प्रस, वीरगंज, १६ चैत/
कानून व्यवसायी, राजनीतिज्ञ एवं समाजसेवी स्व प्रेमनाथ शर्माको व्यक्ति एक विशेषता अनेक पुस्तकबारे आज वीरगंजमा विचार विमर्श गरिएको छ ।
२०७६ सालमा प्रकाशित पुस्तकबारे आज महानगरपालिकाको सभाकक्षमा विचार विमर्श गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख शान्ति कार्कीले स्व. शर्मा आफ्नो काम, कर्तव्यले पहिचान बनाएको बताइन् । उनले कानून व्यवसायी, राजनीतिज्ञ र समाजसेवा तीनवटै क्षेत्रमा स्व शर्माले अविस्मरणीय योगदान पु¥याएको चर्चा गरिन् ।
यसैगरी, कार्यक्रममा वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घका सदस्य केसी लामिछाने, नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँ, वडाध्यक्ष धु्रव नेपाललगायतले स्व. शर्माकोबारेमा आआफ्नो विचार व्यक्त गरेका थिए । उनीहरुले स्व. शर्मालाई उनको योगदानको कारण चिरकालसम्म स्मरण भइरहने बताए ।
कार्यक्रमको अध्यक्ष पुस्तक लेखिका स्व शर्माकी जेठी बुहारी लक्ष्मी पोखरेलले आगामी दुई वर्षमा पुस्तकको दोस्रो संस्करण प्रकाशन गरिने जानकारी गराइन् । उनले स्व. शर्मालाई चिरकालसम्म स्मरणका लागि रु २ लाखको अक्षयकोष स्थापना गरेको र पुस्तक बिक्रीबाट प्राप्त रकम पनि अक्षयकोषमा राखिने जानकारी गराइन् । कार्यक्रममा स्व शर्माका कान्छा छोरा श्याम पोखरेल, लक्ष्मीनाथ नेपाल, अरविन्द सिंह, श्याम बन्जारालगायतको उपस्थिति थियो भने कार्यक्रमको सहजीकरण उदयराज शर्माले गरेका थिए ।