प्रस, वीरगंज, ९ चैत/
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतीजा अनुसार पर्सामा कुल जनसङ्ख्या छ लाख ४७ हजार ३१९ रहेको जिल्ला जनगणना कार्यालय, वीरगंजले जनाएको छ ।
यसैगरी, यो जिल्लामा महिलाको तुलनामा पुरुष बढी छन् । जनगणना कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पर्सामा पुरुषको सङ्ख्या तीन लाख ३३ हजार २७४ छ भने महिला तीन लाख १४ हजार ३१९ जना छन् ।
अघिल्लो जनगणना–२०६८ को तुलनामा २०७८ को गणनामा पर्साको जनसङ्ख्यामा ७.७ प्रतिशतले वृद्धि भएको छ । दश वर्षमा ४६ हजार ३०२ जना थपिएको कार्यालय प्रमुख केशव ज्ञवालीले बताए । उनले २०६८ को गणनामा पर्साको जनसङ्ख्या छ लाख एक हजार १७ जना रहेको बताए ।
पर्साका १४ वटा स्थानीय तहमध्ये सबैभन्दा कम जनसङ्ख्या ठोरी गाउँपालिकामा १७ हजार ४९४ छ भने सबैभन्दा बढी जनसङ्ख्या वीरगंज महानगरपालिकामा दुई लाख ६८ हजार २७३ छ ।
प्रारम्भिक नतीजा अनुसार पर्साका स्थानीय तहमध्ये वीरगंज महानगरमा ३६ हजार ६९७ घरधुरीमा ४७ हजार २१८ परिवार सङ्ख्या रहेको र यहाँ पुरुष एक लाख ३९ हजार ८४९ तथा महिला एक लाख २८ हजार ४२४ गरी दुई लाख ६८ हजार २७३ जना छन् । महानगरमा भने महिलाको तुलना पुरुषको जनसङ्ख्या बढी छ ।
बहुदरमाई नगरपालिकामा पाँच हजार ७२१ घरधुरीमा सात हजार ५८ परिवार सङ्ख्या रहेकामा पुरुष २२ हजार एक तथा महिला २० हजार ९७९ गरी ४३ हजार ७० जनसङ्ख्या छ ।
पोखरिया नगरपालिकामा पाँच हजार ५०४ घरधुरीमा छ हजार ६१४ परिवार सङ्ख्यामा २० हजार २८५ पुरुष र १८ हजार ७०० महिला गरी ३८ हजार ९८५ जनसङ्ख्या छ ।
पर्सागढी नगपालिकामा छ हजार ६५३ घरधुरीमा आठ हजार २०० परिवार सङ्ख्यामा २१ हजार २३ पुरुष तथा २० हजार ४५४ महिला गरी ४१ हजार ४७७ जनसङ्ख्या छ ।
पटेर्वासुगौली गापामा तीन हजार ५१ घरधुरीमा चार हजार ८५० परिवार सङ्ख्यामा १२ हजार ८३३ पुरुष र १२ हजार ६४२ महिला गरी २५ हजार ५० जनसङ्ख्या छ ।
सखुवाप्रसौनी गापामा पाँच हजार २४४ घरधुरीमा ६ हजार ३८२ परिवार सङ्ख्यामा १७ हजार ८९० पुरुष र १७ हजार ८२२ महिला गरी ३५ हजार ७१२ जनसङ्ख्या छ ।
ठोरी गापामा चार हजार ३३३ घरधुरीमा चार हजार ५४६ परिवार सङ्ख्या रहेकामा ८ हजार ३४६ पुरुष र ९ हजार १४८ महिला गरी १७ हजार ४९४ जनसङ्ख्या छ ।
पकहामैनपुर गापामा तीन हजार ४०६ घरधुरीमा तीन हजार २५ परिवार सङ्ख्या छ, जसमा १२ हजार ७३ पुरुष र १० हजार ८८४ महिला गरी २२ हजार ९५७ जनसङ्ख्या छ ।
कालिकामाई गापामा तीन हजार ९९ घरधुरीमा तीन हजार ७८ परिवार सङ्ख्या छ, जसमा १२ हजार २३२ पुरुष र ११ हजार ५०८ महिला गरी २३ हजार ७४० जनसङ्ख्या छ ।
जीराभवानी गापामा चार हजार २८० घरधुरीमा पाँच हजार २८७ परिवार सङ्ख्या रहेकामा ११ हजार २०० पुरुष र ११ हजार ४०२ महिला गरी २२ हजार ६०२ जनसङ्ख्या छ ।
विन्ध्यवासिनी गापामा तीन हजार २१० घरधुरीमा तीन हजार ८३२ परिवार सङ्ख्या रहेकामा १२ हजार ६३७ पुरुष र ११ हजार ८२९ महिला गरी २४ हजार ४६६ जनसङ्ख्या छ ।
छिपहरमाई गापामा तीन हजार ६९८ घरधुरीमा चार हजार ३१६ परिवार सङ्ख्या रहेकामा १३ हजार ७३२ पुरुष र १३ हजार १० महिला गरी २६ हजार ७४२ जनसङ्ख्या छ ।
त्यसैगरी, धोबिनी गापामा तीन हजार ६३ घरधुरीमा तीन हजार ५८५ परिवार सङ्ख्या रहेकामा ११ हजार ८०३ पुरुष र ११ हजार ४३ महिला गरी २२ हजार ८४६ जनसङ्ख्या छ ।
जगरनाथपुर गापामा चार हजार ९६० घरधुरीमा ५ हजार ८४६ परिवार सङ्ख्या छ । त्यहाँ १६ हजार ५३७ पुरुष र १६ हजार २०० महिला गरी ३२ हजार ७३७ जनसङ्ख्या रहेको कार्यालय प्रमुख ज्ञवालीले बताए ।
जनगणना २०७८ को पूर्णपाठ आउन एक वर्ष लाग्ने कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिए ।