प्रमोद यादव, पंचगावाँ, ९ चैत/
पर्साको पटेर्वासुगौली गाउँपालिका–४, सुगौली दापस्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत १५ जना छात्रा बुधवार बिहान एक्कासि बेहोश भए ।
कक्षा ७–१० मा अध्ययनरत छात्राहरू एकपछि अर्काे गरी बेहोश भएका थिए । छात्राहरू एक्कासि बेहोश भएपछि विद्यालय बन्द गरिएको र छात्राहरूलाई स्थानीय स्वास्थ्य चौकी पठाइएको प्रधानाध्यापक रामाशङ्कर राउत थारूले बताए । उनले गर्मीको कारण छात्राहरू बेहोश भएको बताए । कक्षा ८ र १० मा टिनको छानो छ भने कक्षा ७ र ९ मा आरसिसी ढलान छ । तर चारवटै कक्षामा पङ्खा भने छैन ।
अहिले गर्मी बढेको र पङ्खा पनि नभएको तथा कक्षा कोठामा क्षमताभन्दा बढी विद्यार्थीहरू भएकाले यो घटना भएको बताइएको छ । स्वास्थ्यकर्मीहरूले पनि गर्मीको कारण पर्याप्त अक्सिजन नपाएर बालिकाहरू बेहोश भएको बताए ।
गापाका स्वास्थ्य शाखा प्रमुख शम्भु साहले पनि गर्मीको कारण बालिकाहरू बेहोश भएको बताए । उनले पाँचजना छात्राको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको तथा दशजनालाई वीरगंज पठाइएको बताए ।
उनले गर्मी बढेको, पालिकाका सामुदायिक विद्यालयहरूमा पङ्खा अभाव भएको तथा कक्षा कोठामा औसतभन्दा बढी विद्यार्थी अध्ययनरत रहेकाले चैत १० गते बिहीवारदेखि बिहानी कक्षा सञ्चालनका लागि निर्देशन दिएको बताए ।