ओमप्रकाश चौधरी, सेढवा, १५ चैत/

ठोरी गाउँपालिकामा पनि स्थानीय चुनावको सरगर्मी बढेको छ । वर्तमान गापा अध्यक्ष पद्मलाल (पिएल) श्रेष्ठ नेकपा माओवादी केन्द्रबाट गापा अध्यक्षको लागि दाबेदार छन् । उनी यस अघि पनि माओवादी पार्टीबाट गापा अध्यक्षमा विजयी भएका हुन् ।

नेपाली काङ्ग्रेसबाट वृहस्पतिकृष्ण श्रेष्ठको नाम चर्चामा छ । नेकाबाट गत स्थानीय चुनावमा जरी लामा उम्मेदवार थिए र पराजित भएका थिए । नेकपा एमालेबाट लालबहादुर श्रेष्ठको नाम चर्चामा छ । उनी गत स्थानीय चुनावमा नेकपा एमालेबाट उम्मेदवार थिए र पिएल श्रेष्ठपछि दोस्रो भएका थिए । वर्तमान गापा उपाध्यक्ष शान्तिमाया थिङले यसपटक टिकट पाउने सम्भावना कम छ । उनी यस अघि माओवादीबाट विजयी भएकी थिइन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट उपाध्यक्षमा उम्मेदवार टुङ्गो लागेको छैन भने एमालेबाट गोकुली रेग्मीको नाम चर्चामा छ । रेग्मी गत स्थानीय चुनावमा पराजित भएकी थिइन् ।

वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्यबहादुर लामा, बईबहादुर पाख्रिन, अष्टबहादुर लोप्चनको नाम चर्चामा छ भने दुईवटा वडाध्यक्षको नाम टुङ्गो लागेको छैन ।

नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा नवराज फुयाँल, शिवकुमार बस्नेत, विमल खड्काको नाम चर्चामा छ । ५ वटा वडाध्यक्षमध्ये दुईजनाको नाम भने अहिलेसम्म चर्चामा आएको छैन । एमालेबाट मीनबहादुर गुरुङ, नरबहादुर क्षत्री, शम्भु खड्का, सागर लामा र सुन लामाको नाम चर्चामा छ । जसपालगायत दलहरू उम्मेदवार खोज्न गृहकार्य गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here