प्रस, रौतहट, १३ चैत/

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रिया आइतवार सम्पन्न भएको छ ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले चुनावमा धाँधली भए चुनाव रद्द हुने बताए । उनले भयरहित मतदानको व्यवस्था मिलाउन हरसम्भव प्रयास गरिने बताए । मतदानस्थललाई संवेदनशील र अति संवेदनशील मानी पूर्वतयारीमा रही शान्तिपूर्ण निर्वाचन गराउन सबैलाई सहयोग र पहल गर्न आग्रह गरे ।

निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा भएको कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले आचारसंहितामा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल कानून समाजका माधव पौडेलले आचारसंहिता उल्लङ्घन गरेको खण्डमा दण्ड, सजाय तथा उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने रकमका बारेका कार्यपत्र प्रस्तुत गरेका थिए ।

अधिवक्ता सरस्वती श्रेष्ठले नेपाल कानून समाजको उद्देश्यबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा रेवन्त झा, बिन्दा सहनी, ज्येष्ठ नागरिक विजयकिशोर झा, पत्रकार प्रभात झा, प्रवीण टिग्वाल, अभिमन्यु पटेल, यमुनामाई गाउँपालिकाका अध्यक्ष प्रकाश मुखिया, गौर नगरपालिकाकी उपप्रमुख किरण ठाकुरलगायतले आचारसंहिता, अनुगमनबारेमा टीका–टिप्पणी गरेका थिए ।

निर्वाचन कार्यालय रौतहटका अधिकृत छोटलाल दासले सहभागीहरूले उठाएका प्रश्नको जवाफमा २०७४ सालको स्थानीय चुनावमा स्थापित मतदान केन्द्रलाई नै २०७८ को चुनावमा लागू गरिएको बताए ।

जिल्ला समन्वय समिति, रौतहटका सभापति रामएकबालराय यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here