यमन, १३ चैत/एएनआई
यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्ध आफ्नो कारबाई समाप्त गर्छ भने स्थायी युद्धविरामको सम्भावना प्रस्ताव गरेकोसमेत अल जजीराले उल्लेख गरेको छ ।
साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रवार जेद्दाह तेल डिपोमा आगलागी भएको बेला यो प्रमुख घटनाक्रम आएको हो ।
हुथी राजनीतिक नेता महदी अल–मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाई तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।
“यो एक निष्कपट निमन्त्रण र विश्वास पुनस्र्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजान चालिएको व्यावहारिक कदम हो”–अल–मशातले भनेका छन् ।
“र हामी यो घोषणालाई अन्तिम र स्थायी प्रतिबद्धतामा परिणत गर्न तयार छौं यदि साउदी अरेबियाले यमनमा घेराबन्दी अन्त्य गर्ने र यमनमा आफ्ना आक्रमण सदाका लागि रोक्ने प्रतिबद्धता गर्दछ”– उनले थपे ।
हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा
खार्तुम/एएनआई/सिन्ह्वा
सुडानले शनिवार साउदी अरेबियाका नागरिक सुविधाहरूमा यमनी हुथी विद्रोहीले गरेको आक्रमणको निन्दा गरेको छ ।
“सुडानले साउदी अरेबियाको दक्षिणी क्षेत्रमा विस्फोटक पदार्थले भरिएको ड्रोनको निरन्तर प्रक्षेपणको लागि हुथी मिलिशियाको कडा शब्दमा निन्दा गर्दछ,” सुडानको विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
“हुथी आक्रमणले नागरिक र नागरिक सुविधाहरू खतरामा परेका छन् र यो क्षेत्रमा त्रासमा गम्भीर वृद्धि भएको छ,” मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयले आफ्नो सुरक्षा र स्थिरतालाई लक्षित गर्ने कुनै पनि खतराको विरुद्धमा साउदी अरेबियाको लागि सुडानको दृढ समर्थनलाई पुनः पुष्टि गरेको छ ।
यमनको हुथी मिलिशियाले शुक्रवार साउदी अरेबियाको जेद्दा र राजधानी रियादमा रहेको तेल प्रशोधन केन्द्रहरूमा सीमापार ड्रोन र मिसाइल आक्रमणको जिम्मेवारीसमेत लिएको छ । रासस