प्रस, निजगढ, १० चैत/

निजगढका सरोकारवाला जग्गाधनीहरूलाई कुनै जानकारी नै नदिई विद्युतीय रेलमार्गको सर्भे गरेपछि सरोकारवाला निकायसँग स्थानीयले विवाद गरेको एक वर्षपछि अहिले फेरि स्थानीयलाई थाहै नदिई बस्तीमा सर्भे गरेपछि सरोकारवाला स्थानीयहरू त्रसित भएका छन् ।

निजगढ–९ बकैयाटोल र वडा नं ८ गैरीगाउँका स्थानीयहरूले हिजो बुधवार निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाललाई कार्यकक्षमैं भेटी रेलमार्ग निर्माण गर्ने नाममा कसैको घरवास नउठाउन आग्रह गरेका छन् । रेलमार्गलाई बकैया खोलापारि पश्चिम हँुदै लैजान सकिने भएपनि बस्तीतर्फ ल्याउन नहुने भन्दै स्थानीयहरूले सर्भे कार्यको विरोध गर्दै आइरहेका छन् । जबरजस्ती काम अघि बढाए प्रतिकार गर्ने र सोको जिम्मेवारी निजगढ नगरपालिका, जनप्रतिनिधिहरूले लिनुपर्ने आक्रोशित स्थानीयहरूले चेतावनीसमेत दिएका छन् ।

एक वर्षअघि निजगढ–९ भमरा खोलाबाट सीधैं बुद्धचोक, असी बिघा हुँदै पुरानो निजगढ सर्भे गरी पक्की पिलर खेतबारी, घरआँगनमा गाड्दै हिंडेपछि स्थानीयहरूले सर्भे टोलीलाई उखाल्न लगाएका थिए । पिलर गाडिएका सम्बन्धित जग्गाधनी, वडा कार्यालय, नगरपालिकालाई लिखित जानकारीसमेत नदिई सर्भे गरेपछि सर्भे टोलीलाई आक्रोशित भीडले हातपातसमेत गरेको थियो । स्थानीयहरूको विरोधपछि सर्भे तुरून्तै रोकिएको थियो । त्यसपछि रेलमार्ग पीडित सरोकार समिति गठन गरी पीडित स्थानीयहरूको आवाजलाई मध्यनजर गर्दै स्थानीय तह निजगढ नगरपालिका र जिल्ला प्रशासन कार्यालय, बारालाई लिखित ज्ञापनपत्र बुझाउँदै सोको बोद्धार्थ रेल विभाग, प्रधानमन्त्रीको कार्यालयलगायत अन्य सम्बन्धित निकायहरूमा जानकारी गराइएको थियो ।

त्यसबीच निजगढ नपामा पटकपटक रेल विभागका महानिर्देशक, प्राविधिक, कन्सल्ट्यान्ट र सरोकारवाला जग्गाधनीहरूबीच छलफल भएपनि पछिल्लोपटक रेल विभाग र कन्सल्ट्यान्टका प्रतिनिधिहरूले निजगढका प्रमुखलगायत जनप्रतिनिधिहरूलाई भेटी छलफल गरी सर्भे कार्य अघि बढाएको पाइएको छ । बस्ती बीचबाट रेलमार्ग लैजान नहुने भन्दै बकैया खोलापारि पश्चिम किनारा ड्याम हुँदै लैजान स्थानीयहरूले आग्रह गर्दै आएका छन् । यता रेल विभागले भने सकेसम्म बस्ती बीचबाट लैजाने, नभए विकल्पको रूपमा बकैया खोला पूर्वतर्फको ड्याम हुँदै बकैया पुलमाथि उचाल्दै पुरानो निजगढतर्फ लैजाने सकिने जनाउँदै सर्भे कार्य अघि बढाएको छ ।

राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डको डिपिआर तयारीका लागि स्थलगतरूपमा सर्भे गर्न निजगढ आएको टोलीलाई निजगढ बजार टोलका स्थानीयले बस्ती बीचबाट सर्भे नगर्न भन्दै गत पुस २७ गते रोकेका थिए ।

त्यस बेलाका सर्भे टोलीका इन्चार्ज एवं सबइन्जिनीयर सुरज पौडेलका अनुसार गाडिएका पिलरदेखि २५० मिटर पश्चिम दिशातर्फ र ५० मिटर पूर्व दिशातर्फ रेलमार्ग जाने बताएपछि  स्थानीयवासी झनै आक्रोशित भएका थिए । सर्भे टोलीका अनुसार निजगढको भमरा नदी, कठ्ठा, तेस्रोलाइन, जमुना पैनी, निजगढ बजार, राजमार्ग, गुम्माटोल, सडकटोल, जमुना पैनी, पुरानो निजगढको बस्ती हुँदै बकैया खोला पार गर्दै लालबस्तीतर्फ रेलमार्ग जानेछ । सो रेलमार्ग चीसापानी, घैयाखोरिया बुङजोर, बारथली, रामथली, कुलिया, भक्तलाल, डमरपुर हुँदै अमलेखगंज निस्कने र हेटौंडाबाट पश्चिमी रूट समाउने जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here