चिरञ्जीवी सापकोटा, ठोरी, ११ चैत/
मदेस प्रदेश सरकारका खानेपानी तथा सिंचाइ मन्त्री ओमप्रकाश शर्माले ठोरी–१ भगवान नगरको टाँडीमा ओभरहेड टङ्कीको शिलान्यास गरेका छन् । उजेलीदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा आयोजित शिलान्यास कार्यक्रममा मन्त्री शर्माले ओभरहेड टङ्कीको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा मन्त्री शर्माले ठोरीवासीलाई स्वच्छ खानेपानी पिउने अवसर दिन पाउँदा गर्व लागेको बताए । उनले यही आर्थिक वर्षभित्र बोरिड्ढो काम र कम्पाउन्ड लगाउनको निम्ति आफूले एक करोड बजेट पठाइसकेको हुँदा आगामी छ महीनाभित्र ठोरीवासीले स्वच्छ खानेपानी पिउन पाउने गरी काम गर्न आफू मातहतका प्राविधिक टोलीलाई निर्देशनसमेत दिएका थिए ।
शिलान्यास गर्नुपूर्व मन्त्री शर्मा ठोरीको पुरानो बस्ती शिकारीबास पुगी त्यहाँका नागरिकहरूको जनजीवनबारे बुझेका थिए । पुरानो बस्ती भए तापनि आजसम्म राज्यको हरेक सेवासुविधाबाट वन्चित नागरिकको घरदैलोमा पुग्ने पहिलो मन्त्री शर्मा भएको हुँदा शिकारीबासका नागरिकले भव्य स्वागत गरेका थिए ।
मन्त्री शर्माले शिकारीबासमा अँध्यारो अन्त्य गर्दै उज्यालो बनाउन आफू लागिपरेको बताउँदै ऊर्जा मन्त्रालयको माध्यनबाट सोलार सिस्टम जडान प्रक्रिया अघि बढाइने उद्घोष गरे ।
कार्यक्रममा मधेस प्रदेशका सांसद शङ्कर चौधरी, नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ, नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नवराज फुयाँलले गरेका थिए ।