

कोरोना कहरदेखि बन्द रहेको पर्साको ठोरी नाका खुलाउन नेपाली काङ्ग्रेसले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै ऐतिहासिक ठोरी नाका बन्द भएपछि दुवै देशका नागरिकले सास्ती भोगिरहेको बताए । मधेस प्रदेश सरकारले ठोरीलाई पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेपनि ठोरी नाका खोल्न सम्बन्धित निकायबाट कुनै पहल नभएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा ७० प्रतिशत पर्यटक र भारतीय नागरिक ठोरीबाट आउने गरेको उल्लेख गर्दै नाका चालू गरी ठोरी भन्सारको स्तरोन्नति गर्न र चारचक्के सवारीसाधन आवागमनको निम्ति भन्सार काट्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले ठोरी नाका सञ्चालनको लागि अविलम्ब पहल गर्ने बताए ।

कार्यक्रममा नेकाका महामन्त्री श्रेष्ठ,  महाधिवेशन प्रतिनिधि प्रकाश खनाल, क्षेत्रीय सभापति जीवनकृष्ण सापकोटा, नेका ठोरीका सभापति सन्तोष श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, सनम श्रेष्ठलगायतको उपस्थिति रहेको ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here